नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन्: डा. झा

चैत्र ६, काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरे ।
डा. झाले रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् । ‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’
उनले परीक्षणमा आउने संख्या दिनहुँ बढेपनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताईन् । यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ । झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अबलम्बन गर्नेगरी तयारी समेत गरिसकेको विश्वास दिलाईन् ।उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन् ।








