प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्र
चैत १२, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरस (कोभिड-१९) को महामारी र सरकारले चालेका कदमका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। पूर्व श्वास्थ्यमन्त्री समेत रहेका थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको बताए।
‘कोरोना संक्रमण विरुद्धको यो लडाइँमा हरपल तपाईंको साथमा छु। हामी जे गरिरहेका छौं, पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासकंट बाट पार पाउन सकिन्न,’ गगनले भनेको छन्, ‘हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु।’
प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन्। हवाइ र स्थलमार्गबाट नेपाल भित्रिएका नेपालीहरू कहाँ छन् भन्ने एकिन विवरण संकलन गर्न ढिलाइ गर्न नहुने थापाको भनाइ छ। ‘संक्रमितको निकट सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्छ,’ थापाको सुझाव छ।
उनले परीक्षणको दायरा बृद्धि गर्न माग गरेका छन्। जति धेरै परीक्षण गर्यो उति संक्रमण भएका व्यक्ति भेटिन सक्ने अवस्था हुने भएकोले व्यवस्थापन राम्रोसँग गरिनुपर्ने उनले बताए। ‘परीक्षणको दायरालाई फराकिलो बनाऔं यसले गर्दा नेगेटिभ देखियो भने खुसीको कुरा भइगो, पोजेटिभ देखियो भने तत्कालै उपचार थालौ,’ उनले भनेका छन्।
उनले शंकास्पद संक्रमित खोज्न सरकारले रणनीति तयार पार्नुपर्ने सुझाव दिएका छन्। अस्पतालहरूमा अत्यावश्यक सेवा प्रभावित भएको र विरामीको सेवासमेत प्रभावित हुन गएकोले त्यसो हुन नदिन व्यवस्था राम्रो गरिनुपर्ने बताएका छन्। स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारको समन्वय अभाव खड्किरहेको भन्दै थापाले तत्कालै समन्वय गरी काम गर्ने वातावरण पनि निर्माण गर्न आग्रह गरेका छन्।
उनले इटाली जस्तो समृद्ध देश यस्तो समस्या भोगिरहेको अवस्थामा अब के गर्ने कसरी समाधान गर्न सकिन्छ भन्ने आफ्ना तर्क राख्दै प्रधानमन्त्रीलाई पाँच पेज लामो पत्र लेखेका छन्। प्रतिकूल स्वास्थ्यका बाबजुत आफ्नो जिम्मेवरी बोध गरी कामकाजमा फर्किएकोमा प्रधानमन्त्री ओलीको सरहान गरेका छन्।