घण्टी नबजाई आएको संकटबाट बच्न सबैको सहकार्य आवश्यक

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म करिब आठ हजार मानिसको ज्यान गइसकेको छ । १ सय ६५ बढी देशमा पुगिसकेको कोरोनाबाट २ लाख १९ हजार ३ सय ८५ जना संक्रमित भएको बिहीबार बिहानसम्मको तथ्याङ्कले देखाउँछ । छिमेकी मुलुक चीनबाट फैलिएको भाइरस हाम्रो देशको अर्काे ठूलो छिमेकी देश भारतमा पनि फैलिएको छ । बिहीबारसम्म त्यहाँ ३ जनाको मृत्यु भइसकेको छ भने १ सय ७४ जना संक्रमित भेटिएका छन् ।   

चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा फैलन नदिन र फैलिइहाल्यो भने रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले उच्च स्तरिय समिति गठन गर्यो । गठित समितिले अहिलेसम्म नेपालमा कोरोना संक्रमित कोही नभेटिएको बताउँदै आएको छ । सरकारले यसो भनिरहँदा आम जनमानसमा केही राहतको महशुस भएको देखिएपनि ढुक्क हुने अवस्था नभएको विज्ञहरु र बुद्धिजिवीहरुको धारणा छ । खासगरी केही दिन अघि डा. सुन्दरमणि दीक्षितले सरकारले हचुवाको भरमा कोरोना भाइरस संक्रमित नभेटिएको भनेको भनाईले समाज नै सरकारको अभिब्यक्ति प्रति शशंकित छ । त्यसमाथि हिजो अकस्मात उच्चस्तरीय समितिले बैठक नै बसेर आजबाट हुने भनिएको एसइई परीक्षासमेत स्थगित गरेपछि सरकारको काम गराई र भनाईमा शंका उब्जिएको छ ।   

नेपाल चीन र नेपाल भारतको नाकामा हेल्थ डेस्क राखेर चेकजाँचमा कडाइ गरिएको सरकारले बताउँदै आइरहेको छ । हवाइ मार्गबाट आउने यात्रुहरुका लागि भित्रुवन अन्तराष्ट्रिय विमानस्थलमा नै चेक जाँचको व्यवस्था मिलाइएको छ । त्यती मात्रै होइन सरकारले विभिन्न अस्पतालमा आइसोलेसन वार्ड स्थापना पनि गरेको भनेको छ । तथापि, हवाई र सीमा नाकाहरुमा गरिएको चेकजाँच प्रभावकारी नभएको जनगुनासो छ । अस्पतालहरुमा आइसोलेशन वेड तयार गर्न सकिएको छैन । एकै पटक सयौं संक्रमित आएको अवस्थामा कसरी उपचार गर्ने सरकारसँग योजना पनि देखिएन । सरकारले विभिन्न मुलुकसँगको आवागमन नै बन्द गराएको छ, भने देशभित्रैपनि अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सर्वसाधारणलाई भनेको छ । एक हिसावले अब नेपाल लक डाउनको अवस्थामा पुगेको छ ।   

उच्चस्तरिय समितिको बैठकले सभा समारोह नगर्न, धेरै जना एकै ठाउँमा भेला नहुँन आग्रह गरेपछि अहिले राजधानीका सडकमा सर्वसाधारणको भिड कम छ । सवारी साधनपनि साविकभन्दा पातला भइरहेका छन् । सार्वजनिक यातायातमा धेरै यात्रु नराख्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकिरहेको छैन । यो विषयमा यातायात व्यवसायी पनि सतर्क हुनुपर्ने अवस्था छ । साझा यातायातमा बाहेक अन्य सार्वजनिक यातायातमा कोरोना भाइरसबाट बच्न कुनै सतर्कता छैन । उसोत राजधानीको सार्वजनिक सवारी फोहरमात्र हुँदैन कार्यालय समयमा आवतजावत गर्न नै नसकिने हुन्छन् । यस्तो अवस्थामा सार्वजनिक यातायातमा कति यात्रु राख्ने भन्ने नियमपनि सरकारले कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।   

यातायात ब्यवसायीहरुले आफुसँग भएका सबै सवारीहरु एकै दिन चलाउँदैनन् । दिन बिराएर चलाईदिँदा कम सवारी सडकमा गुड्छन् जसले यात्रुहरुलाई एउटै सवारीमा कोचिएर गन्तब्यमा जानुपर्ने बाध्यता हुन्छ ।   

