गगन थापाको प्रस्ताव–‘सांसदहरुले १ महिनाको तलब कोरोना कोषमा जम्मा गरौं’

चैत्र १०, काठमाडौं । कांग्रेस नेता गगन थापाले सरकारले घोषणा गरेको कोरोना कोषमा प्रत्येक सांसदले १ महिनाको तलब जम्मा गर्न आब्हान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका सांसद भएपनि सरकारले गरेको घोषणालाई स्वागत गर्दै सांसद थापाले एक महिनाको तलब जम्मा गर्न भनेका हुन् । आज सामाजिक सञ्जालमा लेख्दै सांसद थापाले लेखेका छन् ।
‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं । जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ ।’ गगन थापाले भनेका छन् । उनले सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस् भनेका छन् ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा कटाक्ष गर्दै प्रश्न गर्ने गगन थापाले कोरोना भाइरस संक्रमणका विरुद्ध भने सरकार समक्ष हातेमालो गर्दै अगाडी बढ्ने बताउँदै आएका छन् ।
गगन थापाको प्रस्तावमा सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।








