परिक्षा मर्यादित बनाउन अनुगमनमा कडाई

फागुन ३०, चितवन । नगर भित्र संचालित परिक्षा प्रभावकारी बनाउन खैरहनी नगरपालिकाले अनुगमनलाई कडाई गरेको छ । खैरहनीमा फागुन २८ गतेदेखी कक्षा ९ सम्मको परिक्षा संचालन भईरहेको छ ।
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारको निर्देशन अनुसार खैरहनी नगरपालिकाले चैत ५ गते भित्र परिक्षा सम्पन्न गर्ने गरि तालिका बनाएर कार्यान्वयन गरेको हो । नगर शिक्षा समिति संयोजक समेत रहेका खैरहनीका मेयर लालमणी चौधरीको नेतृत्वमा बिभिन्न ६ वटा समुह बनाएर प्रत्येक दिन अनुगमन भईरहेको खैरहनीका स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले बताए ।
शुक्रबार सम्म कुनै अवाञ्छित क्रियाकलाप भएको नपाईएको भन्दै स्थानीय शिक्षा अधिकारी पौड्यालले त्यस्ता क्रियाकलाप भएको भेटिएमा कारवाही गरिने बताए । खैरहनीमा १४ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा कक्षा ८ को परिक्षा अर्थात आधारभूत तह उर्तिण परिक्षा समेत संचालन भईरहेको छ ।









