डडेल्धुरामा ३६ जना क्वारेन्टाइनमा, ९१३ विदेशी नागरिक फर्किए घर

फाइल तस्विर
चैत्र १६, काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएका मध्ये ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले चार स्थानीय तहमा तयार भएका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको जानकारी दिए ।

त्यस्तै सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले लुक्लालगायत गन्तब्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तब्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिए । यसरी काठमाडौँमा जम्मा भएका ९१३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तब्यतर्फ लगेका हुन् ।
फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्ट्रेलिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ ।
बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो ।
नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा युरोपेली मुलुकका नागरिक नेपाल आएका थिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन् । रासस








