सस्तो मुल्यमा सामान दिन्छु भन्दै लाखौँ ठगी गर्ने प्रहरीको फन्दामा

चैत्र ७, झापा । नेपाली सेनामा कार्यरत हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४६ को राज कुमार राउत इलाका प्रहरी कार्यालयले नेपाली सेना हुँ भन्दै ठगी गरेको आरोपमा काँकरभिट्टाबाट पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले ‘म नेपाली सेना हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नुछ, म सामान सस्तोमा दिन्छु’ भन्दै पसलेहरुलाई प्रलोभनमा पारी  रकम ठगी गर्दै हिडेको सुचनाको आधारमा पक्राउ गरिएको बताए  । 

यसरी नक्कली आर्मी बनेर ठगी गर्थे राउतले 

घटनाक्रम अनुसार गत माघ २ गते झापा मेचीनगर नगरपालिका वडा नं. १२ चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसल सञ्चालन गरी बस्ने डाक बहादुर राईलाई ‘म नेपाल आर्मी हो तपाईलाई चाहिने सामान सस्तो मुल्यमा उपलब्ध गराई दिन्छु, गाडी चारआली आर्मी ब्यारेकमा पठाई दिनुस म गेट छेउमा हुन्छु ।’ भनि विश्वास दिलाए । 

त्यसपछि किराना पसले डाक बहादुर राईले गाडी र नगद रु एक लाख दुई हजार पठाएकोमा आफुलाई नेपाल आर्मी भन्ने राजकुमारले बाटोबाटै गाडी चालक ख्याम कुमार अधिकारीबाट नगद लिई ‘तपाई गाडी लिएर आर्मी ब्यारेक गेटमा आउनु’ भनी पैसा लिई गएको प्रहरीको भनाई छ । त्यसपछि ती चालक गाडी लिई ब्यारेक गेटमा जाँदा निज राजकुमार नभएको र निजले दिएको नम्बरमा सम्पर्क गर्दा सम्पर्क समेत नभएपछि मात्र किराना पसलेले आफु ठगिएको चाल पाएको प्रहरीको भनाई छ ।  

त्यसपछि ती किराना पसलेले खोजतलाश गरी कानून बमोजिम कारवाही गरी पाउँ भनि प्रहरी चौकी चारआली झापामा निवेदन दिए पश्चात निजलाई पक्राउ गर्न सबै प्रहरी कार्यालयमा हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हिजो काँकडभिट्टाबाटै पक्राउ गरेको हो । पक्राउ परेका राजकुमार राउतबाट प्रहरीले नगद रु,चौवन्न हजार, सिम सहितको मोवाइल एक थान तथा एक थान सिमकार्डसमेत बरामद गरेको जनाएको छ ।   

अनुसन्धानको क्रममा निजले आफ्नो नाम समेत ढाँटि फरक फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ । उसले झापाको चन्द्रगढी, चारआली, धुलावारी, बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, इटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौ स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै  झुक्काई लाखौ रकम ठगी गरेको खुल्न आएको छ ।   

निजले प्रायः सबै ठाउँहरुमा सेनाको गेट नजिक मानिस बोलाउने, पैसा लिने, त्यसपश्चात अर्को गेटबाट ब्यारेकमा छिरी सामान निकाली दिन्छु भनि जाने र आफ्नो मोवाईल अफ गरी फरार हुने गरेको पाइएको छ ।  उनले बिगत चार महिना देखि ठगी ब्यवसाय गरी दर्जनौं सर्वसाधारणलाई ठगी गरी पीडित बनाएको देखिएको छ ।   

निज उपर झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *