कोरोना रोक्न ‘चिनियाँ मोडल’ अपनाउने तयारी थाल्दै सरकार

चैत १०, काठमाडौं । सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए ।  

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो । दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् ।  

चीनबारे जानकार तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्यु जस्तै अवस्था बनाएर खानेपानी, खानेकुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो । ‘चीनमा अनलाइनबाट खानाको अर्डर गर्न सहज छ । राज्यले मानिसलाई घरमै राखेर सेना, प्रहरी लगायतमार्फत आवश्यक सामान उपलब्ध गरायो,’ उनले भने, ‘सबैजसो घरमा गएर परीक्षण गरियो । पोजेटिभ देखिएका र निमोनिया लागेकालाई अस्पतालमा लगेर उपचार गरियो ।’ 

चीनको यो मोडललाई सुरुमा पश्चिमाहरूले मानव अधिकार हनन तथा अमानवीय व्यवहार भनी प्रतिक्रिया दिए । तर यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिराखेका छन् । दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले चीनको जस्तो लकडाउन गरेनन् । ‘उनीहरूले प्रविधिलाई साथमा लिएर अलि डेमोक्रेटिक हिसाबले गरेका काम छन् । दक्षिण कोरियाले ठूलो संख्यामा क्याम्प खडा गरेर निमोनिया र कोभिड–१९ का लक्षण देखा परेकालाई परीक्षण गर्‍यो र उपचार गर्‍यो,’ सापकोटाले भने, कान्तिपुरमा समाचार छ ।  

‘उनीहरूले लकडाउन कम समय गरे । चीनले चाहिँ यातायातलगायत सबै बन्द गराएको थियो,’ उनले भने । सापकोटा चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा अलि बढी प्रभावकारी हुने बताउँछन् । 

 ‘राज्यले नै सेवा सुविधा प्रवाह गर्दा प्रभावकारी हुने देखियो । यो मोडल प्रभावकारी देखियो । सुरुमै अस्पताल भर्ना हुँदा ठीक भएको संख्या पनि ठूलो छ । तर इटालीको अवस्था विकराल छ,’ उनले भने । सापकोटाका अनुसार चिनियाँ मोडल जस्तै गर्न पूर्वाधारको तयारी र परीक्षण किट्सबाट बढी परीक्षण गर्नुपर्छ । चीनले छोटो समयमा अस्पताल पनि निर्माण गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *