‘सरकार नियन्त्रित लोकतन्त्रको अभ्यास गर्दैछ’ डा. काेइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला राष्ट्रिय राजनीतिमा छुटाउनै नहुने नाम हो । डा. कोइराला राष्ट्रिय राजनीतिमा आवश्यक भएका नेताका रुपमा चिनिन्छन् । चिकित्सक पेशाबाट राजनीतिमा उदाएका डा. कोइरालालाई कोइराला खानदानको राजनीति संहाल्ने ब्यक्तिका रुपमा समेत चर्चा गरिन्छ । यद्यपि, डा. कोइराला कांग्रेसभित्र मात्र हैन अन्य दल माझपनि लोकप्रिय रहेका छन् । प्रायः कुरा नचपाई स्पष्ट बोल्ने डा. कोइरालाको बानी छ । यसै साता डा. कोइरालालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारै बोलाएर भेटघाट गरे । प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र अल्पमतमा परिरहेको अवस्थामा डा. कोइरालालाई बालुवाटारमै बोलाएर भेट गर्दा राष्ट्रिय राजनीतिमै तरंग ल्याइदियो । प्रधानमन्त्री ओलीसँग भेट गर्ने वित्तिकै गृहनगर विराटनगर आएका डा. कोइरालासँग हाम्रा संवाददाता सुजता निङ्लेकूले गरेको कुराकानीको संक्षेपः 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट योजनाबद्ध थियो कि अप्रत्यासित ?  

कुनै नियोजित र अप्रत्यासित थिएन । उहाँसँग मेरो स्वभाविक भेट भएको हो । उहाँले बोलाउनुभयो, बोलाएर कुरा गर्ने क्रममा समसामयीक राजनीति, देशको परिस्थितिको बारेमा, लोकतन्त्रका अप्ठयाराको बारेमा र उहाँहरु कै पार्टी भित्रको अहिलेका विवादहरु र मिडियाहरुमा आईरहेका विषयमा कुराकानी भए ।  

तपाईंले त भेटमा प्रधानमन्त्रीलाई नै राजीनामा दिन सुझाउनु भएछ, उहाँले राजीनामा दिनैपर्ने स्थिति आएकै हो र ? 

सरकारका काम कारवाही हेर्दा जसरी प्रधानमन्त्री विवादित भइरहनु भएको छ त्यस विषयमा मैले उहाँको राजीनामा मागेको हो । उहाँसँगको भेटमा मात्र हैन अरु बेलापनि मैले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीसँग राजिनामा मागि नै रहेको छु । जिल्ला, जिल्लामा प्रधानमन्त्री जीको राजीनामा माग गरिएको छ । 

 सञ्चारमन्त्री गोकुल बाँस्कोटाको इस्यूलाई लिएर या अख्तियारको भूमिकालाई लिएर उहाँको राजीनामाको माग उठेको हो । मैले राजीनामा दिनुस भन्दा उहाँले ‘तपाई प्रतिपक्षमा हुनुहुन्छ, तपाई प्रतिपक्षको भूमिका खेल्दै हुनुहुन्छ, प्रतिपक्षको काम नै सरकारको विरोध गर्नु हो भनि कुरा छोट्याउनु भयो ।  

पछिल्लो समय सरकारले गरेका काम कार्वाहीलाई कसरी हेर्नुभएको छ ? 

बहुमतको सरकार छ, करिब–करिब दूईतिहाई भनौ न । अब सरकार स्थिरपनि भयो । तर, जसरी विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन भन्ने कुरा स्पष्ट देखियो दुई वर्षमा । एउटा ६ महिनामा विकास बजेट केन्द्रको १९ प्रतिशत मात्र खर्च हुन्छ । अर्को छ महिना जथाभावी हिसावले खर्च गरेर ७० देखि ९० प्रतिशत देखाउनु हुन्छ । ६ महिनामा कम्तिमा पनि ५० प्रतिशत हुनु पर्यो नि ! अर्को तिर प्रदेश सरकारको खर्चहरु हेर्यो भने १०/१२ प्रतिशत भन्दा खर्च गर्न सकिरहेको छैन ।  

राजस्व पनि कम उठिरहेको छ । उहाँहरुले आंकलन गर्नु भएको राजस्वपनि नउठ्ने भएपछि पुर्नअभ्यास गरिएको छ । दुर्भाग्य के छभने एकातिर विकास भएको छैन । अर्कोतर्फ विकास र पूर्वाधार कर भने पेट्रोल र डिजेलमा बढाइएको छ । के गर्न खोजेको हो ? अर्थतन्त्रलाई कहाँ पुर्याउन खोजेको ? अब हामीले बुझन जरुरी छ ।  

९० प्रतिशत वजेट खर्च हुनुपर्छ । नेकपाले देश बनाउने सोंच योजना बनाउन सकिरहेको छैन । देश नियन्त्रित लोकतन्त्रमा गैरहेको छ । अहिले जति पनि विधेयकहरु संसदमा छ त्यो जस्ताको त्यस्तै पास भयो भने मुलुकमा ठूलो अधिनायकवाद आउँछ । विधेयकहरु जस्ताको तस्तै पास हुने हो भने, राष्ट्र सुरक्षा नीति फेरबदल हुन्छ । सिधै राष्ट्रपतिले सेनालाई परिचालन गर्ने अवस्था छ ।  

हामी प्रादेशिक संरचनामा गैसकेको अवस्थामा सिडियोलाई अधिकार दिने कुरा आउँदैन । सिडियो त केन्द्रको मातहतको हुन्छ तर, सिडियोलाई धेरै अधिकार दिने कुरा आईरहेको छ । राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण विभाग सबै प्रधानमन्त्री कार्यालयमा आइसक्यो ।  

त्यति मात्र होइन मानव अधिकार आयोग जो स्वायत्त संस्था छ । संवैधानिक निकाय हो । त्यसलाई पनि अंकुश लगाउने कार्य भइरहेको छ । प्रेस स्वतन्त्रता, सुचना प्रविधिको बारेमा सरकार निरंकुश बन्दैछ । यी सबै कुराले के देखिन्छ भने सरकार नियन्त्रित लोकतन्त्रको अभ्यास गर्दैछ । यसले भोलिका दिन लोकतन्त्र प्रति लडेका हामीहरुलाई अप्ठयारो पर्न जान्छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त संवैधानिक निकाय भएपनि पछिल्ला दिनमा उसले गरेका कार्यहरु हेर्दा आयोग सरकारको मातहतमा होकी भन्ने महशुष भएको छ । अख्तियारको स्वतन्त्रता पनि समाप्त भएको महशुष हुन्छ । पछिल्ला कतिपय केसहरुमा सरकार र अख्तियारको मिलेमतो छ भन्ने देखिन्छ । र, सबैभन्दा डर लाग्दो न्यायपालिका स्वतन्त्र, निश्पक्ष हुनुपर्नेमा न्यायपालिकामा अहिले सरकारको छाँया पर्न थालेको छ, न्यायपालिका सरकार सामु निरिह भएको महशुस हुन्छ ।  

विभिन्न भ्रष्टाचारका विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका ठुला नेताहरु पर्नुलाई कसरी हेर्नुभएको छ ? 

भ्रष्टाचारमा शुन्य सहनशीलताको भन्ने प्रधानमन्त्रीजीको नारा खराब होइन, राम्रो नारा हो । आफ्नो पार्टीको साथीहरुलाई बचाउने अरुलाई भ्रष्टाचारको आरोप लगाएर जेल हाल्ने काम चाहिँ गलत हो । सबैलाई समान व्यवहार हुनुपर्यो । नेपालमा भ्रष्टाचार अत्यन्तै बढेर गएको छ । नीतिगत भ्रष्टाचार डरलाग्दो छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामीले कतैपनि सम्झौता गर्नु हुँदैन । यो दण्डनिय हो, यो विक्रितिलाई हटाउनै पर्छ । तर, सरकारमा बस्ने व्यक्तिले कसैलाई काखा, कसैलाई पाखा गर्न थाल्योभने भ्रष्टचार उन्मूलन हुँदैन । 

नेकपा सरकारको दुई वर्षे शासनलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?  

सरकार हरेक कोणबाट असफल भएको छ । उहाँहरु आफैं अन्तर्द्वन्द्व फस्नु भएको छ । यो विषय हाम्रो सरकारको चासोको विषय त हैन, तथापि, एउटा व्यक्ति विशेषलाई राष्ट्रिय सभामा ल्याउनका लागि संविधान संसोधन गर्नु चैं गलत कुरा हो । त्यो कदापि स्विकार्य हुँदैन ।  

त्यसो त नेपाली काँग्रेस भित्र पनि अन्तर्द्वन्द्व छ नी ? 

लोकतन्त्रमा अन्तर्द्वन्द्व हुनु स्वभाविक हो । यो नेकपा भित्र पनि भइरहेको छ, काँग्रेस भित्र पनि छ । कांग्रेसलाई विधान विपरित अगाडी बढाउने काम भयो । पार्टी सभापतिले विधान मिच्नु भएको छ । विधानमा टेकेर अगाडि बढनुस भन्ने हाम्रो मान्यता हो । विधानमा नचल्ने, दुई महिना भित्र बनाईसक्नुपर्ने विभागहरु चार वर्षमा पनि बनाउन नसक्ने अनी हिजो आएर हतारहतार विभाग बनाउने ? यो विल्कुलै गलत काम भइरहेको छ ।  

नेपाली कांग्रेसको अधिवेशनको मिति तय भइसकेको छ । आचार संहिता लाग्यो कि लागेन ? कार्यतालिका तय भइसकेको छ, क्रियाशिल सदस्यता वितरण सुरु भइसक्यो, अब आएर विभाग बनाउने ? आमन्त्रित सदस्यहरु बनाउने ? हामी नियन्त्रित लोकतन्त्रको विरोध गर्दैछौं तर, हामीभित्रै पनि नियन्त्रित लोकतन्त्रको अध्यास भइरहेको छ ।  

पार्टीको आन्तरिक विवाद कसरी हल हुन्छ ? 

पार्टीभित्र देखिएका विवाद हल सभापतिले गर्ने हो । पार्टीलाई विधान अनुसार चलाउने हो भने कुनै समस्या देख्दिन ।  

जे गर्नुभयो गलत गर्नुभयो । यसलाई सुधार्नुस भनेर भनौ, सुधार्ने ठाउँ देख्दिन । अधिवेशनको प्रक्रियामा हिँडिसकेका छौं, अधिवेशनका प्रक्रियालाई अगाडि बढाउँ । जो जुन पदमा जाने हो आफ्नो तरीकाले जाँदा पार्टी भित्रका समस्याहरु समाधान हुन्छन् ।  

अधिवेशनको कुरा चलिरहँदा तपाई सभापतिमा उठ्ने हो ?  

म मात्रै होइन, धेरैको दावि छ । म पनि एउटा दावेदार हुँ । भोली गएर साथीहरुले चाहेको खण्डमा, पार्टीलाई एक ढिक्का बनाएर अगाडी लैजानको निम्ति मेरो आवश्यक्ता भयो भने म पछि हट्दिन ।  

अहिले विराटनगर आउनुभएको कारण के हो ? 

गृह जिल्ला हो, आउजाउ भइरहन्छ । यो पटक विराटनगर सामाजिक कामका लागि मात्रै आएको हुँ । आएपछि यहाँका स्थानीय नेता कार्यकर्तासँग भेटघाट भइरहेको छ । अन्य त्यस्तो कारणहरु छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *