कोरोना महामारी : क्यूआर ६५२ का यात्रु खै ?

चैत १६, काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं उत्रिएको क्यूआर ६५२ मा एक सय ५८ जना यात्रु आएको पत्ता लागेपनि उनीहरु सबैको पहुचमा प्रहरी अझै पुग्न सकेको छैन । उक्त विमानमा सवार दुई युवतीमा भने कोरोना संक्रमणको पुष्टी भईसकेको छ । 

गत चैत चार गते उक्त विमान काठमाडौं उत्रिएको थियो । विमानमा सवारमध्ये एक सय ३४ जना सेल्फ क्वारेन्टाईनमा रहेको प्रहरीले पत्ता लगाएको छ । प्रहरी मुख्यालयका अनुसार विमानमा पाँच विदेशी बाहेक १९ यात्रुहरु कहाँ छन् भन्नेबारे अझै खोजी जारी छ । मुख्यालयका अनुसार सम्पर्कमा नआएका १९ जना मध्ये अधिकांशले पहिला राहदानी लिंदा उल्ल्लेख गरेको फोन नम्बर र ठेगाना परिवर्तन गरेको देखिन्छ । 

कोरोनाको त्रास फैलिईरहेका बेला उनीहरु आफैं प्रहरी वा नजिकको स्थानीय तहमा सम्पर्कमा आउन प्रहरीले अपिल समेत गरेको छ । संक्रमित युवती सवार विमानका एक सय ५८ मध्ये एक सय ९ यात्रु काठमाडौं, धनुषा, महोत्तरी, झापा, लगायत विभिन्न ४४ जिल्लाका नागरिक भएको जानकारी प्रहरी सहायक प्रवक्ता एसएसपी उमेशराज जोशीले दिए । 

त्यसैगरि संयुक्त अरब इमिरेट्सबाट एअर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका तेस्रो संक्रमित व्यक्ति सवार विमानका एक सय ७० यात्रुको पनि प्रहरीले खोजी जारी राखेको छ । गत बिहीबार देखि नै यात्रुहरुको राहदानीका आधारमा तिनको ठेगाना पत्ता लगाएर खोज्न सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको जानकारी जोशीले दिएको समाचार अन्नपूर्णमा छ । 

प्रहरी स्रोतका अनुसार शनिबारबार साँझसम्म पनि उक्त विमानका यात्रुहरु भेटिएको सूचना प्रहरी समक्ष आइसकेको छैन । विमानमा आएका यात्रुहरु पत्ता लगाउन प्रहरी मुख्यालयले कार्यदल बनाएको छ । जोशीले भने- ‘हामीले कार्यदल नै बनाएर सम्पर्कमा नआएकाको खोजी गरिरहेका छौं । नभेटिएका पनि सेल्फ क्वारेन्टाईनमा बसेको हुनसक्छ ।’  

उनले राहदानीको आधारमा मात्रै खोजी सम्भव नभएकाले विमानमा सवार यात्रुको खोजीको लागि पहिला सम्बन्धित जिल्लामा गएर बुझ्ने र पछि आफन्तमार्फत नम्बर पत्ता लगाएर मात्रै पहिचान गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *