साहित्यकार शिव प्रधानको उपन्यास ‘रुदिना’को समीक्षा, के छ ‘रुदिना’ भित्र ?

चैत्र २, धरान । साहित्यकार शिव प्रधानको ‘रुदिना’ उपन्यासको समीक्षा गरिएको छ । साहित्यकार प्रधानद्वारा लिखित नारी प्रधान उपन्यास ‘रुदिना’को आइतबार धरान-१० स्थित क्लिक धरान डटकमको कार्यालयमा आयोजित कार्यक्रममा समीक्षा गरिएको हो ।
उपन्यासको समीक्षा साहित्यकार तथा पूर्व सांसद कुन्ता शर्मा, प्राध्यापक तथा साहित्यकार शरण कुमार राई लगायतले गरेका थिए ।
नारी प्रधान उपन्यास ‘रुदिना’ले वर्गीय, नारी संवेदनालाई यथार्थमा चित्रण गरेको समीक्षकहरूले बताएका छन् । लेखक साहित्यकार शर्माले आफ्नो जीवनमा समेत मेल खाने यस उपन्यासमा गाउँले परिवेशकी एक नारीको जीवन चित्रण गरिएको जानकारी दिए ।

शर्माले २ सय पृष्टकोे सो पुस्तकमा लेखकको भोगाइलाई नै प्रस्तुत गरेको र एउटा पुरुष साहित्यकार भएर पनि महिलाको गहन विचारलाई प्रस्तुत गरेकोमा आफूलाई खुसी लागेको बताइन ।
शर्माले सम्भावना र चुनौतीको खोजीमा रहेका साहित्यकारले अबको दिनमा उपन्यासको क्षेत्रमा आशावादी रहन सक्ने बाटो पनि देखाएको बताइन् ।
त्यस्तै प्राध्यापक शरण कुमार राईले नारी पात्रलाई प्रस्तुत गरेको साहित्यमा नारीले विदेश जानलाई कति संर्घष गरेको हो भन्ने कथालाई जोडेको बताए । उनले उनै नारीले दुःख, सुख पछि पुनः स्वदेश नै किन फर्किइन भन्ने कुराको उठान गरेको पनि बताए । साथै राईले यो उपन्यास एक प्रकारको लागुऔषध दूव्र्यसनिको कथा पनि भएको बताए ।
यस अघि साहित्यकार प्रधानको छरिएको सिन्दूर कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । उनको यो पहिलो उपन्यास हो । कार्यक्रममा धरानका विभिन्न क्षेत्रका साहित्यकारहरू तथा पत्रकारहरूको सहभागिता थियो ।
शिव प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा पत्रकार महासङ्घ सुनसरीका सह सचिव दिनेश गजमेर, महिला सञ्जालकी अध्यक्ष सविता राई, पत्रकार प्रतिमा विवश राई, साहित्यकार तथा कवि म राई गोठाले लगायको उपस्थिति थियो ।








