अभिभावक थरीथरीकाः कसैलाई सन्तान प्यारो, कसैलाई परीक्षा !

चैत्र ६, काठमाडौं । दुई–चार हप्ता अघिसम्म एसईई परीक्षा तोकिएकै समयमा ‘एनि हाऊ, सञ्चालन गराऊँ’ भन्ने पक्षमा थियो सरकार । हिजो (बुधबार) दिउँसोसम्म पनि सरकारको निर्णय थियो– ‘विश्वविद्यालय, क्याम्पस, विद्यालय सबै तत्काल बन्द गर्ने, एसईई यथावत् !’   

सो निर्णय लगतै अभिभावक, शिक्षक शिक्षिका, शिक्षाविद् लगायत सरोकारवाला पक्षहरु सामाजिक सञ्जालमा सरकारविरुद्ध खनिए । उनीहरुको आक्रोशमा सन्तानको भविष्य भन्दा पनि ‘जीवनरक्षा’ झल्किन्थ्यो । सबैको एकमत थियो– ‘परीक्षा रोक्नुपर्छ’ ।   

पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले समेत ‘कोरोना भाइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले स्कूल केही हप्ता बन्द गर्न किन हेलचक्याईं गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकास खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’ भन्दै केही दिनअघि सरकारको ध्यानाकर्षण गराएका थिए ।   

जनप्रतिक्रिया, सरोकारवालाका तर्क र विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै सरकारले बुधबार साँझतिरै फेरि अर्को निर्णय सार्वजनिक गर्यो– ‘एसईई परीक्षा पनि स्थगित’ । केन्द्र–केन्द्रमा हेल्थ डेस्क राखी पूर्ण सावधानीका साथ एसईई परीक्षा सञ्चालन गर्ने सरकारको निर्णयको विरोध गरेका तीनै अभिभावक फेरि सरकारमाथि खनिए– ‘पागल सरकार’ ! 

हेरौँ सामाजिक सञ्जालका केही टिकाटिप्पणी ।   

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखेका छन्– ‘ १ महिना अघिबाट कोठा खोजेर, भाडा तिरेर, सामान बोकेर, कति घण्टा हिँडेर गएका त्यी विद्यार्थीहरुलाइ सोध्नु कि, परीक्षा स्थगित भएर कस्तो महशुस भैराछ भनेर !’ 

– ‘अझ पहाडी भेगका विद्यार्थीहरुलाई समस्या छ । किनकि ४–५ घण्टा हिँडेर परिक्षा दिन जान समस्या । भाडामा कोठा लिएर बस्नुपर्ने त्योमाथि गरिबी । पैसाको अभाव त छँदैछ । त्यसमाथि मुखैमा आएको एसईई परिक्षा स्थगित हुँदा अझ गरिब का छोराछोरीलाई समस्या भो ! एसईई स्थगित गर्न हुँदैन भनेको होइन, तर ढिलो गर्यो निर्णय गर्न ।’ 

– ‘नेपाल सरकारको एक पैसा बुद्धि छैन । यदि बुद्धि भाको भए पहिला के हेरेर बसेको थियो त सरकार ? यस निर्णयबाट आम विद्यार्थीलाई मानसिक रुपमा कति असर र तनाब बनाई दियो भन्ने कुरा गोबर गाँठ नेपाल सरकारले बुझ्दै बुझ्दैन !’ 

एक अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले भने सकारात्मक प्रतिक्रिया राखेका छन्– ‘एसईई स्थगित भएर ऋण लाग्यो रे ! आपतकालीन परिस्थितिमा चल्दै गरेको परीक्षा पनि रोक्नुपर्छ । छोराछोरीको लासभन्दा ऋणको भारी धेरै हलुका हुन्छ । डब्लूएचओले जोखिममा राखेको देशहरुको सूचीमा छौँ हामी, सबै कुरामा भेडापन्ती देखाउन जरुरी छैन ।’ 

सरकारको निर्णयप्रति अर्को एक सकारात्मक प्रतिक्रियाः ‘अस्तिसम्म कोरोना भाइरसविरुद्ध सरकारले कुनै कदम चलाएन रे, सतर्कता अपनाएन रे । अहिले सतर्कता अपनाउदा गलत निर्णय गर्यो भन्ने ? आपतकाल भनेको के हो, अर्थ बुझाइदिनुपर्यो सरकार यी घाँसहरुलाई !’ 

वास्तवमा अभिभावक के चाहन्छन् ? परीक्षा या सन्तानको स्वास्थ्य जीवन ?   

अभिभावक दुवै चाहन्छन्, जुन अहिलेको अवस्थामा अलिकति कठिन छ । परीक्षा भनेको विद्यार्थीको भविष्यको एक खुट्किलो हो, जुन अभिभावको एक–एक थोपा पसिनाबाट बनेको छ । सन्तानको जीवन त झन् प्राण प्यारो भइनै हाल्यो । तर अभिभावकले के बुझ्नुपर्यो भने अहिले नेपालमा मात्रै होइन, विश्वभर कोरोना संक्रमणको महामारी फैलिएको छ ।   

संक्रमण फैलिएका हरेक देशका अभिभावकले एक मात्र विकल्प रोज्नुपर्ने अवस्था छ– ‘परीक्षा या सन्तानको स्वास्थ्य÷जीवन ?’ तपाईँको सन्तानको जीवन जोखिममा नपार्ने उद्देश्यले नै सरकारले एसईई परीक्षा स्थगित गरेको हो ।   

नेपालमा मात्रै होइन दक्षिण कोरिया, जापान, हङकङ, बहराइन, यूएई, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भारत लगायत थुप्रै मुलुकले समेत विद्यालय लगायत शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेका छन् । अमेरिकाका पनि धेरैजसो राज्यमा विद्यालयहरु बन्द छन् ।   

बेलायतले भने अहिले विद्यालय तथा शैक्षिक संस्था बन्द गर्नुपर्ने गरी भाइरस नफैलिएको बताएको छ । यद्यपी नेपालमा पनि अवस्था यही छ तर उच्च सतर्कता तथा सावधानी स्वरुप सरकारले यो कदम उठाएको हो, जुन प्रशंसनीय नै छन् ।   

नेपाल सरकारले हिजो मात्रै २५ जनाभन्दा धेरै मानिस अब भेला नगर्न, मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरूः सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, पौडी पोखरी, डान्सबार लगायत स्थलहरू आगामी वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।   

अत्यावश्यक काममा बाहेक बाहिर घुमफिर नगर्न पनि भनेको छ । यसमा विरोध किन ? 

यस्तो अवस्थामा विरोध भन्दा पनि हामीले कोरोनाको जोखिम न्यूनिकरण गर्न सरकारलाई सहयोग पुर्याउनुपर्छ । परीक्षा भनेको केही महिनापछि सञ्चालन गर्न पनि सकिन्छ तर जीवन ? फेरि आउँदैन ! 

त्यसैले विद्यालय बन्द भयो भनेर चिन्तित हुने भन्दा पनि बच्चाहरुको सरसफाईमा विशेष ध्यान दिई संक्रमणबाट कसरी बच्ने भन्ने कुरा बुझाउनुपर्छ । बच्चाहरुलाई डर देखाउनु हुँदैन त झनै हुँदैन । उनीहरुलाई हामी रोगबाट सुरक्षित छौं भनेर आश्वस्त बनाउनुपर्छ, असुरक्षाको भावना पैदा गर्नुहुँदैन । 

शिक्षाविदका सुझाव अनुसार छुट्टीका समयमा बच्चाहरु मोबाइलमा गेम खेलेर बस्ने हुँदा उनीहरुलाई मोबाईलबाट टाढा राखी नयाँ नयाँ रमाइला खेलहरु खेलाउनु उचित हुन्छ । साथै उनीहरुको अध्ययनमा पनि विशेष ध्यान दिनुपर्छ ।   

कथाका किताब लगायत उनीहरुले मन पराउने खालका पाठ्य सामग्री दिएर पनि बिदाको सदुपयोग गराउन सकिन्छ । साथै चित्रकला सिकाउन पनि सकिन्छ, बालबालिकाको इच्छा अनुसार । यसले उनीहरुको पठनपाठनमा सुधार ल्याउँछ ।   

बच्चाहरुलाई छाडा छोडेमा बिग्रने सम्भावना हुन्छ । सकेसम्म घरबाट टाढा नलगिएकै राम्रो, यदि आवश्यक परेमा अनिवार्य मास्कको प्रयोग गराउँदा उनीहरु अझै सुरक्षित हुन सक्छन् ।   

यतिबेला हामीले एक–अर्कालाई आरोप लगाउने, दुश्मनी साध्ने, सरकारविरुद्ध खनिने भन्दा पनि आफू र आफ्नो समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने पक्षमा ध्यान केन्द्रित गर्नुपर्छ ।   

कोरोनाको जोखिमलाई पैसा कमाउने ‘दाउ’ का रुपमा लिएर कालोबजारी गरी दैनिक उपभोग्य वस्तुको मूल्य बढाएर झन् जोखिम बढाउनु उपयुक्त हुँदैन । सरकारलाई दोष थुपार्ने भन्दा पनि हामी सबै नागरिक सचेत हुनुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *