गाउँ गाउँमा सरसफाई अभियान

चैत्र, १६ विराटनगर । विराटनगर महानगरपालिकादेखि ३ किलोमिटर पूर्व कटहरी गाँउपालिका महेशपुरका युवा यति बेला लकडाउन घोषणासँगै फुर्सदिला बनेका छन् । कोरोना भाईरस संक्रमण विश्वव्यापीरुपमा फैलिएसँगै नेपाल पनि अछुतो छैन ।
सरकारले लकडाउनको घोषणा गरेसँगै यति बेला नेपालले लकडडाउनको कठिन परिस्थिति बेहोरीरहेको अवस्था छ ।
स्कुल, कलेज विदा छ, तर फुर्सदिलो समय महेशपुरका युवा भने सामाजिक कार्यमा नै व्यस्त छन् ।

महेशपुर चोकमा ढाँट लगाएका छन् ताकी विराटनगर महानगरपालिका क्षेत्रबाट गाँउ पस्ने पैदल यात्री होस या सवारी चालक सम्पूर्णलाई साबुन पानीले हात धुन लगाएरमात्रै गाउँ प्रवेश गर्ने नियम राखेका छन् ।
सुरुवाती दिनहरुमा गाँउलेहरु र बाटोमा आवतजावत गर्ने यात्रुहरुले अटेर गरे पश्चात कटहरी १ का वडाध्यक्षको नेतृत्वमा ढाँट लगाएर साबुन पानीले हात धुने नियम राखेको ढाँटको जिम्मेवारीमा खटिएका स्थानीय युवा संदिप भगतले बताए ।
उनलाई वडा कार्यालयबाट नै कामको जिम्मेवारी दिएको छ ।
विहान ६ बजे देखि साँझ ५ बजेसम्म ढाटमा खटिन्छन् उनी । उनलाई सहयोग गर्न उनका साथी अनिल मण्डल हुन्छन् । अनिल भन्छन् यो हामी सबैको स्वास्थ्यको लागि हो, स्कुल पनि विदा छ ।
‘खालि समय आफ्नै गाउँका लागि काम गर्दा सबैको भलाइ हुन्छ’, उनले थपे, ‘वडा कार्यलयबाट हाम्रै स्वास्थ्यका लागि गाँउ, गाउँमा सरसफाई अभियान शुरु गरेका छन्, राम्रो काममा युवाको साथ हुनैपर्छ ।’








