‘शिवरात्रीका दिन गाँजा, भाङ, धतुरो खानुपर्छ भनेर शास्त्रमा भनिएको छैन’

फागुन ९, काठमाडौं । प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन पर्ने हिन्दू धर्मावलम्बीहरुको मुख्य चाड महाशिवरात्रि पर्व आज मनाइँदै छ । आज बिहानैदेखि देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । 

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ । विशेषगरी यस दिन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । शिवभक्तहरु रातभर जागा बसी नाचगान गर्ने गर्दछन् ।   

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । त्यस्तै गंगाजल अथवा पवित्र तीर्थस्थलका जल पनि शिवजीलाई अर्पण गरिन्छ । 

भगवान शिव र शिवरात्री   

भगवान शिव अनौठो आकृतिका देवता हुन्, जो वस्त्र धारण गर्दैनन् । शिरमा गंगा (नदि) बगिरहेको छ । उनको स्वभाव विचित्रको छ । गलामा नागको माला लगाउँछन् । मसानघाटमा बस्न रुचाउँछन् । 

सामान्यतया देवतालाई मान्छे आफैँले आफ्नो बुद्धी, विवेक र सुविधाले परिकल्पना गर्छन् र त्यही अनुसारको आकृति कोर्छन् भनिन्छ । तर भगवान शिव मानिसको कल्पनाशक्ति भन्दा फरक देखिए । त्यसैले पनि उनको छुट्टै महत्व छ । यसलाई बुझ्न सकेमा अध्यात्मिक, दार्शनिक रुपमा मनुष्यहरु चिन्तनको गहिराईमा पुग्न सक्ने ज्योतिष÷पण्डित डा. गुरु प्रसाद सुवेदी बताउँछन् ।   

‘शिव तत्व भनेको हामी सबैलाई कल्याण गर्ने तत्व हो । यसको आरधनाबाट विचार र भावनाको गहिराईमा पुगि जीवन सफल बनाउनुपर्छ’, उनले भने ।   

शिवरात्रीको रात्री शब्दको अर्थ ‘रा’ भनेको सुख र ‘त्री’ भनेको दिने भन्ने हुन्छ । यसर्थमा संस्कृतमा सुखदाय भन्ने पनि एउटा यसको अर्थ छ । अर्को ब्रम्हा र विष्णुको बिचमा विवाद भइरहेको बेला ज्योतिको रुपमा भगवान शिव प्रकट भएको समयको रुपमा पनि शिवरात्रीको महिमा उल्लेख गरिएको छ । यसका विभिन्न कथाहरु समेत छन् ।   

पशुपतिमै भीड किन ?   

ज्योतिष-पण्डित डा. गुरु प्रसाद सुवेदीका अनुसार वेदलाई विश्वकै सबैभन्दा पुरानो ज्ञानको भण्डारका रुपमा लिइन्छ । यसमा सबै मन्दिरहरुको वर्णन भएको पाइँदैन । तर पशुपतिनाथ मन्दिरको चर्चा भने वेदमा छ ।  

अन्य ठाउँमा भनेको मानवनिर्मित मन्दिर हुन सक्छ तर पशुपतिमा शिव तत्वको स्थापना कोही खास व्यक्तिले नगरी दिव्य शक्तिका रुपमा अनाधिकालमै पशुपतिनाथ उत्पति भएको कथनहरु छन् । त्यसैले पशुपतिको विशेष महत्व छ ।   

हुन त भगवान शिवका पत्थर, पर्वतहरु, नदिनालाहरु लगायत शिवको हस्तमूर्तिहरुमा ज्ञानी, महात्माहरुले दर्शन पाउँछन् भनिन्छ । त्यो दृष्टि नपुगेका मनुष्यहरुले पशुपतिनाथमा शिवको दर्शन प्राप्त गर्न सक्छन् भन्ने किंवदन्तीहरु पनि छन् । त्यसैले पनि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ ।   

यद्यपी पशुपतिनाथ जान नसक्नेहरुले नजिकैका शिवालयहरुमा पनि भगवान शिवको दर्शन गर्न सक्नेछन् ।   

नागाबाबा र मनोकामना   

नागाबाबाहरुको आशिर्वादबाट मनोकामना पुरा हुन्छ, सिद्धी प्राप्त हुन्छ भन्ने कुरा केही हदसम्म साँचो भएको पण्डित डा. सुवेदी बताउँछन् ।   

उनका अनुसार शिव तत्व साक्षात्कार गरिसकेका ज्ञानी, सिद्ध महात्मा, महापुरुषहरुले जसले साधनाबाट हाम्रो लौकिक दृष्टि भन्दा भिन्नै किसिमका ज्ञानहरु प्राप्त गरेका हुन्छन् । त्यस्ता योगी, सिद्धहरु बाहिर निस्कदैनन् । उनीहरु गोप्य रुपमा लुकेर साधना गरिरहेका हुन्छन् ।   

यस्ता सिद्ध महात्माहरु जहिलेसुकै बाहिर निस्कँदैनन् । शिवरात्रीको बेलामा मात्रै शिव तत्वको दर्शनका लागि पशुपतिनाथ मन्दिर आउने भएको हुनाले उनीहरुको आशिर्वादबाट सिद्धी प्राप्त हुन्छ भन्ने अपेक्षा राख्नु ठिकै थियो ।   

तर त्यसलाई आफ्नो स्वार्थको रुपमा शिवरात्रीका दिन उपयोग गर्ने जोगी, साधुहरु पनि हुन्छन्,  जो विचार, ज्ञानसँग सम्बन्ध राख्दैनन् । केवल दुव्र्यसनकै रुपमा गाँजा खाइरहेका हुन्छन् । विषयको कामनाले यस्ता साधुहरुको पछि लागिरहनु जरुरी छैन । आएका जति सबैलाई श्रद्धाभावले सम्मान भने गर्नुपर्छ ।   

गाँजा खानैपर्छ भन्ने शास्त्रमा छैन 

शिवरात्रीका दिन भगवान शिवको प्रसादका रुपमा गाँजा, भाङ, धतुरो खाने प्रचलन पनि छ । यद्यपी शिवरात्रीका दिन गाँजा, भाङ, धतुरो खानुपर्छ भनेर शास्त्रमा कहीँ पनि उल्लेख नगरिएको पण्डित डा. सुवेदीले बताए ।   

‘शिवारत्रीका दिन गाँजा खानुपर्छ भनेर शास्त्रमा कतै उल्लेख गरिएको छैन । ती कुरा किंवदन्तीका रुपमा आएका हुन् । शिवजीले गाँजा खानुभयो भन्ने हो भने उहाँले विष पनि खानुभएको छ । हामी विष खाने त ? त्यसकारण दुव्र्यसनका पछि नलागौँ’, उनले भने ।   

आगोको महत्व प्राकृतिक तालमेल 

शिवरात्रीका दिन एकपटक भने पनि आगो ताप्नैपर्छ भन्ने चलन पनि छ । यद्यपी यी कुरा पनि शास्त्रमा नभएको डा. सुवेदीले बताए ।   

‘यो प्रकृतिसँगको तालमेल र हाम्रो सामान्य वातावरणसँग सम्बन्धित कुरा मात्रै हो । यस्तो सानोतिनो हाम्रो प्रचलनका सबै कुरा शास्त्रमा हुँदैनन् । शिवरात्रीको मुल रुप भनेको शिवतत्वसँग नजिकमा रहने भन्ने मात्रै हो । अन्य कुराहरु मानिसहरु आफैँले आफ्नो सुविधा अनुकुल चलाएका परम्परा हुन्’, उनले भने ।   

यस्तो छ पशुपति दर्शन मार्ग   

महाशिवरात्री पर्वमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आउने भक्तजन तथा दर्शनार्थीलाई सहज, सुरक्षित र छिटो दर्शन गराउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिएका छन् ।   

उनका अनुसार आज मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दर्शनार्थीको एउटा लाइन हुनेछ भने बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमागी भवन अगाडि भएर चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाइन हुनेछन् ।   

आवश्यकता अनुसार तिलगङ्गा राम मन्दिरतर्फ समेत एक लाइन हुन सक्ने उनको भनाइ छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरु जुन मार्गबाट मन्दिर प्राङ्गणमा प्रवेश गर्छन्, सोही मार्गबाट फर्कनुपर्ने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव ढकालको भनाइ छ ।   

पार्किङ तथा ट्राफिक व्यवस्थापन 

तिलगङ्गा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्तरट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा दर्शनार्थीले पार्किङ गर्न सक्नेछन् ।   

पाँचहजार स्वयंसेवक परिचालन, भाङ र गाँजा प्रतिबन्ध   

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ ।   

त्यस्तै सो दिन पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड, रक्सी जस्ता नशालु पदार्थ सेवान गर्न समेत प्रतिबन्ध लगाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *