लकडाउनमा श्रीमती मधुसँग यसरी नाचे राजेश हमाल


चैत्र १८, काठमाडौं । महानायक राजेश हमाल यतिबेला सोसल मिडियामा छाइरहेका छन् । अरु बेला सामाजिक काम र मेला महोत्सवमा ब्यस्त राजेश हमालको दैनिकी फुर्सदिलो भएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै राजेश हमालको दैनिकी बदलिएको हो । त्यसो त लकडाउनमा घर बाहिर निस्कन नपाउने भएपनि सेलिब्रेटीको मात्र हैन आज नागरिकको समेत दैनिकी बदलिएको छ ।
अहिले राजेश हमाल दैनिक जस्तो फेसवुकमा भिडियो शेयर गरिरहेको भेटिन्छ । लकडाउन शुरु हुने वित्तिकै जनतालाई कोरोना भाइरसबाट कसरी बच्ने सन्देश दिएका हमालले त्यसपछि होम क्वारेन्टाइनलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्देश दिए ।
काठमाडौं गुर्जुधारास्थित घरमा श्रीमती मधुसँग रोमान्टिक जिवन विताइरहेका हमाल कहिले गीत गाउँछन् त कहिले विहानै शारिरीक कसरत गरेको भिडियो पोस्ट गर्ने गर्दछन् ।
आइतबार उनले ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल’ बोलको गीतमा मुखौटा लगाएर छमछमी नाचेको भिडियो भाइरल भइरहेको छ । हमाल नाच्दै गर्दा विचमा मधुपनि आएर हमालको नृत्यमा साथ दिएको उक्त भिडियोमा दुवै जना रोमान्टिक मुडमा देखिएका छन् ।
महानायक हमाल बैवाहिक जिवनमा प्रवेश गरेसँगै फिल्मी क्षेत्रमा कमै सक्रिय छन् । त्यसो त उनका पछिल्ला फिल्महरुले आशातित सफलता पाउन सकेन । सकुन्तला र बागमती फिल्म असफल भएपछि हमालले पुनः फिल्म क्षेत्रमा फर्कने हिम्मत गरेका छैनन् । बरु विभिन्न रियालिटी शो र कार्यक्रमहरुमा हमालको ब्यस्त दैनिकी छ ।
