चीनबाट स्वास्थ्य सामग्री पर्सि नेपाल आइपुग्‍ने

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ ।  

सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइपुर्‍याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए । त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ । 

नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको स्वास्थ्यमन्त्री ढकालले बताए । ‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान हामी किन्छौं ।’ गोन्जाओ कुन विमान पठाउने भन्ने टुंगो शुक्रबार बिहानसम्म लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

आइतबार ल्याइपुर्‍याइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन-९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन्, कान्तिपुरमा समाचार छ । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो । ‘उताको कार्गो जहाज अन्तै जाने कुरा आयो, त्यसैले नेपालबाटै जहाज पठाउने कुरा भएको छ,’ मन्त्री ढकालले भने । ती सामग्री आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश प्रदेशमा पठाइने उनले जनाए । 

कोभिड-२९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । सरकारले सुरुमा ‘जीटूजी’ बाट स्वास्थ्य उपकरण खरिद गर्ने योजना बनाएको थियो । त्यसका लागि चीन, भारतलगायत मुलुकमा प्रयास गरिए पनि सफल हुन सकेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *