… त्यसो भए कानून नबनाऊँ !


फागुन २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तयार भएको बताएका छन् ।
आज (शुक्रबार) क्यान इन्फोटेक–२०२० को उद्घाटन समारोहमा सम्बोधन गर्दैउनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताएका हुन् । निजी क्षेत्रका लागि सरकारले गर्नुपर्ने सबै काम गरिदिएको उनको भनाइ छ ।
कार्यक्रममा उनले भने, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ । यहाँभन्दा कति मिल्ने निजी क्षेत्रसँग ? मिल्दा, मिल्दा हड्डी खिइसक्यो । के
पुगेन ? के गर्नुपर्यो ? सहकार्य सरकारले गरेकै छ । लगानी पनि गरिदिएकै छ । ’
सरकारी क्षेत्र मात्रै चम्किएर नहुने, निजी क्षेत्रले पनि दिएका अवसरहरु सदुपयोग गर्न सक्नुपर्ने उनले बताए । निजी क्षेत्रले पूर्वाधार विस्तार गरी जनतामा सेवा पुर्याए सरकार लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे ।
‘निजी क्षेत्रले सरकारले दिएको अवसर पनि सदुपयोग गर्नुपर्यो । पूर्वाधारमा सरकारले अनुदान दिएकै छ । सरकारले लगानी पनि गरिदिन्छ, व्यापार गर । पूर्वाधार विस्तार गर’, सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘तिम्रो सेवा पनि देऊ, दाम पनि कमाऊ भनेकै छौँ । तैपनि के गरेको छ त निजी क्षेत्रले ? केही पनि गरेको छैन ।’
यस्तै उनले रेडियो नेपालको ११८ रोपनी जग्गालाई नेश्नल नलेज पार्क बनाउने कुरामा सरकार सहमत रहेको बताए । यदि उक्त जमिनबाट ५÷१० व्यक्तिले रोजगारी पाउँछन्, त्यहाँबाट दक्ष जनशक्ति उत्पादन हुन्छन् अथवा हाम्रो क्षेत्रको व्यापारमा ठुलो फड्को मार्छ भने जमिन उपलब्ध गराउने काम ठुलो नभएको उनको धारणा थियो। त्यसको डिजाइन, त्यसलाई इनोभेटिभ बनाउने, त्यहाँबाट रोजगारीको अवसर सिर्जना गर्ने, त्यहाँ कस्ता–कस्ता कम्पनीहरु चलाउने, लगायतका योजना भने निजी क्षेत्रले गर्नुपर्ने उनले बताए ।
‘सरकारले जमिन उपलब्ध गराइदिन्छ । योजनाका काम तपाईँहरु गर्नुस् । ल अब निजी क्षेत्रको जाँगर हेरौँ न त । आओस् न त प्रस्ताव । हामी भवन समेत बनाउन तयार छौँ, ऋण नै काढेर । तपाईँहरु चलाउनुस्’, मन्त्री बाँस्कोटाले भने, ‘यो डिजिटल नेपाल भित्रकै कुरा हो । नीजि क्षेत्रको पाइँ हेर्नैपर्ने भो । ल आउनुस्, यसमा सहकार्य गरौँ ।’
यसमा सहकार्य गर्ने हो भने निजी क्षेत्र लगानीसहित आउनुपर्ने उनको भनाइ छ । गर्नुपर्ने जति सित्तैमा, निजी क्षेत्रले दिने के ? भन्दै उनले प्रश्न गरे ।
‘सहकार्य गर्ने हो भने लगानीसहित आउनुस् । तपाईँहरुको लगानी कति, सरकारको लगानी कति ? सञ्चालन तपाईँहरु नै गर्नुस् । सरकारले मोनिटरिङ मात्रै गर्छ । स्वीकार छ ? आउनुहोस्, कुन दिन सम्झौता गर्ने ? हामी तयार छौँ’, उनले भने ।
निजी क्षेत्र लगानी गर्न तयार नभएका कारण सहकार्य अगाडी बढ्न नसकेको पनि उनले स्पष्ट पारे । ‘निजी क्षेत्र लगानी गर्न तयार छैन । निजी क्षेत्रप्रति के आशा ? अब दृष्टिकोण स्पष्ट भयो होला । नीजी क्षेत्रसँग त्यतिकै झगडा गर्छ ? सरकारले यहाँभन्दा कस्तो वातावरण बनाइदिनु पर्यो ?’ उनले प्रश्न गरे ।
निजी क्षेत्रलाई वाह्य तत्वले उचालेको उनको भनाइ छ । कांग्रेसको सरकार भएचाहीँ के नै गथ्र्यो र भन्दै उनले व्यंग्य गरे । उनले भने, ‘कम्युनिष्ट हुनासाथ नीजि सबै समाप्त हुन्छ ? सरकार हो यो पनि । कसले के लाइदिएको छ । कांग्रेस नै हुन्थ्यो भने चाहीँ यहाँ भन्दा के दिन्थ्यो ? निजी क्षेससँग सहकार्य गरौँ भन्दा भएन भने ल आउनुस् अब अंगालो मारौँ । आज भ्यालेन्टाइन डे ’!
यस्तै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल नियमनका विषयमा बाहिर उठेका विरोधका विषयमा असन्तुष्टि पोखे ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पुस १४ गते पारित भएको सूचना प्रविधिसम्बन्धी विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउने लगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
विधेयकको दफा ९४ मा जातिय भेदभाव, अबहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्काए, धम्काए, झुक्याए, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरे, ऐनविपरीत अन्य कुनै काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ ।
मन्त्री बाँस्कोटाले भने, ‘जिस्काउन नपाउने भन्दा विरोध निस्कियो । आफ्नैलाई जिस्काए त ठिकै छ, अँगालो मारे पनि ठिकै भो । अर्काकासित पनि हैरानी गर्ने, राती सुतेको समयमा पनि हैरानी गराउन थालियो भने दनक नखाए के गर्ने ? यसमा पनि विरोध ? हैरानी गराउन पाइने हो ?’
कानून निमुखाहरुलाई सुरक्षा दिन, अपराधलाई दायरामा ल्याउन, व्यापार वा त्यससँग सम्बन्धित रहेको कारोबारलाई सहजीकरण गर्न वा पारदर्शिता स्थापित गर्न ल्याइएको उल्लेख गर्दै गलत नियत राखेर कसैलाई हैरानी गराउन पाउने डिजिटल डिभाइसहरुको प्रयोगमै रमाउने हो ? डेमोक्रेसी भनेको यही हो ? यसलाई वैद्यता दिनुपर्ने हो ? भन्दै प्रश्न गरे ।
‘क्राइम कन्ट्रोल गर्न पनि नपाउने सरकारले ? त्यसो भए कानून नबनाऊँ । सबैचिज छोडिदिउँ, जस्तो जे हुन्छ, हुन्छ । जसको शक्ति उसको भक्ति । ठुलाले सानो माछो खान्छ, सकियो । किन चाहियो सुरक्षा ?’, उनले भने ।