नियम मात्र बनाएर कार्यान्वन नगरिए कोरोना भाइरस संक्रमण फैलिइहालेमा त्यसले भयावह स्थिती नल्याउला भन्न सकिन्न । सबैभन्दा धेरै भिडभाड भनेको सार्वजनिक यातायातमा हुने आवतजावत नै हो । कामकाजीहरु जसरीपनि सार्वजनिक सवारी चढ्नुपर्ने बाध्यता हुनछन् । त्यही बाध्यताको फाइदामा हुन्छन् सार्वजनिक यातायातका साधान । रत्नपार्क, गौशाला, चावहिल, न्यूरोड, नयाँ बानेश्वर, अनामनगर, थापाथली, बसपार्क जस्ता मानिसको बढी भिडभाड हुने स्थानमा सरकारले उच्च सतर्कता अपनाउँदै सुरक्षाका उपायहरु ब्यवस्थापन गरिदिए सर्वसाधारणले राहत पाउने थिए । १८÷२० जना अट्ने माइक्रोमा ३० जना सम्म यात्रु कोच्नु माइक्रोवसको दैनिकी हो ।   

मंगलबार मात्रै वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरसबाट संक्रमित अहिलेसम्म एकजना नभएको भनि झुट बोलेको दावि गरेका छन् । उनले संकास्पद बिरामीहरुको चेकजाँच नै नगरि सरकारले भ्रम फैलाएको बताउँदा समग्र राज्य सम्यन्त्रमा प्रश्न उठेको छ । नेपालमा कोरोना भाइरस चेक गर्ने किट समेत नभएको दाबी गर्दा सरकारले त्यसको जवाफ फर्काउन सकेको छैन । यदी डा. दिक्षितकै भनाईलाई आधार मान्ने हो भने अहिले सम्म सुरक्षित देखिएको नेपाल भित्रभित्रै इटलीभन्दा गए गुज्रेको अवस्थामा अनुभूत गर्न सकिन्छ ।   

इटलीमा दुई हप्ता अघिसम्म कोरोनाको खासै असर देखिएको थिएन, तर अहिले चीनपछि सबैभन्दा बढी इटलीमा कोरोना फैलिएको छ । इटलीमा बिहीबार बिहानसम्ममा २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ, भने ४० हजार २५ जना संक्रमित भएका छन् । त्यहाँ बुधबार एकै दिनमा ४ सय ७५ जना र ज्यान गएको छ । युरोपकै विकसित देशमा त यस्तो अवस्था छ भने हामी विकाशोन्मुख देशको अवस्था कस्तो होला ? कोरोना इटालीमा जसरी नेपालमा फैलियो भने, त्यसको भेउ पाउन पनि हामी सक्ने अवस्थामा छैनौं ।   

खाद्यान्नको कालोबजारी रोक्न सरकार केही हदसम्म प्रभावकारी देखिएपनि जनतामा पुनः खाद्यान्न अभाव हुने होकि त्रास उत्पन्न भएको छ । खाना पकाउने इन्धन ग्यासको अभाव बजारमा छ ।  ग्यास उत्पादक र आयल निगमले पटकपटक इन्धन अभाव हुँदैन भनेर सर्वसाधारणलाई विस्वस्त पार्ने प्रयास गरेपनि असफल भएको छ । सर्वसाधारण ग्यास र प्रेटोलियम पदार्थको लाइनमा बसिरहेका छन् । बजारमा मास्कको अभाव देखिएको तीन हप्ता बढि भइसक्यो । संकटको घडीमा सहयोगको भावना जागृत गराउनु पर्ने बेला कालोबजारी गर्नेहरुले मास्कको खेती गरिरहेका छन् ।   

संकट कुनै घण्टी बजाएर आउँदैन । यो जुनसुकै रुपमा जुनसुकै समयमा आउँछ । २०७२ सालको भूकम्पपनि थाहा दिएर आएको हैन तर, हामीलाई भूकम्प जान्छ भन्ने त थाहा थियो । अहिलेको कोरोनाको विश्वव्यापी कहरपनि त्यस्तै हो । दैनिक रुपमा पृथ्वीको वातावरण विग्रँदै गएको अवस्थामा यस्ता महामारी आउँछ भन्ने थियो तथापि, हामीले नै सतर्कता अपनाउन नसकेका हौं । वा हामी आफैंले हाम्रो विनास निम्त्याएका हौं ।   

यो बेला संकट आयो भनेर गफ गरेर बस्ने बेला हैन । अब सर्तकता र सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने बेला हो । सरकारकै आंकडालाई हामीले विश्वास गर्ने हो भने, नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण फैलिएको छैन । तर, नआउला भन्न सकिन्न । त्यसकारण विश्वव्यापी संकटमा हामी सबैले एक जुट भएर जुध्नु पर्ने अवस्था छ । यो विषयमा राज्यले प्रभावकारी योजना अगाडि बढाउँदा आम जनताले पनि त्यसमा साथ दिन पर्दछ । भने, नेपाल आफैं एक्लैले यो महामारीबाट बाहिर निस्कन सक्दैन । त्यसकारण विश्वका जुनसुकै देशसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *