खाडी मुलुकका राजदूतसँग परराष्ट्रमन्त्रीको भिडियो बैठक

चैत्र १०, काठमाडौं। सरकारले खाडी मुलुकका नेपाली राजदूतहरुसँग भिडियो कन्फरेन्समार्फत ब्रिफिङ लिएको छ। नेपाली कामदारहरुको बाहुल्य रहेका खाडी मुलुकका राजदूतसँग सरकारले कोरोनाको असर र त्यहाँका सरकारहरुले यसको रोकथामका लागि अवलम्बन गरेका उपायबारे ब्रिफिङ लिएको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सोमबार दिउँसो भिडियो कन्फरेन्स गरेका थिए। उनीहरुले खाडी मुलुकमा कोरोना रोकथाम र त्यहाँका सरकारहरुले के–कस्ता सुरक्षाका उपायहरु अवलम्बन गरेका छन् भन्ने बारे सामूहिक ब्रिफिङ लिएका हुन्।
परराष्ट्रमन्त्री ज्ञवाली र श्रम तथा रोजगार मन्त्री यादवसँग भिडियो कन्फरेन्समा साउदी, कतार, युएई, ओमान, बहराइन, इजरायल, इजिप्ट र दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरुलाई भिडियो कन्फरेन्समा सहभागी गराइएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बारे भिडियो कन्फरेन्समा मन्त्रीद्वयले नेपाली दूताबासका अधिकारीहरुसँग खाडी देशहरुको कोरोनाको पछिल्लो अपडेट, खाडी देशहरुको वर्तमान अवस्था एवं रोगको फैलँदो/नियन्त्रणको ट्रेन्डबारे छलफल गरेका थिए। यस्तै खाडी देशका सरकारले विदेशी नागरिकलाई गरेको व्यवस्था, ती देशहरुमा कार्यरत नेपाली नागरिकको अवस्था र नेपाली नियोगले चालेका कदम तथा भविश्यमा अवलम्वन गर्नुपर्ने उपायहरु जानकारी लिएका थिए।








