हिसानले क्वारेन्टाइन बनाउन सरकारलाई पाँच हजार कक्षा कोठा दिने

चैत्र ७, काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरस संक्रमणको उपचारका लागि देशभर पाँच हजार कक्षा कोठा र स्वयंसेवक राज्यलाई उपलब्ध गराउन सक्ने जनाएको छ ।
हिसानले कोरोना भाइरस उपचारका लागि सरकारलाई आवश्यक परेमा देशभरका पाँच हजार कक्षा कोठालाई क्वारेन्टाइनमा रुपान्तरण गर्ने र स्वयं सेवक समेत उपलब्ध गराउने निर्णय गरेको हिसानका महासचिब लोकबहादुर भण्डारीले बताए ।
हिसानको हिजो बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘कोरोना भाइरस संक्रमणबाट बच्न तथा राज्यलाई क्वारेन्टाइन निर्माण गर्न सहजता होस भनेर देशभरका पाँच हजार कक्षा कोठाहरु उपलब्ध गराउने निर्णय भएको छ । आवश्यक परे स्वयं सेवक पनि उपलब्ध गराउने छौं ।’ हिसानका महासचिव लोकबहादुर भण्डारीले मकालु खबरलाई बताए ।

हिसानले कोरोना भाइरस संक्रमण जोखिमको कारण चैत्र मसान्त सम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरेकाले कक्षा कोठा खाली रहने भएकोले उक्त कक्षा कोठालाई क्वारेन्टाइनमा परिणत गर्न सकिने बताएको हो ।








