कांग्रेसमा छिर्यो कोरोना

नेपाली कांग्रेसको राजनीतिलाई कोरोना संक्रमण शुरु भएको छ । आसन्न चौधौं महाधिवेसनका सभापतिका दावेदार मानिएका र चिकित्सक समेत रहेका डा. शेखर कोइरालाले कोरोना आतंकको वेवास्ता गर्दै पार्टी सुदृढिकरण र संगठन विस्तारलाई अभियानलाई तिब्रता दिनाले पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहका आसेपासेलाई राजनीतिक कोरोनाले ग्रस्त बनाएको छ। 

यसको संकेत डा. शेखरका सहयोगी दिनेश थपलियाको सार्वजनिक अभिव्यक्तिले स्पष्ट देखाउँछ। प्रवक्ता विश्वप्रकाश शर्माले घुमाउरो पारामा सभापति देउवाको ज्वरो रोक्न डा. कोइरालालाई क्वारेन्टाइनमा काठमाडौंमै राख्न संदेश दिएको बुझ्न गाह्रो छैन । बाहिरबाट कांग्रेस प्रवक्ता शर्माले डा. कोइरालालाई देश दौडाहामा रहँदा कोरोना भाइरसबाट बच्न सुझाब दिएपनि भित्रि संकेत भने डा. कोइरालालाई कार्यकर्ता नभेट्न निर्देशन दिएकै हुन् । शर्माले मिडियामा जतिसुकै कोकोहोलो गर्दै पार्टीको कार्यक्रममा डा. कोइरालालाई कोरोना सतेचना फैलाउन आग्रह गरेको भनेपनि उनलाई सभापति देउवाले कोइरालालाई रोक्न भनेकै हुन् । 

नेपाली कांग्रेसभित्र जनताकै घरदैलो सम्म पुग्ने नेतामा गनिन्छन् डा. शेखर कोइराला । साथै सबैभन्दा बढि जिल्ला दौडाहा गर्ने र कार्यकर्ता भेटघाट गर्ने नेतामा पनि पर्छन। उनी बैचारिक रूपमा रामचन्द्र पौडेल गुटमा देखिए पनि यो उनको कांग्रेस सभापति शेरबहादुर देउवासँग भिड्ने रणनीति जस्तो मात्र देखिन्छ। कांग्रेस भित्रका वर्तमान गुट भन्दा भिन्न तवरले उनले देउवा, पौडेल र सिटौलाबाट आजित भएकाहरुलाई एकत्रित गरेर विस्तारै तिनै नेताबाट अबको कांग्रेस नचल्ने संदेश प्रवाह गर्दै आगामी चौधौं महाधिवेसनमा आफुलाई देउवा विरुद्द सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत गर्ने कसरत गर्दैछन् भन्ने कुरा क्रमशः प्रष्ट हुँदैछ। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति समेतको अनुभव भएका उनी कोइराला परिवारको सदस्यको हैसियतले राष्ट्रिय राजनीतिको दाउपेचका भुक्तभोगी हुन् । १० वर्ष शशष्त्र जनयुद्ध गरेको तत्कालिन नेकपा माओवादीसँग वार्ताकालागि मध्यस्तकर्ताका रुपमा स्वर्गिय गिरिजा प्रसाद कोइरालाले यिनै डा. शेखरलाई मुख्य जिम्मेवारी दिएका थिए । गिरिजा प्रसादका विस्वासपात्र डा. शेखरले दिल्लीमा तत्कालिन विद्रोही पक्षसँग सात दलले १२ बुँदे सहमति गर्दा निर्वाह गरेको मध्यस्तकर्ताको भूमिकाले नेपालको राजनीतिमा ठूलो अर्थ राख्दछ । १२ बुँदे सहमति पछि निर्माण भएको राजनीतिक परिवेश, अन्तराष्ट्रिय सम्बन्ध र परिवर्तनमा डा. शेखरले पार्टी भन्दा माथि उठेर काम गरेका कारण पनि उनी आम जनताका नजरमा सम्मानीत छन् । जुन कुरा नेपाली कांग्रेसभित्र सत्ता र कुर्सीको लागि मरिहत्ते गर्नेहरुलाई पाच्य भइरहेको छैन ।   

गत १३ औं महाधिवेसनमा डा। शेखरले रामचन्द्र पौडेलको समूहबाट महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरे। कोइराला परिवारको विरासत थाम्ने नाममा पौडेल गुटले उनी भन्दा उनका भाइ डा. शशांक कोइरालालाई लाई अगाडी बढाउँन चाह्यो। बीपी कोइरालाको छोरा हुनु डा. शशांकको पूँजी थियो । उनको त्यो भन्दा ठूलो पूँजी भनेको उनी मृदुभाषी, कसैलाई नबिझाउने भएपनि निर्णय क्षमता शून्य रहनु थियो । पौडेल र देउवा दुबैका निमित्त उनी “पुतली महामन्त्री” का रूपमा रहनेमा दुवै विश्वस्त थिए र पौडेल समूहका कार्यकर्ताको मतले मात्र उनी पराजित हुने देखेर शेरबहादुर देउवासँग गठबन्धन गरेर झिनो मतले निर्वाचित भए । देउवाका घोषित उम्मेदवार अर्जुन नर्सिङ्ग केसी हेरेको हेर्यै भए ।   

आफ्नो चार वर्षे कार्यकालमा डा. शशांकले कांग्रेस सुधारको निमित्त के गरे भनेर कुनै कांग्रेसी कार्यकर्तालाई जानकारी छैन, बरू हालसालै उनले उत्तरप्रदेश भ्रमण गरेर मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको समाचार सार्वजनिक भएको छ । पार्टी तहननहस भइरहेको अवस्थामा महामन्त्रीले देशभित्रै अभियान चलाउनु पर्नेमा उत्तरप्रदेश गएर आदित्यनाथलाई ढोगभेट गरेको प्रति कांग्रेसीहरु नै रुष्ट देखिएका छन् । यसै सेरोफेरोमा डा. शेखर भने पार्टीको कामका लागि अहोरात्र जिल्ला भ्रमणमा व्यस्त छन् । पूर्वमेची देखि पश्चिम महाकालीसम्म पुगेका छन् । 

 डा. शेखरको जिल्ला भ्रमण र उनी प्रति देखिएको कार्यकर्ताको उत्साहले सभापति देउवा र सभापतिको आकांक्षा राख्ने रामचन्द्र पौडेल त्रसित छन् । देशमा कोरोना आतंक छ, डा. कोइराला जिल्ला भ्रमणमा व्यस्त छन् । भ्रमण रोक्ने राजनैतिक आधार पनि छैन, यसै गरि घुमिरहे भने महाधिवेसनमा उथलपुथल गर्ने भए भन्ने भय पनि छ उनीहरुमा ।   

१३ औं महाधिवेसनमा सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार तथा लोकप्रिय युवा नेता गगन थापा र प्रदिप पौडेल समेत डा. शेखरको साथमा लाग्न थालेका र स्वयम् कृष्ण सिटौला समेत डा. शेखरलाई सभापति बनाउन इच्छुक देखिएको अवस्थाले सभापति देउवा र नेता पौडेलको वरिपरी परिक्रमा मात्र गरेर पद हासिल गर्ने नेताहरु गोपालमान श्रेष्ठ, मीन विश्वकर्मा, प्रकाश शरण महत, रमेश लेखक, रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, दिलेन्द्र बढु लगायतलाई राजनैतिक कोरोना संक्रमण शुरु भैसकेको छ र प्रवक्ता शर्माको कोरोना जागरण सम्बन्धी डा. शेखरलाई टेलिफोन संदेश यसैको संकेत हो भनेर सहजै बुझ्न सकिन्छ ।   

डा. शेखरको सक्रियताले कांग्रेस कार्यकर्ता माझ नयाँ उर्जा संचार गरेको छ । कांग्रेस भित्रका “गणेश प्रबृत्ति” हरुलाई किनारा लगाउने मार्ग चित्रण गरेको छ । तर, उनको तगारो भनेको विगत १३ औं महाधिवेसनको जस्तै उनकै भाइ डा. शशांक बन्ने निश्चित देखिन्छ । महाधिवेसनको आसपासमा रामचन्द्र पौडेलले बी.पी. का छोरा नै उपयुक्त भन्नेछन, देउवाले पुनस् “पुतली महामन्त्री” खोज्नेछन । 

हालैका दिनमा कोइराला परिवार एक छ र परिवार भित्रबाट सहमतिमा एक जनाले सभापतिमा उम्मेद्वारी दिने संदेश पनि डा. शेखरले केही दिन अगाडी घोषणा गरेका छन् । गिरिजा पुत्री सुजाता कोइरालाले डा. शेखरलाई नै सभापति उम्मेदवार स्वीकारिसकेको देखिन्छ भने डा. शशांक यस मामलामा अझै मौन देखिन्छन । डा. शशांकले परिस्थिति नबुझेको जस्तो देखिदैन तर उनका आसपासका केहि “गणेश प्रबृत्ति” हरुको रोजी रोटी खोसिने अवस्थाको दवावमा उनी छन् । सकेसम्म आफु सभापति उठ्ने तर सम्भव नभएमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाइ उचालेर आफु महामंत्रीमै उठ्ने उनको भित्रि रणनीति बन्न सक्छ ।   

रोगकै रूपमा नेपालमा कोरोना महामारी शुरु नभएता पनि कांग्रेस भित्र राजनैतिक कोरोना महामारी शुरु भएको देखिन्छ । जति जति महाधिवेसनको मिति नजिकिँदैछ । त्यतिनै अन्य महामारीहरु पनि शुरु हुने स्पष्ट छ । हेर्नु छ, डा. शेखरको जागरण अभियानले कांग्रेसलाई महामारी मुक्त बनाउन सक्छ या सक्दैन ? विगत महाधिवेसन जस्तै अन्तिममा उनले घुंडा टेक्छन या पर्यो भने आफ्नै परिवारमा पनि बिद्रोह गर्ने क्षमता राख्दछन ? समयले प्रष्ट पार्दै जाला ।   

यति कुरा चैं प्रष्ट छ कि, देउवा, शशांकको यस्तै रवैया पार्टी भित्र चलिरहे कांग्रेसको राजनीति अवसान तर्फ उन्मुख हुँदैछ । जसरी चीनको एउटा शहरबाट फैलिएको कोरोना भाइरस विश्वब्यापी भइरहेछ । त्यसैगरी कांग्रेसभित्र देउवा र शशाँक प्रवृत्ति बढ्दै गए अर्को निर्वाचनसम्म कांग्रेस एकादेशको कथा नहोला भन्न सकिन्न । सबैलाई चेतना भया । 

प्रतिक्रिया

One thought on “कांग्रेसमा छिर्यो कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *