एकताको धागोमा राप्रपा र राप्रपा संयुक्त

फागुन २८, काठमाडौं । पटक पटकको प्रयासपछि राप्रपा र राप्रपा संयुक्तबीच पुनः एकता भएको छ । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच दुई पार्टी एक घएको घोषणा गरिएको हो ।
दुई पार्टीबीच एकता गर्नेगरी शनिबार १० बुँदे समझदारी भएसँगै (आज) बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।
समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
एकतापछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइने राप्रपाले जनाएको छ ।
यस्तै पार्टीको एजेण्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ ।
२०७३ मङ्सिरमा एकीकृत भएपछि फेरि फुट्न पुगेको राप्रपाको पटक पटकको प्रयासपछि बुधबार एकता भएको हो ।
२०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो ।








