बेनी आक्रमणका साक्षी भन्छन्– ‘स्थानीय अझै त्रसित छन्’

चैत्र ७, काठमाडौं । २०६० सालको चैत्र ७ गते राति करिब साढे १० बजेतिर बेनी बजारमा भिषण युद्ध चल्यो । बम–बारुद पड्किएको आवाजहरु सुनिन थाल्यो ।   

राति करिब ९ बजेतिर नामको अगाडि कम्रेड लगाएर गरिएका सम्बोधनहरु सुनिन थालेका थिए । मेरो घरको कोठाबाट त्यो आवाज सुनिन्थ्यो । आक्रमण हुने लक्षण देखेपछि मैले आफूले काम गरेको स्कूलको होस्टलमा भएका बच्चाहरुलाई सुरक्षित राख्न खबर गरेको थिएँ ।   

केही समयपछि ठुल्ठुलो आवाजमा बम पड्कन थाल्यो । रातभरी युद्ध चल्यो ।   

भोलिपल्ट बिहान करिब ५ बजेदेखि सर्वसाधारणहरु बाहिर निस्कन सक्ने स्थिति बनेको थियो । त्यतिबेला जिल्ला प्रशासन कार्यालय, अदालत, आर्मी क्याम्प, कारागार सबै जलिरहेको देखिन्थ्यो ।   

कोही बिरामीहरुलाई अस्पतालतिर कुदाउँदै गरेको दृश्य देखिन्थ्यो । कोहीले लासै बोकेर हिँडेको देखिन्थ्यो भने बन्दुक बोकेर उकालो लागेका दृश्यहरु पनि देखिन्थे । घाइते भएकाहरुलाई उपचार गर्न लैजाने अवस्था समेत थिएन ।   

एउटी आमाले छोरीलाई छेउमा राखेर रगत पुछ्दै गरेको निकै विभत्सव दृश्य समेत देखेँ ।   

हामी त्यो समय आमा, छोरा, बुहारी र नाती बसेको एउटा घरमा पनि पुगेका थियौँ । आमा र छोरा बाथरुमभित्र थिए भने, बुहारी किचेनको टेबुलमुनि थिइन् । सानो बच्चा भने बेडरुममा सुतिरहेको थियो ।   

यस्तोसम्म विवशता थियो । परिवार खोज्ने भन्दा पनि आफू कसरी सुरक्षित रहने भन्ने स्थिति थियो । जताततै बम पड्किएका कारण सबैजना उज्यालो पर्खिरहेका थिए ।   

त्यसको कयौँ दिनसम्म सटर तान्दा पनि मानिस तर्सिने खालको अवस्था थियो । 

बजारभरी सकेट बमहरु थिए । बन्दुकका गोलाहरु भेटिन्थे । ती सबै चीजलाई व्यवस्थापन गरी खतरामुक्त गर्न हामीले सेनालाई अनुरोध गर्यौँ र स्थिति सामान्य बनाउन सक्दो कोशिस गर्यौँ ।   

बाटाबाटामा मृतकहरु भेटिएका थिए । घाइतेहरु यत्रतत्र लडिरहेका थिए ।   

त्यो दिनभरी हामी सबैको उद्धार गर्नतिर लाग्यौँ । वातावरण सहज बनाउन हामीलाई ७–८ दिन लागेको थियो । हामीलाई लास उठाएर लैजानै ५ दिन लागेको थियो । मानिसहरु लास छुन, बजार निस्कन डराउँथे ।   

मेरै नेतृत्वमा ४९ वटा लासको व्यवस्थापन भएको थियो । त्यतिबेला म नेपाल रेडक्रस बेनी उपशाखाको सदस्य, पत्रकार महासंघको सचिव थिएँ । हामी ५–६ जना साथीहरु मिलेर ट्याक्टर भाडामा लिएर पाखामा भएका करिब ४९ वटा लास ५ दिन लगाएर व्यवस्थापन गरेका थियौँ ।   

बेनी आक्रमणभन्दा अघि बेनी बजार जाँदा नेपाली सेनाले बेलुका विभिन्न चोक तथा पोइन्टहरुमा चेकिङ गथ्र्यो भने बेनीबजार कटेपछि अर्थात् सेना नभएको ठाउँमा विद्रोही पक्षको चेकिङमा परिन्थ्यो । त्यतिबेला हामी पत्रकारलाई पनि सहज थिएन ।   

हामीसँग डिजिटल क्यामेरा थिएन, रिलवाला क्यामेरा बोक्थ्यौँ । बाटोमा चेकिङमा परिने हुँदा पत्रकार साथीहरु मिलेर दुई वटा रिल बोक्थ्यौँ । चेकिङमा पर्दा फोटो भएको रिल लुकाउँथ्यौँ र खाली रिल सेनालाई बुझाइदिन्थ्यौँ ।   

६० साल, माघ १ गते बेनीमा माघे संक्रान्ति तथा म्याग्दी महोत्सव भएको थियो । महोत्सव हुने समयमा बेनीमा बाटो फराकिलो बनाउने, बेनी बजार सिंगार्ने कामहरु भइरहेको थियो । सोही समयमा हस्पिटल चोक भन्ने ठाउँको एक गल्लीबाट फायरिङ्ग भएको थियो । त्यसलाई हामीले ‘लडाईँको संकेत’ का रुपमा लिएका थियौँ । मिडियाकर्मीहरुमा बेनी आक्रमणको गाईँगुईँ पहिले नै थियो ।   

फागुन लागिसकेपछि झन् माहोल नै अर्कै बन्यो । लास बोक्नका लागि बाँसहरुमा घारहरु जोडेर बनाएका दृश्य समेत देखिन थाल्यो । त्यसले पनि थप प्रष्ट बनायो– ‘अब यहाँ लडाईँ हुँदैछ’ ।   

वास्तवमा बेनी आक्रमणको योजना चैतको ९ गते बनेको रहेछ । तर १५० को संख्यामा रहेको तत्कालिन शाहि सेनाको कमाण्डु फोर्स सदरमुकाम आएको सूचना पाए लगत्तै आक्रमण तोकिएको मितिभन्दा दुई दिनअघि नै गरिएको रहेछ ।   

त्यो कुरा हामीले एक मृतकको शव व्यवस्थापन गर्ने बेलामा थाहा पायौँ । मृतकका शरीरका अंगहरु हेर्न लायकका थिएनन्, उसको खल्तीबाट आमालाई लेखेको एउटा चिठ्ठी मिलेको थियो ।   

जसमा लेखिएको थियो–   

‘हामी चैत ९ गते आक्रमणमा जाँदैछौँ । फर्कन्छौँ, फर्कँदैनौँ थाहा छैन । परिवारको ख्याल राख्नुहोला !’   

तर त्यो जनयुद्धबाट जनताले के पाए ? नेतृत्वविरुद्ध बोल्न सक्ने स्थिति बन्यो त्यति मात्रै हो ।   

माओवादी द्वन्द्वले मानिसहरुमा विरोधको चेतना जगाएको हो । कसैले गरेको कामप्रति असहमती जनाउने अथवा सामाजिक सञ्जाल तथा खुला रुपमा प्रतिक्रिया राख्ने वातावरण बनाइदियो । त्यो बाहेकको परिवर्तन म अहिलेसम्म केही देख्दिन ।   

हो, केही विकास भएका छन्, तर त्यो भन्दा बढी विकास द्वन्द्व नभएको भए हुन सक्थ्यो । १२ वर्षमा कति धेरै जनधनको क्षति भयो । लडाईँको उपलब्धि खै ? छैन केही पनि । त्यो लडाईँले हामीलाई विकासमा धेरै पछाडी पार्यो ।   

अहिले त उहाँहरुले पनि बुझ्नुभयो होला– ‘बिगार्न जति सजिलो छ, बनाउन त्यति नै गाह्रो छ !’   

द्वन्द्वका समयमा जति आशा देखाइएको थियो जनतामा, त्यसको सामान्य प्रतिशत पनि पुरा भएका छैनन् । अहिले पनि गाउँमा छुवाछुत जारी छ । धनी गरिब बिचको विभेद अझै जारी छ । हुँदा खाने वर्गमाथि अहिले पनि शोषण छ ।   

जसले देश र जनताका लागि लडे, घरपरिवार गुमाए, उनीहरुले के पाए ? 

जनताहरु सोचिरहेका छन्– ‘द्वन्द्व समाधान होइन भन्ने थाहा हुँदाहुँदै पनि हामीलाई किन दुःख दिइयो ?’   

बेनीवासीहरु चैत ७ अर्थात् आक्रमणको त्यो कालो रात नआइदिए पनि हुने भन्ने सोच्छन् । नेत्रविक्रम चन्दको पार्टी अझैपनि सक्रिय छ म्याग्दीमा, भनिन्छ । जनताहरु फेरि लडाईँ हुनेमा चिन्तित छन् । उनीहरुमा युद्धको त्रास छ । यो कुरामा राज्यपक्ष बेलैमा सचेत हुनुपर्छ ।   

अझैपनि म्याग्दी–बेनीमा बमहरु भेटिन्छ । युद्धताकाका हतियारहरु भेटिन्छन् । गोला बारुद अझै भेटिन्छन् । बेनी आक्रमणमा परेका भवनहरु मात्रै पुनर्निर्माण भए तर जनताको घाउ पुरिएको छैन ।   

हुन त बेनी आक्रमणलाई नकारात्मक रुपमा मात्रै पनि हेर्नु हुँदैन । यो आक्रमणपछि दुवै पक्षले शान्ति सम्झौता गरे । ०६१–६२ सालमा शान्तिपूर्ण आन्दोलन भयो र देशमा परिवर्तन आयो । यसलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ ।   

जनयुद्ध आवश्यक त थिएन तर जो देश र जनताका लागि आफ्नो घरपरिवार सबै त्यागेर भूमिगत हुनुभयो, त्यो उहाँहरुको ठुलो त्याग थियो । केही मानिसहरुमा अझैपनि त्यो प्रभाव छ र युद्धमा निस्कने तयारी गरिरहेका छन् । अहिले युद्धतर्फ नेत्रविक्रम चन्द विप्लवको पार्टी आकर्षित भएको देखिन्छ । उहाँहरु तालिममा लागेको, भूमिगत भएको लगायतका हल्लाहरु सुनेका छौँ ।   

यदि बेलैमा उहाँहरुलाई सम्झाउन सकेनौँ भने फेरि अर्को युद्ध जन्मने सम्भावना प्रबल छ ! 

जनतामा जनयुद्धमा होमिएकाहरुले नै अब फेरि अर्को जनयुद्ध जन्माउने हो कि भन्ने डर छ ! 

(नेपाल रेडक्रस सोसाइटीको उपमन्त्री, पत्रकार महासंघका निवर्तमान अध्यक्ष र रक्तसञ्चार केन्द्रका अध्यक्ष सुरत केसीसँग मकालु खबर संवाददाता सृष्टि नेपालले गरेको कुराकानीमा आधारित)   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *