महिला माथि हुने विभेद भान्साकोठा देखि कार्यालयसम्म

आज ११० औं अन्तराष्ट्रिय दिवस, अर्थात विश्वले नारीको सम्मानका लागि तय गरेको दिन । हामी नेपालमा पनि सरकारी, गैरसरकारी तहबाट आजको दिनलाई भब्यताका साथ मनाइरहेका छौं । महिला मुक्ति आन्दोलनको यो विशेष दिनमा सम्पूर्ण नारीहरुमा समाज रुपान्तरण, देश रुपान्तरणमा पुरुष सरह लड्न सक्ने शक्ति प्राप्त होस शुभकामना दिन चाहन्छु ।  

हामीले ११० औं अन्तराष्ट्रिय दिवस मनाईरहँदा म आफ्नै देशका नारीहरुले धार्मिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनैतिक, सामाजिक र शारिरीक रुपमा भोग्नु परेको अवस्थाका विषयमा चर्चा गर्न चाहन्छु ।   

धार्मिक विभेदः चुल्हो देखि ओछ्यानसम्म 

महिला मुक्ति आन्दोलनको कुरा गर्दा सबैभन्दा जटिल रुपमा उठ्दै आएको आवाज हो धार्मिक विभेद । वैदिक पूर्वीय मान्यता र सभ्यताको समाजमा ज्यादातर महिला धार्मिक मुल्य मान्यताका कारण विभेदको शिकार भइरहेका छन् । यो विभेद भान्सा कोठाबाट शुरु भएर सुत्ने कोठा हुँदै मन्दिरसम्म पुगेको छ ।   

खासगरी महिलाहरु महिनावारी हुँदा बढि शिकार हुन्छन् । महिनावारी भएको महिलाले छोएको कुनैपनि चिज खानु हुँदैन, महिनावारीमा महिलालाई छुनु हुँदैन भन्ने धार्मिक अन्ध विस्वास छ । यहि अन्ध विस्वासका कारण नेपालका पश्चिमी पहाडी जिल्लाहरुमा दशकाैं देखि छाउपडी प्रथा विद्यमान छ । महिलाहरु हरेक महिनाका चार दिन आफ्नो ज्यान हत्केलामा राखेर जिउन विवस छन् । धार्मिक अन्ध विस्वासकै कारण महिलाहरुलाई बोक्सी, कुल्ठा, डायन जस्ता आरोप लगाउँदै शारीरिक मानसिक दण्ड, यातना दिने तथा उनीहरू माथि घरेलू हिँसा गरिन्छ । नेपालको कानुनले धार्मिक अन्ध विस्वासमा गरिने हिँसालाई अपराधका रुपमा ब्याख्या गरेपनि समाजमा उक्त कानुनको पालना कमै भएको छ ।   

मासिक श्राव भएका महिलाले मन्दिरमा पुजा गर्नु पाप मानिन्छ । धार्मिक आस्थाका नाममा गरिने विभेद खासगरी सनातन हिन्दुधर्मावलम्बीको बाहुल्यता भएको समाजमा ब्याप्त छ ।   

सांस्कृतिक विभेद 

धार्मिक विभेदसँगै जोडिएर आउने अर्को विभेद हो सांस्कृतिक विभेद । महिनावारी भएका महिलाले कुनैपनि सामाजिक कार्य जस्तैः पुजा, ब्रतबन्ध, विवाहदेखि मृत्युपछि गरिने वैदिक कार्यमा पनि सहभागिता जनाउनु हुँदैन भन्ने अन्ध विस्वास छ । कसैको मृत्युमा गरिने धार्मिक कार्यमा महिनावारी भएका महिला बञ्चित हुनुपर्छ । कतिपय अवस्थामा त्यस्तो बेला महिनावारी भइहालेमा पाप र धर्मको कुरा निकालेर ती महिलालाई अपहेलित गरिन्छ । महिनावारी हुँदा महिलाहरू शारीरिक रूपमा कमजाेर हुन्छन्, त्यस हिसाबले उनीहरूलाइ काममा लगाउनु गलत हाे तर, समाजमा ठिक विपरित महिनावारी हुनु भनेकाे पाप गरेकाे भन्ने भ्रम छ । यसलाइ चिर्न आवश्यक छ । 

आर्थिक विभेदः 

महिलालाई पुरुष सरह अगाडी बढ्न नदिने अर्को विभेद हो आर्थिक विभेद । आर्थिक विभेद हिमाल पहाड तराई सबैतिर छ । महिलालाई चुल्हो चौकोमा सिमित गर्नुपर्छ । महिलालाई पैसा चाहिँदैन । श्रीमानले कमाएको सम्पत्तिमा महिलाले आँखा लगाउनु हुँदैन । महिलाले घरबाहिर काम गर्न जानु हुँदैन । महिलाको कमाईमा बाँच्ने पुरुष नामर्द हो । पैत्रिक सम्पत्तिमा महिलाको अधिकार छैन भन्ने सोच समाजमा छ । यस्तो सोच शहरी समाजमा भन्दापनि गाउँघरमा जरो गाडेर बसेको छ । अझैपनि तराई मधेशका महिलाहरु घरको चौकोश नाघेर बाहिरी दुनियाँमा जान डराउँछन् । महिलाहरु पुरुषको कमाईमा सन्तुष्ठ हुनुपर्छ, घरभन्दा बाहिरका मान्छेसँग शिर उठाएर बोल्नु हुँदैन भन्ने मान्यता छ ।   

शैक्षिक विभेद 

हुन त शैक्षिक विभेद आर्थिक विभेद अगाडी नै हुने कुरा हो । भन्नुको तात्पर्य, ग्रामिण भेगमा अझैपनि छोरीलाई पढाउनु हुँदैन भन्ने चलन छ । सरकारले कक्षा १२ सम्म छोरीलाई निःशुल्क शिक्षाको ब्यवस्था गरेको छ तर, अझैपनि हाम्रो गाउँघरमा छोरीहरुलाई स्कुलसम्म पुग्ने वातावरण तयार भएको छैन । सचेतनाका अभावले तराई मधेश र भौगोलिक रुपमा दुर्गम क्षेत्रका समाजमा छोरीलाई पढ्ने वातावरण छैन । अझ ‘छोरी भनेको अर्काको घर जाने जात’ भनेरै परिवारभित्र विभेद गरिन्छ । आजकल शहरी क्षेत्रमा छोराछोरीलाई समान शिक्षा दिने गरीएपनि गाउँघर तिर भने छोरालाई बोर्डिङमा पढाएर छोरीलाई सरकारी स्कुलमा पढाउने चलन छ ।   

राजनैतिक विभेद 

जनताको हातबाट लेखिएको संविधानले राज्यका हरेक निकायमा दुई तिहाई महिलाको प्रतिनिधित्वको ग्यारेण्टी गरेको छ । तर, राजनीतिक क्षेत्रमा लागू भएकाे छैन । नेपालका कुनैपनि राजनीतिक दलले महिलालाई संविधानले नै प्रदत्त गरेको अधिकार कार्यान्वयन गर्न सकिरहेका छैनन् । दलहरुको केन्द्रीय तहमा पुग्ने महिलाहरुको संख्या न्यून छ । मन्त्रिपरिषद्मा पुग्ने महिलाकै कुरा गर्दा औंलामा गन्न सकिने महिला मन्त्रीहरु छन् । मुलुकको निर्वाचन पद्दतिमा समेत महिला उम्मेद्वारलाई सकेसम्म नउठाउने उठाइहाले पनि प्राथमिकतामा नपार्ने चलन छ । महिला राष्ट्रपति भइसकेको मुलुकले अहिलेसम्म महिला प्रधानमन्त्री पाउन सकेको छैन ।   

सामाजिक विभेद 

२१ औं शताब्दिमा हाम्रो समाज अझैपनि पुरातन सोच र पितृसत्तात्मक मुल्य मान्यताबाट ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक, शैक्षिक रुपमा समाजमा खुलेर हिँड्न नदिने भनेको सामाजिक विभेद नै हो । महिला भनेका पुरुषका दासी हुन् । उनीहरुलाई समाजमा टाउको उठाएर बोल्ने छुट छैन भन्ने सोचका कारण पनि महिलाहरु आफुमाथि भएको कुनैपनि विभेद र हिंसाका विरुद्ध खुलेर कुरा गर्न सक्दैनन् । पुरुषले दिनभर जुवातास खेलेर राती घरमा श्रीमती कुट्दा श्रीमतीले आफु विरुद्धको हिंसालाई समाजमा पोख्दा, न्याय खोजे, माइती र घर दुवैतर्फको इज्जत माटोमा मिल्छ भन्ने गलत अफवाह फैलाउँदा पनि महिला हिंसा बढेका हुन् ।   

पहाड तराईमा बोक्सी प्रथा, दाइजो प्रथाबाट महिलामाथि सामाजिक विभेद र हिंसा हुन्छ भने शहरमा आजकल शिक्षित परिवार र धनाढ्य परीवारमा परम्परागत भन्दापनि आधुनिक हिंसा हुन्छ । अर्थात, शिक्षित परीवारमा बुहारी, श्रीमती माथि यौनहिंसा, घरेलु हिँसा बढेका छन् ।   

योसँगै समान कामको समान ज्याला महिलाले पाउन सकिरहेका छैनन् । पुरुषले दिनभर काम गर्दा पाउने ज्याला र महिलाले त्यही काम गर्दा पाउने ज्यालामा आकाश जमिनको फरक छ ।   

शारिरीक विभेद 

शारिरीक विभेद ठाउँ स्थान र समुदायमा मात्र छैन । कुनै वर्ग उमेर समुहमा मात्र छैन । बलात्कार, बलात्कारपछिको हत्यामा ३ वर्षकी बालिकादेखि ७० वर्षकी हजुरआमा समेत परेकी छिन् । शारिरीक रुपले अशक्त मात्र हैन, मानसिक रुपमा विच्छिप्त महिला पनि परेका छन् । तराईका झुपडीमा मात्र हैन राजधानीका संभ्रान्त परीवारमा पनि महिला हिँसा र बलात्कारका घटना दिन प्रतिदिन भइरहेका छन् । शहरी क्षेत्रमा दिन दहाडै सार्वजनिक यातायातमा समेत महिला हिंसाका घटना घटिरहेका छन् ।   

महिला हिंसामा महिलाको भूमिका 

महिला माथिको हिंसाका स्वरुप जस्तो सुकै हुन् सबै घृणित र निन्दनीय छन् । तर, महिलामाथि हुने विभेद र हिंसामा महिलाकै भूमिका देखिनु चैं ठूलो समस्या हो । साथी, छोरी, नन्द, बुहारी, श्रीमती, सासु हामी महिलाले निर्वाह मुख्य भूमिका हुन् । तर, हामी कहिँ न कहिँ आफ्नो भूमिकाबाट बाहिरिइरहेका छौं कि ! जस्तो, हामी श्रीमती हुँदा श्रीमानले अर्की केटीसँग चक्कर चलाए श्रीमानलाई भन्दा त्यो केटीको चरित्रमा प्रश्न उठाउँछौं । नन्दको रुपमा बुहारी भएर घर भित्रिएकी भाउजु माथी हिंसा गर्न लाग्छौं, हामी सासु भइसकेपछि पनि बुहारी माथि हिंसा गर्न सक्छौं ।   

मेरो भन्नुको तात्पर्य, हामी कतै आफ्नै कारणले महिला माथिको हिंसालाई बढावा त दिइरहेका छैनौं ? यदी हामी महिलाले आफ्नो भूमिका पनि महिलामैत्री बनाउन सकेको खण्डमा महिला माथिको विभेद कम गराउन सहयोग पुग्छ । ‘आफ्नो आङ्को भैंसी नदेख्ने अरुको आङ्को जुम्म्रा’ जस्तो प्रवृत्ति हटाउनु पर्छ । भने, महिला माथि हुने कुनैपनि विभेद र हिंसा न्यूनिकरणको अभियान पहिला आफ्नै घरभित्रबाट शुरु गर्नुपर्छ । श्रीमानले श्रीमतीलाई बुहारीले सासुलाई सासुले बुहारीलाई नन्दले आमाजूलाई जबसम्म सम्मानपूर्वक हेर्ने वातावरण बन्दैन तबसम्म महिला माथि हुने विभेद कम हुँदैन ।   

समाज परिवर्तन पनि भइरहेछ 

माथि उल्लेखित विषयले समाजमा हिँसा मात्र छ है भनेर भन्न खोजिएको पक्कै हैन । समाजमा परिवर्तन पनि भएको छ । खासगरी जनान्दोलन ०६२/०६३ पछिको राजनीतिक परिवर्तनले महिला माथिको विभेद र हिंसा कम गर्न ठूलो सहयोग पुगेको छ । गाउँगाउँमा महिला हिंसाका विरुद्ध महिलाहरु नै संगठित हुन सकिरहेका छन् । समाजमा घरेलू हिंसा, यौन हिंसा, सामाजिक, आर्थिक तथा शारिरीक हिंसाका विरुद्ध आवाजहरु उठ्न थालेका छन् ।   

