…जो श्रृंगारी रहेछन् प्रताप मल्लको रानीपोखरी !

माघ २३, काठमाडौं । ३५ वर्षीय सरीता तामाङ बिहान साढे ९/१० बजेतिर ठडिँदै गरेको प्रताप मल्लको रानीपोखरीमा आइपुग्छिन् । कपडा फेर्छिन् । शिरमा फेटा गुथ्छिन् । कम्मरमा पछ्यौरी कस्छिन् । खुट्टामा बुट, हातमा पञ्जा लगाउँछिन् र सुरु गर्छिन् काम ।
काम ? भागमा परेको सबै गर्छिन् ! भारी बोक्ने, मसला घोल्ने, पुटिङ लगाउने, सबै ।
सरीताले यो क्षेत्र (पुनर्निर्माण, निर्माण) मा मजदुरी गरेको झण्डैँ ३ वर्षजति भयो । २ वर्षजति स्वयम्भूको बिजेश्वरी मन्दिर पुनर्निर्माणमा काम गरिन् । ६ महिनाजति गोकर्णको खोला छेउमा रहेको महादेवको मन्दिर पुनर्निर्माणमा पनि उनले ईंट्टा थपेकी थिइन् । ती दुई धार्मिक सम्पदा ठड्याउनमा उनको अहम् भूमिका रह्यो ।

अहिले २०७२ साल, वैशाख १२ गतेको भूकम्पले तहसनहस बनाएको प्रताप मल्लको रानीपोखरी सिंगार्दैछिन् उनी । विगत ६ महिनादेखि दैनिक रानीपोखरी धाउनु उनको दैनिकी बनेको छ ।
ठेकेदार देवरत्न महर्जनमार्फत् रानीपोखरीमा आइपुगेकी हुन् उनी । ‘बिजेश्वरीमा ठेकेदार देवरत्न महर्जनलाई चिनेकी थिएँ । पछि रानीपोखरीमा पनि काम पाइन्छ कि भनेर सोधेँ, उहाँले आउनु भन्नुभयो अनि काम सुरु गरेँ’, सरीता भन्छिन् ।
ज्याला ? सुरुमा त भन्नै अक्मकाइन् । ६५० रहेछ ! दिनको । गोकर्णको मन्दिर बनाउँदा भने ७ सय पाएकी थिइन्, बिजेश्वरीमा त झनै कम, ५ सय ।
पुरुषको तुलनामा ज्याला निकै कम छ । माघको पहिलो हप्ता रानीपोखरी पुग्दा ठेकेदार महर्जनले ‘सामान्य काम गर्नेलाई पनि एक हजार रुपैयाँ दैनिक दिनुपर्छ । डकर्मीलाई भने दिनको २२ सय बढी दिनुपर्छ । बिहानको खाना पनि खुवाउनुपर्छ’ भनेका थिए । सरीताको कुरा मान्ने हो भने यो ज्यालादर पुरुषको हो । किनकी उनको (सरीताको) ज्याला ६५० मात्रै छ ।
सरीता तामाङ
तर पनि सन्तुष्ट छिन् उनी । ठेकेदार महर्जन विश्वासिला लाग्छन् उनलाई । भन्छिन्– ‘पुरुषको तुलनामा ज्याला कम छ । उहाँहरु जस्तो जुँझारु रुपमा काम गर्न सक्दैनौँ भनेर होला ज्याला कम दिनुभएको । तर सन्तुष्ट नै छौँ । आवश्यक परेका बेला ठेकेदारले तुरुन्तै दिनुहुन्छ पैसा । टाढा हुनेलाई गाडीभाडा पनि दिनुहुन्छ । विश्वासिलो हुनुहुन्छ ।’
‘पुरुष सरह काम गर्न सक्छु, गरेकी छु’ आफैं प्रति विश्वस्त छिन् उनी । तर अहिलेसम्म ज्याला विभेदको कुरा उठाएकी भने छैनन् । ‘ज्यालाको कुरा उठाएर के गर्नु ? महिला मजदुर कति नै छन् र रानीपोखरीमा ? लफडा मात्रै’ भन्ने पनि लाग्दो हो । उनलाई थाहा छ, हाम्रो देशमा महिला विभेद हटेको छैन । त्यसैले चुप छिन्, सायद ।
अन्य कामको तुलनामा यो काम निकै गाह्रो छ भन्छिन् सरीता । बानी नहुँदा झनै गाह्रो हुन्थ्यो उनलाई । शरीर पनि असाध्यै दुख्थ्यो । अहिले भने भार खेप्ने बानी परिसक्यो उनको शरीरलाई । गाह्रो त हुन्छ तर पहिलेको भन्दा कम ।
गाह्रो भयो भनेर कोठामा पुगेर आरामले बस्न पाउँदिनन् उनी !
अभिभावक हुन्, छोराछोरीको लालनपालनको जिम्मेवारी उनको काँधमा छ ।
६ वर्षीय एक छोरा र ११ वर्षीया एक छोरी छिन् । सानै छन्, खाना बनाउन सक्दैनन् । गएर आफैँले बनाउनै पर्छ । खुवाउनै पर्छ । दिनभरी जोतिएको ज्यान, थकाइ लाग्यो भनेर सुख कहाँ ?
श्रीमान् काठमाडौं भएको भए अलि सहज हुन्थ्यो होला, तर उनी त भारतमा छन् । व्यापारको शिलशिलामा । सरिताको एक्लो ज्यानले कतातिर भ्याउनु ?
स्वयम्भू बस्छिन् । ५ बजे छुट्टी हुन्छ । त्यहाँदेखि हिँडेरै आउँछिन्, हिँडेरै जान्छिन् । आधा घण्टा लाग्छ ।
काममा पनि छोराछोरीकै चिन्ता हुन्छ । आमा न हुन्, विद्यालयबाट आए, के गरिरहेका होलान्, खाजा खाए कि खाएनन्, चलेर पो बसेका छन् कि…यी तनाव त सामान्य हुन् ।
काठमाडौंमा व्यवहार धान्न, परिवार पाल्न पनि गाह्रै छ ।
छोराछोरीको मासिक शुल्क मात्रै ५ हजार बुझाउनुपर्छ, विद्यालयमा । कोठाभाडा ४ हजार । कापी, किताब, कलम, टिफिन किनिदिनै पर्यो । १०/२० रुपैयाँ दिनकै मागिरहन्छन्, नाइँ भन्न सकिँदैन ।
छोराछोरीका लागि मात्रै २०/२५ हजार खर्चनुपर्छ ।
‘जे होस्, मैँले कमाएको पैसाले छोराछोरीको, पढाइ लगायतको खर्च टर्छ । श्रीमानको पैसा घरखर्चमा ठिक्क हुन्छ । गुजारा चलिरहेकै छ,’ सरीता सुनाउँछिन् ।
काभ्रे तिमालकी सरिता काठमाडौं आएको ८/९ वर्ष भयो । स्वयम्भूको बिजेश्वरीमा कोठा लिएकी छिन् । २/३ वर्षअघि उनको समय छोराछोरी स्याहार्दैमा बितिजान्थ्यो । सानै थिए । खाना बनाऊ, खुवाऊ, स्कुल पुर्याऊ, ल्याऊ यस्तै त्यस्तै ।
अहिले भने अलिकति ठुला भए । छोराछोरी स्कुल पठाएर काममा आउने फुर्सद मिलाएकी छिन् ।
सरिताको माइती नुवाकोट हो । २३ वर्षको उमेरमा काभ्रेका २१ वर्षीय पाल्देन तामाङसँग बैवाहिक बन्धनमा बाँधिएकी हुन् उनी । बिवाहपछि घरमा ३ वर्षजति बसिन् । घाँस–दाउरा गरिन् । खेती किसानी सम्हालिन् । पछि श्रीमान् काठमाडौं आए । उनीपनि छोराछोरी बोकेर सँगै आइन्, उनीहरुको शिक्षादिक्षा र उज्जवल भविष्यका लागि ।
हो, उनी छोराछोरीकै लागि काठमाडौं आएकी हुन् । किनकी उनले पढ्न पाइनन् ।
बुवा ज्याला मजदुरी गर्थे । खेती किसानीले धानेको थियो परिवार । परिवारको आर्थिक ह्याउ नै थिएन, उनलाई पढाउन । त्यसैले पनि उनलाई रानीपोखरीको इतिहास खासै थाहा छैन रे !
भन्छिन्– ‘मलाई यसको इतिहास राम्रोसँग थाहा छैन, अलिअलि सुनेकी छु । आफ्नै हातले रानीपोखरी पुनर्निर्माण गर्न पाउँदा निकै खुशी लागेको छ । आफ्नै घर श्रृंगारे जस्तो !’
मेनुका तामाङ
००० ००० ०००
काभ्रे नमोबुद्धकी ३८ वर्षीया मेनुका तामाङ पनि रानीपोखरी पुनर्निर्माणको काममा व्यस्त छिन् ।
दुई महिनाजति भयो रानीपोखरी पुनर्निर्माणमा जोडिएको । अहिले अलि सन्चो छैन । रुघाखोकीले सताएको छ । र, पनि काममा आएकी छिन् । बेकामले कोठामा बसिरहन मन हुन्न रे पटक्कै ।
वैशाख १२ गते रानीपोखरी उद्घाटनको घोषणाले काम छिटो सकाउनुपर्ने दबाब छ उनीहरुमा ।
मेनुका श्रीमानसँगै काठमाडौं आएको १० वर्षजति भयो ।
१४ वर्षको उमेरमै आफ्नै उमेरका केटासँग विवाह गरिदिए आमा बुवाले । बेरोजगार थिए । त्यति सानो उमेरमा गर्ने पनि के ? बा, आमाले अह्राएको गर्ने, खेल्ने खाने न हो ।
‘श्रीमानको बाबु–आमाले मलाई मन पराए, मेरा बाबु–आमाले श्रीमानलाई मन पराए, दिए । अहिले पो केटाकेटीको खुशी चल्छ, हाम्रो पालामा त बाबु आमाको खुशी चल्थ्यो । विवाह के हो थाहै नपाई गरिदिए’, विगत सम्झिँदै मेनुका भन्छिन् ।
बाबु आमाले विवाह गरेर दिने केटो (मेनुकाको श्रीमान्) को आर्थिक अवस्था, घर परिवार केही हेरेनन् । आफ्नै खुशीले विवाह गरिदिए ।
‘सानैमा विवाह गरिदिए । नपाउने दुःख पाइयो । छोरी मान्छेको भाग्य नै यस्तै !’
काठमाडौं आउने त उनको सोचै थिएन । ‘खेतीपाती, घाँसदाउरा गरेरै जिविकोपार्जन गर्छु भन्ने सोचेकी थिइन्, गरिरहेकी पनि थिइन् । तर सासु–ससुरा जाँडरक्सी खाने, धेरै । घरमा जहिल्यै कलह !
‘घरमा सधैँ कलह हुन थाल्यो । त्यसैले जे पर्ला त्यही टर्ला भनेर काठमाडौं आएँ’, उनले भनिन् ।
काठमाडौं आएलगतै अरुको घरधन्दाको काम गरिन् । दुई ठाउँमा । एक ठाउँमा १२ सय, अर्कोमा ८ सय थियो ज्याला । बिहान बेलुकै दुवै ठाउँमा जानैपर्ने । पछि त्यो काम गर्न मन लागेन उनलाई ।
छोडिन् र टायल, मार्बल, पुटिङको काम गरिन् । टायलको काम गर्दा खाजा, गाडीभाडासहित ७ सय ज्याला आउँथ्यो दैनिक । रानीपोखरीमा उही ६५० ज्याला छ, तर काम सजिलो छ उनलाई । भन्छिन्– ‘यता ज्याला थोरै भएपनि काम अलि सजिलो छ । समयमै पैसा आउँछ ।’
मेनुकाका श्रीमान् अहिले रंगको ठेकेदार हुन्, घर रंगाउने ठेक्का लिन्छन् । एक छोरा र एक छोरी छन् उनको । छोरी यो वर्ष एसएलसी दिँदैछिन् । छोरा ६ कक्षामा अध्ययनरत छन् ।
००० ००० ०००
२०७२ बैशाख १२ को भुकम्पले ध्वस्त बनाएको रानीपोखरी पुनर्निर्माणको काम २०७७ वैशाख १२ गते उद्घाटन गर्ने तयारीका धमाधम चलिरहेको छ ।
चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गरेकी रानीपोखरीमा पानी जमाउनका लागि कालोमाटो बिछ्याउने, पोखरीको बिच भागमा रहेको बालगोपाल मन्दिर ठड्याउने, पुल उठाउने लगायतका कामहरु भइरहेका छन् ।
पुरानो संरचना पूरै भत्काएर पुरानो शिखर शैलीमा निर्माण भइरहेको रानीपोखरीको बालगोपाल मन्दिर, वरिपरिका फुटपाथ, बगैंचा र पुलको ठेक्का सिएम तुलसी जेवीले १३ करोडमा लिएको हो । मन्दिरमा १६ वटा काठका पिलरहरु उठाइ सकिएको छ । पोखरीको काम भने उपभोक्ता समितिले हेरिरहेको छ ।








