बाग्लुङकी एक युवतीमा पनि देखियो कोरोना संक्रमण

चैत १५, काठमाडौं। नेपालमा आज फेरि थप एकजनामा कोरोना संक्रमण भेटिएको छ। शनिबार भएको स्वास्थ्य परीक्षणमा बाग्लुङकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको भेटिएको हो।   

आज टेकुस्थित राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। कोरोना संक्रमित युवती बेल्जियमबाट नेपाल आएकी हुन्।   

‘उहाँ  चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा  हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’   

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

अहिले संक्रमण देखिएकी बाग्लुङकी युवती र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ वर्षीया युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ। त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको चैत १० मा पुष्टि भएको थियो।   

त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो। त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ। अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *