काेराेना भाइरस संक्रमणः अस्पताल तथा क्लिनिकमा सकभर नजाऔं

अहिले मौसमी रुघाखोकी फैलिएको छ | रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, सिंगान आउने, नाक बन्द हुने लगायतका लक्षण मौसमी रुघाखोकीका लक्षण हुन् | मौसमी रुघाखोकीलाई खासै उपचारको आबश्यकता हुँदैन | झोलिलो खाना खाने, ज्वरो आउँदा सिटामोल खाने, रुघाखोकीको सामान्य औषधि खाने तथा घरमै बस्ने गरेमा यो फ्लु ४-५ दिनमा आफै निको हुन्छ | रुघाखोकी लागेका व्यक्तिलाई अन्य संक्रमण रोग सर्ने ठूलो सम्भावना हुन्छ | हरेक रोगका बिरामी जम्मा हुने अस्पताल, क्लिनिक तथा अन्य उपचार केन्द्रमा सकभर जानु हुँदैन | 

ब्लडप्रेसर, मधुमेह, दम, मुटुका औषधि, थाइराइडको औषधि, मानसिक रोगका नियमित औषधि खानुपर्ने बिरामीले २-३ महिना त्यहि औषधि खानु राम्रो हुन्छ | सामान्य पेट, छाला, दांत लगायतका उपचारको लागि पनि पुरानै औषधि खाँदा हुन्छ | सर्जरी गर्नुपर्नेले केहि महिनापछि लम्ब्याउनु उपयुक्त हुन्छ | समस्या परेमा अस्पतालको आकस्मिक कक्षमा जानु राम्रो हुन्छ | 

आफ्नो पारिवारिक चिकित्सकसँग टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइप आदिबाट उपचार लिनु राम्रो हुन्छ | रोगको महामारीको समयमा आफै अस्पताल वा क्लिनिक जानु सुरक्षित हुँदैन | चिकित्सक, नर्स, ल्याब टेक्निसियन लगायत अन्य स्वास्थकर्मी सबैभन्दा जोखिम बर्गमा पर्छन् | स्वास्थ्यकर्मीबाट रोग सर्ने सम्भावना धेरै हुन्छ | वेटिंग रुममा अनेक संक्रमण भएका बिरामी हुन्छन | अझ बालबालिका तथा बुढाबुढीलाई सकभर घरमै राख्नु राम्रो हुन्छ | 

Image may contain: 1 person

चिकित्सक/स्वास्थ्यकर्मीसँग जाँच गराउँदा दुरी एकदम कम हुन्छ | स्टेथोस्कोप, प्रेसर हेर्ने उपकरण, थर्मोमिटर, रगत जाँच गर्दा, अल्ट्रासाउण्ड गर्दा, दाँतको उपचार गर्दा, छालाको उपचार गर्दा, नाक /कान /घांटीको उपचार गर्दा, इसिजी / इको गर्दा, गाइनेकोलोजिस्टले उपचार गर्दा, आँखाको उपचार गर्दा ….बिरामीको एकदम नजिकबाट जाँच गर्नुपर्ने हुन्छ | यसले स्वास्थ्यकर्मी र बिरामी दुवै पक्षलाई खतरा हुनसक्छ | तसर्थ आकस्मिक बाहेकका उपचार इन्टरनेट वा फोनबाट गर्दा सजिलो हुन्छ | 

रुघा लाग्ने बित्तिकै वा सानो समस्या पर्नेबित्तिकै जाँच गर्ने पर्ने, औषधि खाने पर्ने बानीलाई छुटाउनु जरुरि छ | तापक्रम हेर्न थर्मोमिटर, ब्लडप्रेसर मेसिन, ग्लुकोमिटर ( ब्लड सुगर हेर्न ), नेबुलाइजर ( बाफ दिन ) जस्ता सामान्य उपकरण घरमा राखेमा आफै टेस्ट गर्न सकिन्छ | 

हरेक अस्पतालले ज्वरो तथा रुघाखोकी युनिट स्थापना गरेर अरु बिरामीसंग मिसाउने परम्परा बन्द गर्दैछन | यो निकै राम्रो अभ्यास हो | ज्वरो १०२ भन्दा धेरै आएमा, सुख्खा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा नजिकको अस्पतालको इमर्जेन्सीमा जानु उपयुक्त हुन्छ | यो महामारीमा स्वास्थ्य संस्था नाफामुखी हुनु हुँदैन | 

अस्पताल, फार्मेसी तथा औषधि आयात गर्ने संस्थाले सम्भावित खराब परिस्थितिलाई आंकलन गरेर औषधि निर्यात तथा स्टोर गर्नु जरुरी छ | सरकार तथा हामी सबै मिलेर यो विषम परिस्थितिलाई धैर्यतापूर्वक सामना गरौँ | 

कोरोना संक्रमणका तीन चरण 

क ) पहिलो चरण 

– ज्वरो आउने ( १०२ – १०४ डिग्री फ सम्म ) 

– सुख्खा तथा लहरे खोकी लाग्ने 

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने 

– घांटी बस्ने 

– थकाइ लाग्ने 

ख ) दोस्रो चरण 

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने 

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने 

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने 

ग ) तेस्रो चरण 

– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने | 

– धेरै छाती दुख्ने 

– उठ्न निकै गाह्रो हुने 

– कन्फ्युज हुने 

– बेहोश हुने 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *