सरकारद्वारा राहतको घोषणाः एक महिनाको घरभाडा र स्कूल शुल्क मिनाहदेखि मजदुरलाई खाद्यान्नसम्म

चैत्र १६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सिर्जना भएका नागरिकका समस्यालाई मध्येनजर गर्दै विभिन्न राहत घोषणा गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणको सम्भावना भएका व्यक्तिका लागि सञ्चालन हुने सामूहिक क्वारेन्टाइन सञ्चालन र क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्च स्थानीय तह र सङ्घीय सरकारले बेहोर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । 

त्यस्तै नीजि स्वास्थ्य संस्थालाई सबै प्रकारका स्वास्थ्य सेवा सूचारु राख्न र सबै प्रकारका सेवा शुल्कमा चैत मसान्तसम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको छ । 

यसैगरी निजी विद्यालयले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिने व्यवस्था मिलाउने, शहरी क्षेत्रमा रहेका असङ्गठित श्रमिकले भुक्तानी गर्नुपर्नेमध्ये एक महिनाको घरभाडा सम्बन्धित घर धनीलाई मिनाहा गर्न अनुरोध गर्ने र यसमा घरबहाल कर नलाग्ने निर्णय पनि सरकारले गरेको छ । 

बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा राहतको घोषणा गर्दै राहत दिनुपर्ने परिवार पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय तहलाई जिम्मा दिने निर्णय पनि गरेको छ । राहत लिने परिवारले स्थानीय तहका वडामा गएर परिचयपत्र उपलब्ध गराउनुपर्ने छ । 

सरकारले गर्भवती, अपाङ्गता भएका व्यक्ति दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्नेछ । औपचारिक क्षेत्रका मजदूरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०७६ चैत महिनाको पारिश्रमिक पूर्ववत भुक्तानी दिने निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । 

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड  र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खानेतेललगायत खाद्य सामग्री हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

दूर–सञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डाटा प्याक प्रयोग गर्नेका लागि २५ प्रतिशत छुट दिने र निजी सेवा प्रदायकले समेत छुट दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।  

विद्युत् प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको महसुलमा २५ प्रतिशत छुट दिने, विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट शुल्कमा फागुन र चैतसम्मको महसुल भुक्तानी २०७७ वैशाख मसान्तसम्ममा बुझाए विलम्बको जरिवाना र अन्य शुल्क नलिने निर्णय पनि भएकाे छ । 

माघसम्म उत्पादन भई बचत हुने विद्युत् प्राधिकरणले तोकेको समय र अवधिमा विद्युत् खपत गर्ने उत्पादनमूलक प्रतिष्ठानलाई सो अवधिमा खपत गरिएको महसुलमा उद्योगको प्रकृति हेरेर ३० देखि ५० प्रतिशतसम्म छुट दिने निर्णय पनि सरकारले गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *