फागुन १८ पछि विदेशबाट आएका नागरिककाे तथ्याङ्क लिइँदै

चैत्र १४, काठमाडौं । काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । 

विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।  

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । 

कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ । 

त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।   

‘आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने’, पत्रमा भनिएको छ, ‘वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने’, भनिएको छ । 

कामपाको गत चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख निकाशा गरिसकेको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *