स्वास्थ्यकर्मीलाई भड्काउन खोजियोः योगेश भट्टराई

चैत १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोशिस भइरहेको टिप्पणी गरेका छन्। मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारका सबै संयन्त्रहरु परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको बताएका हुन्। 

‘स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस भइरहेको’ भन्दै उनले त्यस्तालाई कामबाटै जवाफ दिइने र जनस्तरबाट भण्डाफोर हुने बताए। उनले लेखेका छन्, ‘हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन। सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ। यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस गरेको देखिन्छ। त्यसलाई कामबाट जवाफ दिइने छ र जनस्तरबाट त्यसको भण्डाफोर हुने छ।’ 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारीले जोखिम मोलेर काम गरिरहेको र थप हौसलाका लागि सरकारले विभिन्न प्याकेज घोषणा गरेको उनले बताए। तर धमिलो पानीमा जाल थाप्नेहरुले भड्काउने कोशिस गरेको भन्दै उनले सबै होसियार बन्नुपर्ने र आफ्नो जिम्मेवारी छाड्न नहुने बताए। 

कोभिड-१९ का बारेमा मन्त्री भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका ११ बुँदा 

१. यो विश्वकै लागि अस्वाभाविक र अप्रत्याशित थियो र नेपालका लागि पनि। 

२. स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ। 

३. एउटा विकासोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो। 

४. सम्माननीय प्रधानमन्त्रीज्यूको प्रत्यक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनि अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वयमा हर सम्भव उपायकासाथ काम गरिरहेको छ। 

५. परिस्थिति अत्यन्तै जटिल रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्ती/ कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिँदैन । त्यसलाई आत्मसात् गर्दै सच्याउँदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ। 

६. हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यही बाटोमा छौ। 

७. यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोसिस गरेको देखिन्छ। त्यसलाई कामबाटै जवाफ दिइने छ। जनस्तरबाटै त्यसको भण्डाफोर हुने नै छ। 

८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफूलाई जोखिममा राखेर पनि अहोरात्र खटिरहनु भएको छ। वहाँहरू सबैको प्रशंसा गर्दछु। वहाँहरूको थप हौसलाका लागि सरकारले विभिन्न प्याकेज घोषणा गरेको छ। धमिलो पानीमा जाल थाप्नेहरू उनीहरूलाई भड्काउन कोसिस गर्दै छन्। सबै होसियार हुनु पर्दछ। आफ्नो जिम्मेवारी छोड्नु हुँदैन। 

९. उपकरण तथा औषधीको आपूर्ति र वितरणमा स्वास्थ्य मन्त्रीज्यूको अगुवाइमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरूले गम्भीरतापूर्वक काम गरिरहेको अवस्था छ। अब यसमा छिट्टै सहजता आउने छ। 

१०. कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण सुरु गरेका छन्। उनीहरूको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ। हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाइमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्य योजना सफल पार्न प्रतिबद्ध छौ। 

११. आज सिङ्गो राष्ट्र र मानव जाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =