मेलम्ची परीक्षण : एक किलोमिटर सुरुङ मार्गमा पानी पठाइयो

फाइल तस्वीर
चैत ३, मेलम्ची । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको परीक्षण थालिएको छ। परिक्षण कार्यक्रमा खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।
मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य थालिएको हो । सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको एक किलोमिटर सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो।

परीक्षणका क्रममा उक्त सुरुङ मार्गभित्र कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। सुरुङ मार्गको निरीक्षणमा पुगेकी खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब अन्तिम चरणमा पुगेको बताइन् । अब कुनै कारणले पनि आयोजना नरोकिने बताउँदै उनले तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँने जानकारी दिइन्
निर्माणको जिम्मा पाएको सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्टहरु, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ।








