वडाध्यक्षको परीक्षा भतिजाले दिएपछि …

चैत ३, कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा एक वडाध्यक्षको परीक्षा भतिजाले दिएको भन्दै बिरोध भएको छ । 

नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष विनोद विश्वकर्माले आधारभूत तह उत्तीर्ण कक्षा ८ को वार्षिक परीक्षा भतिजालाई दिन लगाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । वडाअध्यक्ष विश्वकर्माको नाममा उनकै भतिजा नातापर्ने बसन्त बिश्वकर्माले परीक्षा दिइरहेको तस्बिर सामाजिक सञ्जालमा त्यहाँका स्थानीयले पोष्ट गरेपछि तथ्य बाहिरिउको हो । 

सोही वडाको बडातडो आधारभूत विद्यालय बछुरिया परीक्षा केन्द्रबाट नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिइरहेका वडाध्यक्ष विश्वकर्माले सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा बिषयको परीक्षा समेत उनका भतिजाले दिँदै गरेको भन्ने सूचना पाएपछि स्थानीयले परीक्षा केन्द्रमै पुगेर बिरोध जनाएको खुलेको छ । वडाअध्यक्ष विश्वकर्माले आफ्नो भतिजालाई परीक्षा दिन लगाएको कुरा थाहा पाएपछि स्थानीयहरु परीक्षा चलिरहेको अवस्थामा विद्यालय पुगेका थिए । 

प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार वडाअध्यक्ष स्वयमले विद्यालयको अफिसमै बसेर परीक्षा दिँदै गरेको र नेपालको नक्सा खुलेयाम हेरेर बनाउँदै गरेको अवस्थामा तस्बिर खिचेर सार्वजनिक गरेको बताए । सामाजिक सञ्जालमा शनिबार उनले आफ्नो सट्टामा आफ्नो भतिजालाई परीक्षा दिन लगाएको उक्त तस्बिर बाहिरिएको छ । 

यता, वडाध्यक्ष बिश्वकर्माले चौतर्फी रूपमा बिरोध हुन थालेपछि आइतबार एक प्रेस विज्ञप्ति मार्फत त्यसको खण्डन गरेका छन् । उनले वडास्थित सरस्वती आधारभूत विद्यालयको कक्षा ८ मा आफू भर्ना भइ वार्षिक परीक्षा दिने क्रममा फागुन २७ गते हातमा चोट लागेर सुन्निएका कारण लेखन सहयोगीबाट सहयोग लिएको उल्लेख गरेका छन् । लेखाइमा समस्या भएपछि परीक्षा केन्द्रको केन्द्राध्यक्षसंग अनुमति लिएर सहयोगीको सहयोगमा तीन दिनसम्म परीक्षा दिएको र सहयोगी कक्षा १० मा पढ्ने भनिएको विद्यार्थीको विवरण झुठो भएको उनले उल्लेख गरेका छन् । 

तर, स्थानीयले भने परीक्षा सहयोगिका रूपमा परीक्षा दिइरहेका विद्यार्थी राष्ट्रिय माध्यमिक विद्यालय तारानगरमा कक्षा १० अध्ययनरत भएको बताएका छन् । स्थानीयले उक्त बिषयमा विद्यालयले समेत लापरबाही गरेकाले विद्यालय व्यवस्थापन समितिलाई समेत छानविनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।   

घोडाघोडी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख विद्यालय निरीक्षक उमेशराज रेग्मीले सो विषयमा बुझ्न आइतबार आफू परीक्षा केन्द्रमा पुगेको बताए । उनले भने, ‘हातमा चोट लागेको रहेछ । म त्यहाँ जाँदा परीक्षा आफै दिइराख्नुभएको थियो । मलाई पछिल्लो दिन जानकारी भएको हो । मैले के हो त भनेर बुझ्दा छेउमा बच्चा उभिएको हो लेख्न चाहिँ मैले आफै लेखेको भन्दै वडाअध्यक्षले जवाफ दिएका थिए ।’   

वडाध्यक्ष बिश्वकर्मा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =