कोरोना रोकथाममा डा. शर्माको जस्तो छाती चाैडा किन नपार्ने ?

कोभिड–१९ ले विश्व आक्रान्त बनिरहँदा नेपालपनि अछुतो छैन । राज्यले कोरोना रोकथामकालागि अपनाएका रणनीतिमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने हो तर, हामी कहाँ एकाध मनकारीहरुले राज्यसँग कोरोना भाइरसका विरुद्ध लड्ने प्रतिबद्धता जनाउँदा पैसाकै बलमा राज्य संयन्त्र नै किन्न सक्ने हाँक दिनेहरु भने ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन् ।   

डा.सुनिल शर्माले विराटनगरस्थित नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पताल परिआएको खण्डमा कोरोना भाइरस संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताल बनाउन दिन आफु तयार रहेको सार्वजनिक गरे । डा.भगवान कोइरालाको संयोजकत्वमा गठित कोरोना रोकथाम संयोजन समितिलाई आधिकारिक पत्र लेखेरै एक नम्बर प्रदेशकालागि ७१ भेन्टिलेटर, ७६४ शैयाको सुविधासम्पन्न नोवेल अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन सरकारलाई आग्रह गर्नु सानो मनले भन्ने कुरा हैन । यसकालागि ठूलो हृदय र आँट चाहिन्छ ।   

सामान्य ज्वरो रुघाखोकीका विरामी अस्पताल जाँदापनि कोरोना संक्रमित भन्दै डाक्टरहरु भागिरहेको परिदृश्यमा डा.शर्माले सम्पूर्ण जनशक्ति र पूर्वाधार नै कोरोना नियन्त्रणकालागि प्रयोग गर्न तयार रहेको भन्नु महानता हो । कोरोना संक्रमितलाई उपचार गर्न विशेष प्रकारको सुरक्षासहितको अस्पताल आवश्यक पर्छ । संक्रमितलाई उपचारार्थ खटिने चिकित्सकहरु र संक्रमितसँग जोडिने अन्यको स्वास्थ्यलाई पनि विशेष ध्यान दिनुपर्ने भएकोले कोरोना उपचारमा चुनौति धेरै छ ।   

डा.शर्माले ति सबै चुनौतिहरु सामना गर्न तयार भएरै नोवेल अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन दिने प्रस्ताव गरेका हुन् । कोरोनाको उपचार सजिलो थियो त नाम चलेका ठूला अस्पतालहरु ज्वरो रुघाखोकीकै विरामी आउँदा पन्छिने थिएनन् । मेडिकल शिक्षा र स्वास्थ्यमा कहलिएका संस्थाहरु मुलुकको संकट टार्ने अभियानबाट विमूख भइरहेको अवस्थामा एउटा निजी लगानीबाट सञ्चालित संस्था नै राज्यलाई दिन्छु भनेर उद्घोष गर्ने डा.शर्माको आँट अनुकरणीय र प्रशंशनीय छ ।   

डा.सुनिल शर्माले अहिले मात्र हृदय खोलेका हैनन । उनी वर्षौंदेखि जनताको सेवामा छन् । विराटनगरमा मेडिकल कलेज खोलेका उनी दिनदुःखीको सेवामा मेचीदेखि महाकालीसम्म पुगेका छन् । सहाराविहिनका सहारा भएका छन् । पैसै नभएर पढ्न नपाएकाहरुको अभिभावक भएका छन् । आर्थिक अवस्थाकाकारण रोगले थलिएका, सडकमा फ्याँकिएकाहरुको उद्दारकर्ता भएका छन् । जनिवनी गर्ने सतार समुदायको पहिलो डाक्टर बनाउन होस कि, रोग, भोक र शोकले सडकमा अलपत्र परेकाको उद्दार तथा उपचारमा उनी भगवान बन्ने गरेका छन् । यतिमात्र हैन डा.शर्माले गाउँगाउँमा एम्बुलेन्स दिएका छन्, निःशुल्क स्वास्थ्य सेवा दिएका छन् । उनको समाजसेवा प्रतिको लगाव निःस्वार्थ छ । ठूलो संघर्ष र मेहनतले सफलता प्राप्त गरेका डा.शर्माले अभाव र कष्टलाई नजिकबाट नियालेका छन् । त्यहि भएर होला उनी सडकमा रोग र भोकले लडेको, रोएको, चिच्याएको हेर्न सक्दैनन् । अहिले डा.शर्माले कोरोना भाइरस विरुद्ध आफ्नो निजी सम्पत्ति राज्यलाई प्रयोग गर्न दिन्छु भन्नुपनि भोलीको संभावित दुर्घटना देखेरै हो । राज्यले कोरोनालाई जति हलुका लिएको छ त्यत्ति पटक्कै छैन । यो त दोस्रो विश्वयुद्धमा खसालिएको एटमबम भन्दापनि खतरनाक छ ।   

कोरोना नियन्त्रणकालागि क्वारेन्टाइन बनाउन आवश्यक पूर्वाधार नपाएर राज्य छट्पटिइरहेको बेला डा. शर्माको कोरोना विशेष अस्पताल बनाउन दिने उद्घोषले राज्यलाई मात्र हैन आम जनतालाई पनि राहतको अनुभूत भएको छ । उनको प्रस्तावलाई राज्यले स्विकार गरे भोली कोरोना कहर बनेर घरघर छिरेको अवस्थामा पूर्वाञ्चलका लाखौं जनताको जिवन रक्षा गर्न नोवेल अस्पताल संजिवनी बुटी बन्न सक्छ । यो कुरा राज्यले बुझ्न जरुरी छ ।   

पूर्वमा सुविधा सम्पन्न अस्पतालहरुको अभाव छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चलमा रहेका सरकारी अस्पतालहरुको क्षमताले मात्रै कोरोना नियन्त्रणमा लिन सकिन्न । त्यसमाथि भएका सबै स्वास्थ्य संस्थाहरुलाई कोरोना अस्पताल बनाएर अन्य रोगको उपचार सेवा पनि बन्द गर्न सकिँदैन । बरु नोवेल, वीपी प्रतिष्ठान, झापाको वीएण्डसी अस्पताल जस्ता केही ठूला र पूर्वाधारयुक्त अस्पतालहरुलाई सरकारले कोरोना विशेष अस्पतालका रुपमा परिणत गर्न सक्छ । यसकालागि राज्यले निजी संस्थाहरुसँग समन्वय गर्नुपर्दछ । भने, निजी स्वास्थ्य संस्थाहरुले पनि डा. सुनिल शर्माले जस्तै ठूलो हृदय बनाउन आवश्यक छ । स्वास्थ्य सेवा भनको पैसा कमाउनकै लागि मात्र हैन । कतिपय अवस्थामा सामाजिक दायित्वपनि निर्वाह गर्नुपर्छ । यो बेला कमाउने हैन राज्यलाई, जनतालाई दिने समय हो ।   

कोरोना संक्रमण विश्वब्यापी छ । यो त्यत्ति सजिलै नियन्त्रणमा आउने अवस्था देखिन्न । कोभिड–१९ जस्तोसुकै मौसम र परिस्थितिमा बाँच्न सक्ने भाइरस हो । जाडो गर्मी, हिमाल पहाड तराई यो सबैतिर फैलन सक्छभन्ने कुरा चार महिनामा विश्वका १९९ देश यसको चपेटामा परेको दृष्टान्तले प्रष्ट भइसकेको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ अहिलेसम्म यकिन भइसकेको छैन । विश्वका शक्तिशाली देशहरुसमेत कोरोना कहरबाट त्राहिमाम बनिरहँदा नेपाल जस्तो विकासोन्मुख देशले सजिलै यसबाट मुक्ति पाउँछ भनेर ढुक्कसँग बस्ने अवस्था पक्कै छैन । नेपालमा चार जना संक्रमित देखा नपर्दै मुलुकनै लकडाउन गर्नुपरेको अवस्था छ । भोली सयौं संक्रमित एकै पटक देखा पर्दा त्यसको परिणाम कस्तो होला अनुमान पनि गर्न सक्दैनौं । त्यसकारण डा. शर्मा, दुर्गा प्रसाई र महाविर पुन जस्ता मनकारीको सहयोग लिएर राज्यले कोरोनाको कहरबाट मुलुक र जनतालाई बचाउनु पर्दछ ।   

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणकालागि ठूलै कोशिष गरेको दावी गरेपनि संक्रमितहरु देखिनुले सरकारको भनाई र गराईमा आकाश जमिनको फरक महशुष भएको छ । राज्य असफल भयो एउटा पाटो हो, तर, मुलुक बनाउन हामी आम नागरिक र निजी क्षेत्रले पनि प्रत्यक्ष अप्रत्यक्ष हातेमालो गर्न सक्छौं नी ! हैन र ?   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *