ललिता निवास प्रकरण : ‘नेपाल र भट्टराईलाई किन मुद्दा लगाइएन ?’

फागुन ३, काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि भ्रष्टाचार मुद्दा नलगाउनुको कारण माग गरेको छ । 

नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन मागसहित दायर रिटमा सर्वोच्चले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित कारण मागेको हो । प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेस गर्न अख्तियारलाई आदेश दिएको छ । विपक्षी बनाइएका पूर्वप्रधानमन्त्रीद्वय नेपाल, भट्टराई र महान्यायाधिवक्ता कार्यालयका हकमा भने लिखित जवाफ पेस गर्नु नपर्ने आदेश भएको छ । नीतिगत निर्णयका नाममा व्यक्तिले कारबाहीबाट उन्मुक्ति पाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले रिट दिएको समाचार अन्नपूर्णमा छ ।   

निर्वाचन घोषणापत्रमा उल्लेख भएका कुरा लागू गर्ने क्रममा मन्त्रिपरिषद्ले गरेका निर्णय मात्र नीतिगत हुने नजिर सर्वोच्चबाटै प्रतिपादन भएको अवस्थामा उच्च ओहोदाका व्यक्तिलाई उन्मुक्ति दिइएको दाबी नेउपानेको थियो । नेपाल र भट्टराईमाथि पुनः अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग रिटमा  छ। 

समाचार अनुसार नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई पनि मुद्दा चलाइनुपर्ने जिकिर न्यौपानेको छ । इजलासले अख्तियारलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्चले रिट निवेदनको विषयवस्तु विचार गर्दा चाँडो किनारा लगाउनुपर्ने प्रकृतिको देखिएको भन्दै ‘अग्राधिकार’ प्रदान गरेको छ। 

अख्तियारले ललिता निवास हिनामिनामा नीतिगत निर्णयको विषय भन्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि भने मुद्दा चलाएको छैन । यो प्रकरणमा तत्कालीन भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारसहित विशिष्ट व्यक्तिलगायत एक सय ७५ जनामाथि मुद्दा चलाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *