कोरोना भाइरस संक्रमितलाई वीपी प्रतिष्ठानमा १० वटा आइसोलेसन वेड, यस्ताे छ तयारी

फागुन २२, धरान । देशभर कोरोना भाइरस संक्रमणको पूर्वतयारी अपनाइरहँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेपनि उच्च सतर्कता अपनाएको छ ।   

पूर्वकै रेफरल सेन्टरका रुपमा रहेको वीपी प्रतिष्ठानले कोरोना भाइरसका लागि उच्च सर्तकता अपनाएको हो ।   

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले प्रदेश १ मा कोरोना भाइरस संक्रमित विरामीलाई उपचारकालागि प्रतिष्ठान पूर्वतयारी अवस्थामा रहेको बताए । ‘सरकारले नै सबै स्वास्थ्य संस्थाहरुलाई एलर्ट गरिसकेको अवस्थामा हामीले १० वटा आइसोलेसन वेड तयार गरेका छौं । भने, प्रतिष्ठानका अस्पतालनिर्देशक प्रा.डा. गौरीशंकर शाहको संयोजकत्वमा कमिटि गठन गरिएको छ ।’ डा. खनालले भने ।   

प्रतिष्ठानले डा. शाहको संयोजकत्वमा पेडियाट्रिक, मेडिसिन, माइक्रोवायोलोजी लगायत विभिन्न विभागबाट समेत प्रतिनिधित्व रहने गरी कमिटि गठन गरेको छ ।   

कोरोना भाइरस अहिलेसम्म नेपालमा आइनसकेपनि सामान्य रुघाखोकी र ज्वरोका विरामीहरु आउँदा समेत प्रतिष्ठानले उच्च सतर्कता अपनाएर उपचार गरेको डा. खनालले बताए । ‘आइ नै हाल्छ भनेर तर्सिने अवस्था हैन तथापि, हामी उच्च सतर्कताका साथ बसेका छौं । केन्द्र सरकार, प्रदेश सरकारसँग समन्वय र छलफल भइरहेको छ । प्रतिष्ठानमा सामान्य ज्वरो रुघा खोकी लागेर आएका विरामीको पनि उच्च सतर्कता अपनाउँदै उपचार भइरहेको छ ।’   

प्रतिष्ठानले कोरोना भाइरसबाट बच्न र सतर्कता अपनाउन सचेतना अभियानपनि चलाएको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक कार्यक्रम गरेर प्रतिष्ठानले सचेतना फैलाएको छ । प्रतिष्ठानमा आवश्यक औषधी खरिद गर्ने तथा नेपाल सरकार बाट प्राप्त गर्ने औषधी ब्यवस्था गर्न तयारी गरेको छ ।   

अहिलेसम्म प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा कुनै विरामी नआएको बताउँदै कथंकदाचित आइहाले त्यस्ता विरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने साथै स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल स्वास्थ्य केन्द्र टेकूमा आवश्यक स्वास्थ्य परीक्षणका लागि रिपोर्ट पठाउने छ ।   

यस अघि प्रतिष्ठानमा एक ब्यक्ति कोरोना भाइरसको आशंकामा उपचारका लागि आएका थिए । ती विरामीलाई प्रतिष्ठानले टेकू रेफर गरेकोमा संक्रमण नभएको देखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *