कभर स्टोरीः चीनको हुवेईमा रहेका नेपालीलाई विमान चार्टर गरेर स्वदेश फर्काउने सरकारको तयारी


माघ १९, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले विमान चार्टर गर्न लागेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
आजका कान्तिपुर दैनिक, नयाँ पत्रिका, अन्नपोर्ण पोस्ट, रानधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक दैनिक तथा गोररापत्रले समेत कोरोना भाइरसबाट चीनमा रहेका नेपालीलाई संक्रमण हुन नदिन नेपालले उनीहरुलाई विमान चार्टर गरेरै ल्याउने तयारी गरेको समाचार छ ।
समाचार अनुसार कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काइने भएको छ । बेइजिङस्थित नेपाली दूतावासले उनीहरूलाई फर्काउन प्रक्रिया अघि बढाएको छ । यसका लागि नेपालबाट विशेष जहाज पठाउने तयारी भएको दूतावासले जनाएको छ ।
यस्तै, आइतबार बिहानसम्म फारम भर्न समय तोकिएको छ । सोहीअनुसार नेपालीले फारम भरेर दूतावासमा पठाउन थालेका छन् । स्वदेश फर्काउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सर्तसहित सहमतिपत्र तयार पारिएको हो । विमानबाट नेपाल ल्याउँदा खाना त्यहीं राख्ने, बसेको स्थानबाट अन्यत्र जान नदिने, परीक्षणपछि मात्र पठाइनेजस्ता उपाय अवलम्बन गरिनेछ । अन्य मुलुकले आफ्ना नागरिकलाई लैजाँदा पनि यस्तै नियम लगाएको जानकारी हुपेमा रहेका विद्यार्थीले दिएका छन् । त्यहाँ चिकित्सा शिक्षा अध्ययन गरिरहेकाहरूले यो विषयमा जोड दिएका हुन् । अन्नपूर्ण पोस्टमा उल्लेख छ ।
यसैगरी कोरोना भाइरसकै विषयमा नयाँ पत्रिका दैनिकले लेखेको छ । कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको छ । एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्धार प्रक्रिया सुरु भएको हो ।
नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने चीनले जवाफ पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ ।
नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्रा्ष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ । चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ ।
यस्तै कान्तिपुर दैनिकले ‘नोवल कोरोना संक्रमणः क्वारेन्टाइनमा राख्न ठाउँ खोजिँदै’ शिर्षकमा समाचार छापेको छ । समाचार अनुसार नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन ।
चीनमा भएका १ सय ७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भएरनभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो ।
नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फिराइनेहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने भएको छ । ‘चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ । सम्भावित स्थलको पहिचान गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले शनिबार कान्तिपुरसँग भने । चीनबाट आफ्ना नागरिकहरूलाई फर्काएका सबै मुलुकले अरू व्यक्तिसँग सम्पर्कमा आउन नपाउने गरी छुट्टै ठाउँ विशेष क्वारेन्टाइनमा राखेका छन् ।
चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने सुनिश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ । आइसोलेसनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ ।
नागरिक दैनिकले पनि ‘चीनबाट नेपाली नागरिक फर्काउने सरकारको तयारी’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर सो जानकारी दिएको हो ।
नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अघि नै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ । फारम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअघि फारम भरिसक्न दूतावासले आग्रह गरेको छ ।
फारम भर्नेको संख्या हेरेर विमान चाटर्ड गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै नेपाल समाचारपत्र, राजधानी दैनिक तथा गोरखापत्रले पनि कोरोना भाइरसकै समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ
