कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै, गाँजाको प्रतिबन्ध खुलाउन विधेयक, सेयर बजारमा हालसम्मकै ठूलो गिरावट

फागुन २०, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको समाचार प्रकाशित गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लनेबित्तिकै प्रधानमन्त्री ओली शुभेच्छुकसामु मुस्कुराए । उनी सञ्चारकर्मीसँग बोलेनन् । प्रसन्न मुद्रामा हात हल्लाए, यो समाचार आजको अन्नपूर्णले फ्रन्टपेजमा प्रकाशित गरेको छ ।  

प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए। ओलीलाई मिर्गौला दिन चार घण्टाअघि नै अस्पताल पुगेकी थिइन्, ३२ वर्षीया समीक्षा संग्रौला। गाडीबाट ओर्लनेबित्तिकै संग्रौला आकर्षणको केन्द्र बनिन्। दर्जनौं फोटोग्राफरले पछ्याएपछि उनी पनि मुस्कुराउँदै भित्र छिरिन्। 

संग्रौला र लिने प्रधानमन्त्री ओलीबीच मामा÷भान्जीको साइनो छ। दुवैजना चार घण्टा फरकमा अस्पताल पुगेका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. खड्गाले भने, ‘प्रधानमन्त्रीज्यूलाई भर्ना गरेर अब्जरभेसनमा राखिएको छ। स्वास्थ्य जाँचलगायतका कार्य सुरु गरिएको छ।’ 

मिर्गौला दान दिने र लिनेबीच सहमतिका आधारमा निवेदनसमेत दिइएकाले प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको छ। निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिए सम्बन्धित व्यक्तिलाई अंग दान वा अंग ग्रहण गर्न स्वीकृति दिने कानुनी व्यवस्था छ। संग्रौलाले सहमतिसहित स्वेच्छाले अंग दान गर्न लिखित मन्जुरी दिइसकेकी छन्। 

प्रत्यारोपणमा संलग्न टिम 

प्रत्यारोपणमा शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा.दिव्या सिंह शाहले समन्वय गरेकी छन्। उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन्। प्रत्यारोपणका लागि शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्मा रहनेछन्। युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेमराज ज्ञवाली पनि संलग्न छन्। 

सल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ । 

आजको नयाँ पत्रिकाले ‘कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै’ शीर्षकमा समाचार छापेको छ । समाचार अनुसार, संक्रमण रोक्ने होइन, धुलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव छ ।  

निर्णय 

सर्वोच्चको आदेश– आवश्यकताअनुसार केही दिन अथवा महिना अन्तर्राष्ट्रिय उडान रोक्नू 

नेपाल प्रवेश गर्ने स्थलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गर्न सरकारका नाममा सर्वोच्चको आदेश, आवश्यकताअनुसार केही दिन अथवा महिना अन्तर्राष्ट्रिय उडान रोक्न पनि आदेश 

पर्यटन मन्त्रालय– प्रभावित देशबाट आउने अन्तर्राष्ट्रिय उडानलाई निरुत्साहित गर्ने तयारी 

चीन, इरान, कोरिया, जापान, इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द, संक्रमित मुलुकबाट आउने यात्रुलाई विमानस्थलमा भिसा र चेकजाँचमा कडाइ गर्दै अन्तर्राष्ट्रिय उडान निरुत्साहित गर्ने नीति 

शिक्षा मन्त्रालय– कोरोना प्रभावित देशका लागि विद्यार्थीलाई एनओसी दिन बन्द 

कोरोनाको उच्च जोखिम भएका देशमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नदिने निर्णय, तत्कालका लागि चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानमा मंगलबारदेखि नै एनओसी बन्द 

परराष्ट्र मन्त्रालय– सकेसम्म विदेश भ्रमण नगर्न नागरिकलाई ट्राभल एड्भाइजरी जारी 

जलवायु परिवर्तनबारे सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद स्थगित, नेपाली नागरिकका लागि परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी– अत्यावश्यक कामकाज बाहेक विदेश नजान आग्रह 

अर्थ मन्त्रालय– संक्रमणको सम्भावित जोखिम र अर्थतन्त्रमा असरबारे अध्ययन सुरुकोरोनाको सम्भावित संक्रमण र असरबारे अर्थ मन्त्रालयबाट अध्ययन सुरु, अप्ठ्यारो अवस्थामा पनि औषधि र अन्य उपभोग्य वस्तुको माग र आपूर्ति कमी हुन नदिन  अहिलेदेखि तयारी 

गृहकार्य 

संक्रमण रोक्ने होइन, धुलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव 

नेपालमा उत्पादन र प्रयोग हुने ‘सर्जिकल मास्क’ले संक्रमण नियन्त्रण गर्न सक्दैनन् । धुलो नियन्त्रणका लागि प्रयोग गर्ने चलन थियो । पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको औँल्याएपछि बजारमा ‘सर्जिकल मास्क’को माग झन् बढेको छ । नेपालमा अहिले दैनिक तीन हजारको संख्यामा ‘सर्जिकल मास्क’ उत्पादन हुन्छन् । 

त्यसले बजारको माग धान्न सक्दैन । विगतमा भारत र चीनबाट नियमित रूपमा आयात हुँदै आएको थियो । तर, संक्रमण बढेकाले दुवै देशले पठाउन छाडेपछि नेपालमा मास्क अभाव भएको छ । संक्रमण रोक्ने ‘एन ९५’ र ‘थ्री एम ८२०१’ जस्ता मास्क नेपाली बजारमा छैनन् । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको समाचार नागरिकमा छ ।  

आमनागरिकलाई पनि सजग रहन आह्वान गर्दै उसले नेपाल भ्रमण वर्षसहित विभिन्न कार्यक्रम स्थगित गरेको छ। छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाको जोखिम विश्वभरि भयावह बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसविरुद्ध उच्च सतर्कता अपनाएको हो। उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 

उच्च जोखिममा रहेका चीन, जापान, कोरिया, इरानलगायत मुलुकमा अत्यावश्यकबाहेक भ्रमण नगर्न आमनागरिकलाई आग्रह गर्दै सरकारले हवाई माध्यमबाट विदेश जाने र आउने एक मात्र आन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणलाई कडा पार्न निर्देशन दिएको छ। अत्याआवश्यक बाहेक विमानस्थलसमेत नआउन र आउनै परे मास्क प्रयोग गर्न पनि आग्रह गरिएको छ। त्यस्तै ठूला भोजभतेर, सभासम्मेलन नगर्न पनि सरकारले आमनागरिकलाई अपिल गरेको छ। 

विदेशबाट नेपाल आउनेलाई हेल्थकार्ड पेस गर्नुपर्ने व्यवस्था गर्दै प्रभावित मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृतिमा पनि रोक लगाइएको छ। सरकारले हाललाई इपिएस स्थगित गर्न पनि आग्रह गरेको छ भने भारत हुँदै नेपाल आउनेमा स्क्यानिङ सुरु गरेको छ। चैत तेस्रो साता आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको तीनदिने सगरमाथा संवाद पनि स्थगित गरेको छ। 

कान्तिपुरले ‘चिनियाँ देख्दा हच्किन्छन् स्थानीय’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।  मर्स्याङ्दी–६ दिङदिङकी गीता अधिकारी ठूलीबेंसीस्थित जटेश्वर आधारभूत विद्यालय पढाउँछिन् । नजिकै चिनियाँ कम्पनीले निर्माण गरिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना छ ।  

उनी चिनियाँ क्याम्प हुँदै आउजाउ गर्छिन् । चिनियाँ कामदार क्वारेन्टाइनबिनै आएको थाहा पाएका गाउँलेले भने गीतालाई हेपाहा व्यवहार गर्न थालेका छन् । कोभिड सार्न सक्ने भन्दै गाउँलेले ‘गाउँ निकाला गर्नुपर्छ’ भन्नेसम्मको चेतावनी दिएको उनले सुनाइन् । 

‘बाटोमा हिँड्दै गर्दा दुई/चार जनाले मलाई गाउँ निकाला गर्नुपर्छ भन्दा रहेछन्,’ सोमबार ठूलीबेंसीमा आयोजित सचेतना कार्यक्रममा उनले भनिन्, ‘१४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने रातारात आएपछि गाउँले त मलाई पो निकाला गर्नुपर्छ भन्छन् ।’ नाइचे गाउँ टोलसुधार समितिका अध्यक्ष केशबहादुर गुरुङका अनुसार चिनियाँले बनाउँदै गरेको ड्यामबाटै आउजाउ गर्नुपर्दा सकस छ । उनले भने, ‘हामीलाई कोरोना लागिहाले यो जिम्मा कम्पनीले बेहोर्छ कि नेपाल सरकारले ?’ 

कोभिड संक्रमित चीनका नागरिक रातारात आएर जलविद्युत् आयोजना निर्माणमा जुटेपछि स्थानीयले असुरक्षित महसुस गरेका छन् । आयोजनामा कार्यरत ३८ चिनियाँ यहाँ आइसकेका छन् । उतै रहेका १९ जनालाई आउन नदिन स्थानीयले सरकारसँग माग गरेका छन् । आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले उनीहरू आउनेबित्तिकै केही घण्टा आराम गरेर काममा खटिएका छन् । आइसकेका चिनियाँलाई मार्च १५ सम्म स्थानीयसँग नभेट्न, सँगै खानपिन नगर्न र काम नगर्न भनिएको गड्तौलाले बताए । 

गाँजा खेती खुलाउने विधेयक संघीय संसद्मा दर्ता भएको समाचार अन्नपूर्णमा छ । सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन्। यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो। 

औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यवसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन, नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसका माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो। 

‘गाँजा वा भाँगको दाना अचार खानाका लागि वा तेलका लागि उपयोग गरिन्छ। औषधीय गुणयुक्त मह उत्पादन समेत हुनेछ, गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुन गई जलवायु परिवर्तनलाई न्यून गर्न सहयोग पुग्ने मानिने भएकोले यसको आर्थिक, समाजिक तथा औद्योगिक महŒव छ’, विधेयकमा भनिएको छ, ‘नेपालमा गाँजा खेतीको माध्यमबाट किसानको आर्थिकस्तरमा सुधार ल्याउन पनि यसबाट सहयोग पुग्ने अवस्था रहेको र नेपालमा गाँजा खेतीलाई कसुर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेती गर्ने व्यवस्था गर्न आवश्यक भएको छ।’ 

कारोबार दैनिकले धितोपत्र बजारमा कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको समाचार छापेको छ । विगत केही सातादेखि निरन्तर उच्च अंकले बढेको सेयर बजार सूचक सोही गतिमा घटेको छ ।  

साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार दुई दिनमै करि १३७ अंकले घटेको हो। आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब डेढ घन्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ। आइतबार आएको उच्च गिरावटलाई रोक्न नेप्सेले कर्कित ब्रेकर नै प्रयोग गरेर नियमित कारोबार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नुपरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *