एक लाख सहयोगको घोषणा गर्दै वर्षाले भनिन्– ‘हामी नेपाली कसैलाई केही नहोस्’

चैत्र १६, काठमाडौं । नायिका वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषमा एक लाख रकम सहयोग गर्ने घोषणा गरेकी छिन् । देशभर लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेहरुका लागि उनले प्रधानमन्त्री राहत कोषमा एक लाख जम्मा गर्ने घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूले सहयोग गर्ने घोषणा गरेको जानकारी गराउँदै वर्षाले भनिन्– ‘सुरक्षित हुन गरिएको लकडाउनले विशेष गरेर दिनरात मजदुरी गरी जिविकोपार्जन गर्नुहुने हाम्रा दाजुभाई, दिदीबहिनीलाई निकै गाह्रो परेको छ । सरकारले उहाँहरुको लागि जति सक्दो चाँडो राहतको व्यवस्था गर्नुहुनेछ भन्ने आशा गरौँ । यसको लागि मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख जम्मा गर्न चाहन्छु ।’
साथै उनले मेडिकल सेक्टरबाट कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नागरिकलाई बचाउन खटिएका डाक्टरहरु, नर्स तथा अन्य सहयोगीहरुलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।
![]()
उनले भनेकी छिन्– ‘देश लकडाउन भएको आज छैठौ दिन, आजको दिनसम्म देशभित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन । म भगवानसँग यही प्रार्थना गर्दछु कि हाम्रो देश र हामी नेपाली कसैलाई केही नहोस् ।’
नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये एकजना उपचारपछि निको भइसकेका छन् । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित भइसकेका छन् ।








