कोरोनाबारे सचेत गराउन विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्स
फागुन २४ विराटनगर । विराटनगरको सीमा क्षेत्र रानी भन्सारमा कोरोना भाइरसबारे सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) राखिएको छ ।
विगत ४ वर्षदेखि सहायता केन्द्र संचालन गरेको भएपनि पछिल्लो समय कोरोना भाइसलाई लक्षित गर्दै सहायता केन्द्र संचाल हुँदै आएको हो । विराटनगर महानगरपालिकाको सहयोगमा संचालन भएको सहयाता केन्द्रमा भारतबाट आउने सम्पूर्ण व्यक्तिहरुको चेकजाँच गर्ने गरेको सहयाता केन्द्रकी सुलोचना श्रेष्ठले बताइन् ।
भारतबाट आउने यात्रुहरुलाई सम्झाएर जाँच गराउन गाह्रो पर्ने र उनीहरुको जाँचका लागि गाडि भित्र नै पसेर जाँच गराउनु पर्ने श्रेष्ठको भनाई छ । भारतीय यात्रुहरुले अटेर गर्दा आफुहरुलाई काम गर्न सकस रहेको उनको गुनासो छ ।
सहायता केन्द्रमा महानगरपालिकाले ज्वरो नाप्ने यन्त्र (माइक्रो लाईफ) साथै रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधिको व्यवस्था गरिएको छ । कोरोनाको मुख्य लक्षण १००.४ डिग्री ज्वरो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको श्रेष्ठले बताइन ।
दैनिक एक सयदेखि एकसय पचाससम्मलाई जाँच गर्दा आजसम्म त्यस्तो कुनै पनि लक्षण नदेखिएको उनको भनाई छ ।