छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते
फागुन २६, काठमाडौं । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेल रहेका छन् ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । सोही कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान ठक्कर खाएको थियो ।
ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।