कहिले बन्छ कोरोना भाइरसविरुद्धको औषधि ?


चैत १४, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि औषधि र खोप अहिलेसम्म बनेको छैन ।
कोरोनाको महामारी सुरु भएको झण्डै तीन महिना पुगेको छ तर यस भाइरसविरुद्ध औषधि र खोप अहिलेसम्म बन्न नसकेको हो । विश्वका वैज्ञानिकहरु कोरोनाविरद्ध लड्नका औषधि र खोप निर्माणमा दिनरात खटिरहेका छन् । विभिन्न वैज्ञानिक पद्धति अनुसार उनीहरुले अनुसन्धान गरिरहेका हुन् ।
तर हालसम्म वैज्ञानिकहरु कुन औषधिले कोरोनाका बिरामी निको हुन्छन् भन्ने पत्ता लगाउन सकिरहेका छैनन् । विश्वभर स्वास्थ्य आपतकाल घोषणा भएको अढाई महिना पुगेको छ ।
null
विश्वभरी महामारीको रुपमा यसलाई परिभाषित गरिएको समेत तीन साता पुग्ज लाग्दा विश्वभरका वैज्ञानिकहरु, औषधि उत्पादक संस्थाहरु औषधि पत्ता लगाउन खटिरहेका छन् । तर, अहिलेसम्म यसको उपचारको खोजी गर्न असमर्थ भएका छन् ।
अहिले करिब ३५ कम्पनीहरु र शैक्षिक संस्थाहरूले कोरोना बिरुद्धको खोपको खोजी गरिरहेको द गार्जियनमा प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तो खोप सिर्जना गर्ने प्रयास जारी राखेका मध्ये चार वटा संस्थाले पहिले नै जनावरहरूमा यसको परीक्षण गरिसकेका छन् । यी मध्ये पहिलो बोस्टनमा आधारित बायोटेक फर्म मोडर्नाले छिट्टै यो खोपको मानिसहरुमा समेत परीक्षण गर्ने बताएको छ ।
अर्कोतर्फ अघिल्लो सोमबारदेखि अर्थात् मार्च १६ देखि नयाँ कोरोनाभाइरसको लागि गरिएको पहिलो प्रयोगात्मक भ्याक्सिन परीक्षणको सुरुवात भएको छ । न्यूयोर्क टाइम्सका अनुसार यो परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिजले सुरु गरेको हो ।
कोरोना भाइरसको कारण मानिसहरुको मृत्यु हुन थालेको र यसले तीब्र रुपमा मानिसहरुमा फैलिन थालेको झण्डै साढे २ महिना पछि यसको भ्याक्सिन परीक्षण सुरु भएको हो । यस्तै परीक्षणहरु चीनमा र अरु देशहरुमा समेत चलिरहेको छ ।
उसो त केही दिन अघिमात्रै चीनले पनि कोरोना बिरुद्धको खोपको परीक्षण सुरु गरेको समाचार पनि सार्वजनिक भएको थियो । यो परीक्षणको मुख्य लक्ष्य भनेको खोप सुरक्षित छ कि छैन भनेर पत्ता लगाउनु मात्रै हो । यदि यो खोप सुरक्षित छ भन्ने यकीन भएपछि मात्रै यसले कोरोना रोक्नको लागि कत्तिको काम गर्छ भन्ने परीक्षण छुट्टै हुनेछ ।
जानकारहरुका अनुसार द्रुत प्रगतिका बाबजुद यो खोप भाइरस बिरूद्ध सुरक्षित र प्रभावकारी साबित भएपनि यो कम्तिमा एक वर्षसम्म बजारमा उपलब्ध हुनेछैन । त्यसैले विश्वका ठूला ठूला औषधि कम्पनी, विश्वविद्यालय र बायोटेक स्टार्टअप कम्पनीहरू समेत हट सिटमा बसेर यसको उपचारको खोजी गरिरहेका छन् ।
यसका लागि नयाँ आविष्कारको खोजीमा रहेका कम्पनीले खोपको लगानी पनि कम्तीमा ८ सयमिलियन डलर खर्च लाग्ने बताएका छन् र यदि पत्ता लागिहाल्यो भने पनि कम्तीमा स्वीकृत हुन १ वर्षभन्दा बढी लाग्न सक्छ ।
