डा. शेखर कोइरालाले विराटनगरमा यसरी मनाए होली

फागुन २७, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आज होली पर्व मनाएका छन् । गृह जिल्ला विराटनगर आएका डा. कोइरालाले परीवार तथा पार्टीका नेता कार्यकर्ता माझ होलीको शुभकामना साटासाट गरेका छन् ।
आज विहानै विराटनगर स्थित कोइराला निवासमा डा. शेखरले पार्टीका जिल्ला तथा नगरका नेताहरुलाई अविर टिका लगाईदिँदै होलीको शुभकामना दिए । कोइराला निवासमा होली मनाउन कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बु, तेह्रथुम सभापति गोविन्द ढुङ्गाना लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
उसो त डा. कोइराला विराटनगर जाने वित्तिकै शुभचिन्तक र पार्टीका नेताहरुको भिड लाग्ने गरेकोमा होली जस्तो मित्रता र आपसी भाइचाराको सम्बन्ध विस्तार गर्ने चाडमा भिड नहुने कुरै भएन । कोरोना भाइरसको त्रासका कारण सरकारले समुहमा होली नमनाउन आग्रह गरेपछि देशभर यसपटक होली मनाउनेहरुको संख्यामा कमी आएको छ ।

आज तराईका जिल्लाहरुमा होलीपर्व धुमधामका साथ मनाइने गरिएको भएपनि कोरोना भाइरसका कारण होली खेल्नेहरुको संख्या कम छ । विराटनगरमा पनि होलीको उमंग कम भएको हाम्रा संवाददाता सुजता निङ्लेकूले जनाएकी छिन् । विराटनगर स्थित महेन्द्र चौक, बरगाडी, ट्राफिक चौक, रोडशेष चौक, पुष्पलाल चौकमा विगतका वर्षहरुमा समुहमा होली खेल्नेहरु यसपटक देखिएका छैनन् ।








