काेराेना भाइरस सँगै उत्पन्न अन्य सामाजिक राेगबाट कसरी बच्ने ?

कोरोना भाइरसको संङ्क्रमणले उत्पन्न महामारीबाट बच्न विश्व स्वास्थ्य सङ्गठन, सरूवा रोग र महामारीका विषयमा अनुसन्धानरत वैज्ञानिकहरू, जनस्वास्थ्य विज्ञहरू र नेपाल सरकारले दिएका सुझाव र निर्देशनलाई प्रतिक्रिया विना अनुशरण गर्नु हामी सबैको कर्तव्य हो । कोरोना भाइरसको संङ्क्रमणबाट पैदा हुने कोभिड १९ बाट संसारका लाखौं मानिसहरू प्रताडित छन् । हजारौंको मृत्यु भइसकेको छ । र, यसले लामो समयसम्म नै असर गरिरहने कुराहरू आइरहेका छन् । 

अनुशासन यो सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा सस्तो र सर्वसुलभ साधन हो । अ‍ाैषधि बनिनसकेको वर्तमान अवस्थामा व्यक्ति र व्यक्ति बीचको दूरी (डेड मिटर नघटाउने बढ्दा झन राम्रो) तोकेअनुसार कायम गर्ने, घरमै बस्ने, सकेसम्म बाहिर हिँडडुल नगर्ने, हिँड्दा मास्क लगाउने (मास्क लगाउँदा चिउँडोदेखि नाकसम्म सकेसम्म बाहिरको धुलो र कुनै पनि किसिमको छिटा नपस्ने गरी लगाउने), कुनै नयाँ व्यक्ति र वस्तु छोइयो भने तत्काल साबुन पानीले हात धुने, छिउँ गर्दा वा खोक्दा नाक र मुखबाट निस्कने छिटाहरूलाई बाहिर छरिन दिनहुन्न भन्ने कुरालाई मनन गर्ने । ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ देखिने अवस्था आएमा नआत्तिने तर, तत्काल सुरक्षित किसिमले अस्पताल जाने गरेमा यो महामारीबाट आफू बाचेर अरूलाई पनि बचाउन सकिन्छ भन्ने किसिमका सतेतनामुलक सूचनाहरू सर्वत्र हेर्न, सुन्न र पढ्न पाइएको छ । यो विषयलाई गम्भिरताका साथ लिने र लागू गर्ने अठोट गरौं । 

अहिले यो कोभिड १९ महामारी बनेको छ । यो लम्बियो भने सङ्क्रमितहरूलाई मात्र होइन बाँकी दुनियालाई पनि हरेक किसिमले सताउनेवाला छ । यसखालका मान्छेको कारणले पैदा नभएका समस्याहरू वा सङ्कटहरू कसैको धन, सम्पति र बलको भरमा रोकिँदैनन् । युद्ध दुई पक्ष तयार भए रोकिन्छ । भूकम्पले सातै अरबलाई एकैचोटी र एकै खालले हल्लाउन नसक्ला । बाढी-पहिराे, आँधीका कारणले उत्पन्न हुने सङ्कटको पनि यो खालको सरूवा स्वभाव हुँदैन । त्यसैले सारा विश्व एक भएर यो सङ्कटबाट बच्नका लागि लड्नु आजको अहम् सवाल हो । 

कोरोनाले श्वासप्रश्वासमा र शरीरका अन्य महत्वपूर्ण प्रणालीमा असर गर्छ र मान्छे मर्छ पनि भनिएको छ । अब कोरोना कहर भाइरस बिना पनि बढ्दो छ । दैनिक ज्यालादारी काम गरेर बाँच्ने संसारको ठूलो समुदायको पेटमा सङ्क्रमण शुरू हुँदैछ । कोरोना भाइरस सङ्क्रमितहरू भन्दा राेजीरोटीको अभावमा पैदा हुने समस्या महासङ्कट बन्दैछ । मान्छे मात्र होइन, चराचुरूङ्गी र जनावरहरू पनि अब भाेककाे छटपटीमा छन् । शहरमा कुकुरहरू मर्दैछन्, मठमन्दिरमा आउने भक्तजन र पर्यटकहरूले आस्था र इच्छा अनुसार दिएको आहारा र चाराको भरमा बाँचेका परेवा, बाँदर, काग आदि खान नपाएर मर्ने अवस्थामा पुग्दैछन् । बाँदर भोकले छटपटिएर घरघरमा पसेर मान्छेलाई आक्रमण गर्ने परिस्थिति अब साह्रै टाढा छैन । त्यसैले यसको विषयमा हामी सबै गंम्भिर हुनु आवश्यक छ । खान नपाएर मरेका छाडा जनावरहरू, कुकुर र बाँदरहरू यत्रतत्र कुहिएर अरू थप रोगहरू शहरीया जीवनमा थपिने संभावना छ । त्यसैले सरकारले अब मानिसकाे मात्र हैन पशुपन्क्षीहरूकाे पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा साेच्न जरूरी छ ।   

सकिन्छ भने शहरमा छाडा रहेका गाइभैंसी आदिलाई पानी र चरनको उपलब्धता भएका जङ्गली क्षेत्रमा स्थानान्तरण गर्ने हो कि ! बाँदरहरूलाई नियन्त्रणमा लिनसक्ने वैज्ञानिक विधि भए सो अपनाएर जङ्गली फलफूल र पानीको उपलब्धता भएका ठाउँहरूमा सार्न मिल्छ कि ! त्यसो गर्दा ती जनावरहरूमा रहेका रोगहरू अन्य जङ्गली जनावरलाई नसर्ने उपचार गरेर (विशेषगरी सरूवा प्रकृतिका) स्थानान्तरण गर्नुपर्छ । 

सडकमा हिँड्ने भुस्याहा कुकुरहरूलाई नियन्त्रणमा लिने र अरू सरल र सस्तो संरक्षणको उपाय नभए मार्ने (मानव रक्षाका लागि) अन्यथा यो पनि जटिल समस्या बन्नसक्छ । 

मठमन्दिर, चर्च र गुम्बालाई आश्रय स्थल बनाएर आफ्नो आस्था अनुसार बाँचेकाहरूलाई फराकिला चौरहरूमा, विद्यालय र महाविद्यालयहरूमा खाली गोदामहरूमा केन्द्रीकरण गर्ने र क्वारेन्टाइनको प्रावधान अनुसार राख्ने । यसोगर्दा सकेसम्म फरक फरक धर्म र सम्प्रदायका मानिसहरूलाई एकै ठाउँमा नराख्ने । 

अनाथालय, बृद्धाश्रम र सुधार केन्द्रहरूमा रहेका मानिसहरूको लागि आवश्यक खानपिन र सुरक्षाको विषयमा पनि ध्यान जानू आवश्यक छ । धेरै ठाउँमा रहेका तर थोरै-थोरै सङ्ख्याका आश्रितहरूलाई सापेक्षित सुविधा बढी भएको ठाउँमा केन्द्रीकरण गर्ने र उनीहरूलाई आवश्यक परामर्श, प्रेरणा र सुरक्षाको उचित प्रबन्ध गर्ने । 

यसका अतिरिक्त अरूपनि धेरै समस्याहरू पैदा हुनेवाला छन् । अस्तिमात्र मेक्सिकोमा खाद्यवस्तु बेचबिखन गर्ने डिपार्टमेन्टल स्टोरमा लुटपाट भयो । जीवन सङ्कटमा परेको अनुभूति भएपछि लाटो करेट सर्पले टोक्छ । बिरालाले कोपर्छ । अब हामी कहाँ पनि यस्ता लुटपाटका घटनाहरू हुनसक्छन् । सरकारका सबै खाले सुरक्षा निकायहरू, सचेत नागरिक समाज र स्वयम्सेवी संस्थाहरूले एकीकृत रूपमा संभावित आपराधिक घटनाहरू घट्नुपूर्व नै सुरक्षा तयारी गर्नुपर्दछ । यो विषम परिस्थितिमा बाँडेर खाने वा हाम्रो नजिकमा अभावका कारणले कोही भोकै पो छ कि बुझ्ने र सहयोग गर्ने बानी बसाउन सकियो भने अन्य खतराबाट समाजलाई जोगाउन सकिन्छ ।   

अहिले सरकारले राहत कार्यक्रम ल्याउँदै छ र ल्याउँछ पनि । यो राहतमा पनि ठगी वा भ्रष्टाचार हुनसक्छ । हामी सबै सचेत हुनु जरूरी छ । राहत लिन आउनेले पाउनेभन्दा आहत मान्छे रहेको ठाउँमा राहत पुर्याउने व्यवस्था मिलाउनु बढी उपयुक्त हुन्छ । यसो गर्दा संङ्क्रमित हरूसँग स्वस्थ मान्छेको सम्पर्क हुने र रोग फैलिने समस्या बढी हुन्छ । गाउँमा भन्दा शहरमा दैनिक ज्यालादारी मजदुरहरू बढी हुन्छन् । डेरामा बस्छन्, ग्याँस प्रयोग गर्छन् र जीउनका लागि सबै कुराहरू पानीसमेत किनेर खानुपर्छ । यो वर्गलाई पहिलो प्राथमिकतामा राख्नपर्छ । स्थानीय जनप्रतिनिधि, टोल सुधार संस्था समेतको सहभागितामा सानो समिति बनाउने र राहत चाहिने अवस्थाको मान्छे हो वा होइन वासस्थानमै गएर राहत दिने व्यवस्था उपयोगी हुन्छ ।   

कमजोरलाई प्राथमिकतामा राख्ने संस्कृति निर्माणका लागि यो समय उचित छ । यो सेवाका लागि यातायातका साधनहरू आवश्यक हुन्छन् । स्कुल, कलेज, उद्योगी व्यापारीका संघ संगठनलगायतसँग साधन माग्ने र सरकारले इन्धनको व्यवस्था गरी राहत वितरण कार्यलाई सहज बनाउन सकिन्छ । 

अहिले स्वास्थ्य सेवा दिने मान्छेहरूको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । स्वास्थ्यकर्मीहरूको आउजाउलाई व्यवस्थित र सुरक्षित गर्ने काम सेना वा पुलिसलाई दिँदा हुन्छ । (स्वास्थ्यकर्मीलाई ल्याउन लैजानका लागि प्रयोग हुने सवारी साधन सेना वा प्रहरीले चलाउने) एम्बुलेन्स चालक र एम्बुलेन्सको सुरक्षा र व्यवस्थाको जिम्मा रेडक्रस र सेनालाई दिने) 

सबै स्थानीय तहमा प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, प्रमुख प्रतिपक्षी दलको नेता रहेको अधिकार सम्पन्न कोरोना रोकथाम तथा विपत् व्यवस्थापन समिति बनाउने र काम गर्ने । यो समिति हामी सबैको हो भन्ने साेचका साथ समितिले ल्याएका कार्यक्रम लागु गर्न सकियो भने कोरोना भाइरसका कारणले उत्पन्न समस्यासँग जुध्न सहज हुने देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *