प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

चैत ९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। 

‘आज ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने सूचना आएको छ,’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले भने। बैठक मुख्यत: विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ। बैठकमा हालसम्मको कामको समेत समीक्षा हुने बताइएको छ। कोरोना संक्रमणको सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत आजको मन्त्रिपरिषद बैठकले गर्ने स्रोतले जनाएको छ।   

यसअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। उक्त बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ। यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन्।   

सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ। चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट, छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *