कोरोना प्रकोप : विश्वभर कहाँ कस्तो छ स्थिति ?

फागुन २२, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभरी झण्डै ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ भने ९०,००० बढी मानिस सङ्क्रमित भएका छन् ।
बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनमा छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन । तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन् ।
अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएका देश हुन् । कोरोनाको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको हो ।

इटलीले के गरिरहेको छ ?
शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताइन् । मेरो प्रतिबद्धता भनेको हाम्रा सबै विद्यार्थीलाई आवश्यक सार्वजनिक सेवाको सुनिश्चितता गर्नु हो उनले भनिन् ।
स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन् । स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन् ।
कतिपय खेल प्रतियोगिताहरू पहिले नै स्थगित भएका छन् । इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या २८ बाट १०७ पुगेको जनाएको थियो । मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ ।
आजदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ । त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन् ।
क्यालिफोर्निया आपतकाल
कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । संक्रमणदर बढ्दै गएपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताको बीचमा आपतकाल घोषणा गरेका थिए । वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि एक हप्ताको बीचमा आपतकाल घोषणा गरिएको थियो ।
नेपालमा अवस्था ?
चीनसँग नजिक भएर पनि हालसम्म नेपालमा कोरोना भाइरसको त्रासदी भोग्नु परेको छैन तथापी यसको जोखिम भने उच्च छ । अन्य देशमा कोरोना भाइरसविरुद्ध लड्न विभिन्न कार्यक्रम र ठूलो बजेट छुटिएको अवस्था छ । तर, नेपालमा भने कोरोनाको संक्रमणप्रति भने जस्तो सचेतता अपनाइएको छैन ।
तर, पछिल्ला केहि दिनयता नेपालमा पनि कोरोना संक्रमणको त्रासले धेरै नेपालीलाई तर्साएको छ । ढिलै भए पनि कोरोना भाइरसको सचेतना नेपालमा ढिला गरी अपनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि मात्र नेपाल सरकार तातेको हो ।
भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित भएको छ भने विभिन्न अन्तर्रा्ष्ट्रिय सभा सम्मेलन पनि स्थगित भएका छन् । सरकारले भीड नगर्न आग्रह गरेको छ । पार्टीहरुले समेत आफ्ना कार्यक्रम स्थगित गरेका छन् । विद्यालयलाई परीक्षा चैत ५ भित्रै सकाउन आग्रह गरेको छ ।
नेपालमा अहिलेसम्म २३ जनाको कोरोना परीक्षण गरिएको छ । एक जनालाई संक्रमण भएको छ । उनी ठीक भइसकेका छन् । २२ जनामा भने संक्रमण नदेखिएको चिकित्सकले बताएका छन् । चीनबाट ल्याइएका १७५ विद्यार्थी र चालकदलसंगै चिकित्सकको १८ जनाको टोलीलाई १४ दिन क्वारेन्टाइनमा राखिए पनि उनीहरुमा कुनै संक्रमण देखिएन ।
अन्यत्र कस्तो स्थिति छ ?
चीन र हङ्कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन् वा गर्न लागेका छन् । त्यसबाट विद्यालय उमेरका लाखौँ बालबालिका प्रभावित हुनेछन् । फ्रान्सले कोरोनाभाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ । उत्तरी प्यारिसका प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द गरिएका हुन् । त्यहाँ कोरोनाभाइरसका कारण दुई जनाको मृत्यु भएको छ ।








