औषधिको आपूर्ती नरोक्न भारतलाई नेपालले गर्यो यस्तो अपिल

फागुन २२, काठमाडौं । भारतले अत्यावश्यक ‍औषधि र त्यसको कच्चापदार्थको निर्यातमा नियन्त्रण गरेपछि नेपालले आफ्नो हकमा त्यस्तो कडाइ नगर्न दिल्लीलाई अनुरोध गरेको अधिकारीहरूले बताएका छन्। 

हाल बाङ्लादेशमा रहेका नेपालका वाणिज्य सचिव बैकुन्ठ अर्यालले आफ्ना भारतीय समकक्षीसँग टेलिफोनमा कुराकानी गरि नेपालमा औषधिहरूको आपूर्ति नरोक्न अनुरोध गरेको वाणिज्य मन्त्रालयका एकजना सहसचिवले बताएको बीबीसीले जनाएको छ ।   

भारतले २६ प्रकारका औषधि र तिनका कच्चापदार्थको निर्यात नियन्त्रण गर्ने बताइरहँदा त्यसले नेपालमा अत्यावश्यक औषधिहरूको अभाव हुनसक्ने ठानिएको छ। 

तर अधिकारीहरूले कम्तीमा तीन महिनासम्म पुग्ने मौज्दात देशभित्र उपलब्ध रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन्। 

भारतले दुखाइ नियन्त्रण गर्ने सिटामोल, विभिन्न प्रकारका भिटामिन सहित २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातलाई सीमित गर्न लागिएको घोषणा दुई दिन अघि गरेको थियो। 

उक्त विषयमा नेपालले भारतको ध्यानाकर्षण गराएको र सकारात्मक जवाफ पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले बताए। 

उनी भन्छन्, ‘बाङ्लादेशमा रहनुभएका वाणिज्य सचिवले उतैबाट भारतका वाणिज्य सचिवसँग कुराकानी गर्नुभएको छ। भारत नेपालको सन्दर्भमा सकारात्मक छ भनेर हाम्रो सचिवले भन्नुभएको छ। हामी निरन्तर सम्पर्कमा नै छौँ।’ 

उनले थपे, ‘हाम्रो मुख्य चासो औषधिको कच्चापदार्थ हो। भारतीय पक्षले आफ्नोतर्फबाट यो कुरालाई गम्भीरतापूर्वक लिने र सकेसम्म चाँडो स्थितिलाई सामान्यीकरण गरिने भनेर भनेका छन् भनेर मैले जानकारी पाएको छु।’ 

भारतीय औषधि निर्माताहरू पनि आफ्नो देशमा बन्ने औषधिको लगभग ७० प्रतिशत हिस्सा कच्चा पदार्थका लागि कोरोना भाइरसको सङ्क्रमण सुरुमा फेला परेको चीनमा निर्भर रहने गरेका छन्। 

भारतले प्रतिबन्ध लगाएका कच्चा पदार्थ र औषधिहरू भारतले निर्यात गर्ने औषधिको १० प्रतिशत हिस्सा ओगट्ने र त्यसले टिनिडाजोल र एरिथ्रोमाइसीनजस्ता केही एन्टिबायोटिक्सको आपूर्तिलाई प्रभावित पार्ने बताइन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =