वैशाख ३ गतेसम्म आन्तरिक र वाह्य दुवै हवाई सेवा बन्द

चैत्र १८, काठमाडौं । सरकारले आन्तरिक तथा वाह्य दुवै उडान वैशाख ३ (अप्रिल १५) सम्म बन्द गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वैशाख ३ सम्म आन्तरिक र वाह्य दुवै सेवा बन्द हुने जानकारी दिएको हो । यस अविधमा कुनै पनि व्यवसायिक उडान हुने छैनन् ।
आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने रोकिने छैनन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयका आधारमा प्राधिकरणबाट वायुसेवा कम्पनीहरुलाई परिपत्र गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
कोरोना महामारीका कारण यतिबेला विश्वका कयौँ देशमा लकडाउन गरिएको छ । नेपालमा पनि चैत्र ११ देखि २५ गतेसम्म लकडाउन गरिएको छ । सबैतर्फका सीमा नाका बन्द गरिएको छ भने सवारी साधन तथा मान्छेको आवतजावतमा समेत रोक लगाइएको छ ।