संविधानले नागरिकताका सवालमा महिला पुरुषको समान अधिकार प्रदत्त गरेको छ । गाउँगाउँमा सहकारी, लघुवित्त कार्यक्रम मार्फत महिलाहरु आत्मनिर्भरता तर्फ उन्मुख भइरहेका छन् । पहिला घरबाट निस्कन डराउने महिला आजकल बजार गएर आफुले उत्पादन गरेका सामान विक्रि गरी हातभरी पैसा लिएर फर्कन सक्ने भएका छन् । गाउँगाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने सचेतना फैलिएको छ । तर, यी कुराहरु मुलुकका ७७ वटै जिल्लाका सबै वर्ग समुदाय र तहमा पुग्न भने पक्कै सकेको छैन । राज्यले आफ्ना नीति तथा कार्यक्रम स्थानीय तहमा महिलाका घरसम्मै पुर्याउन नसक्दा गाउँघरमा महिला माथिको विभेद न्यूनिकरण गर्न सकिएको छैन । खासगरी तराई मधेशमा रहेका दलित, अल्पसंख्यक, मुस्लिम र कमजोर आर्थिक अवस्था भएका समुदायमा महिला पुरुष विच ठूलो विभेद छ ।   

हामीले हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवस मनाईरहँदा हामीले गर्ने कार्यक्रमहरु पाँचतारे होटलमा गोष्टिमा मात्र सिमित भइदिएका छन् । महिलामाथिको विभेद अन्त्य गर्ने हो भने हामीले ३६५ दिन नै महिला हिंसा विरुद्धको आवाज घनिभूत गराउन सक्नुपर्छ । गाउँगाउँ झुपडी झुपडीका आवाज मुखरित गर्नुपर्छ ।   

घर हाँक्ने, कार्यालय हाँक्ने, टेम्पो चलाउने, प्लेन चलाउने मात्र नभएर चन्द्रमामा सम्म महिलाहरु पुगिसकेका छन् । अबपनि पृथ्वीको आधा जनसंख्या महिलालाई कमजोर ठानेर उनीहरुलाई दवाएर शासन गर्ने सोच बनाइन्छ भने त्यसले समाजमा अर्को विद्रोह जन्माउन बेर लाग्दैन । तसर्थ अब विभेद रहित समाज निर्माणका लागिपनि महिलालाई पुरुष बराबर अधिकार मात्र हैन प्रतिनिधित्व पनि गराएर अगाडी बढौं ।   

अन्त्यमा,   

हे नारी महान, गर्छ्यौ रचना सृष्टि यो समाज । 

हे नारी महान, काली दुर्गा लक्ष्मी सरस्वती भनि उपमा दिई गर्छन सम्मान यो समाज । 

हे नारी महान, कुलटा अलक्षिण बोक्सी बेस्या भनि गर्छन अपमान यही समाज । 

हे नारी महान, कहिले प्रयोग हुने बस्तु त, कहिले सजावटको समान बनाउछन् किन यो समाज ? 

हे नारी महान, कहिले सबैलाई खुसी पार्ने सबको लागि काम गर्ने मेसिन मात्र । 

हे नारी महान, कहिले आमा, कहिले श्रीमती, कहिले दिदि बैनी, त कहिले छोरी वुहारीको भूमिकामा । 

हे नारी महान, भूमिका छ फरक–फरक, दोहोरो–तेहरो तै पनि लड्दैछौ होस् सबै अधिकारहरु समान । 

हे नारी महान, उखेलर फालिदेउ ती समाजका सत्रुलाई जसले धावा बोल्छ तिम्रो अस्मिता माथि । 

हे नारी महान,   

धन्य छ तिमी महान कालारा जेट्किन जसले लड्यौं पहिला श्रमिक महिलाको सम्मान अधिकार र ज्याला खातिर । 

हे नारी महान, फेरीपनि लडिरह्नुछ सधै, 

अधिकारहरु माथि शैक्षिक, पारिवारिक कानुन, सामाजिक कुसंस्कार विरुद्ध 

समान ज्याला, लैङ्गिक समानता र समावेशीताका लागि । 

चाैधरी, पूर्वराज्यमन्त्री, नेकपाकी केन्द्रीय सदस्य तथा महिला अधिकार अभियान्ता हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *