कोरोना भाइरसका कारण ब्यापार घाटा, मुख्यमन्त्री अफ्टेरोमा, रामदेव एक हजार योगगुरु लिएर नेपाल आउने

फागुन ८, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरकफरक विषयलाई शिर्ष समाचार बनाएका छन् । आजको नागरिक दैनिकले नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको संक्रमणले परेको असरलाई उठान गरेको छ ।   

नागरिक दैनिकका अनुसार नेपालकालागि चीन दोस्रो ठूलो ब्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा शंकुचन ल्याउने देखिएको छ । नागरिक दैनिकले सत्तारुढ नेकपामा देखिएको विवादलाई पनि मुख्य समाचार बनाएको छ ।   

आजको कान्तिपुर दैनिकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल आफ्नै कार्य शैलीका कारण अफ्टेरोमा परेको समाचार छ । आसगरी प्रदेश सरकार सञ्चालनमा, पार्टी र संसदीय दलमा कुनै छलफलै नगरी आफुखुसी चल्न थालेपछि बगमती प्रदेशका मुख्यमन्त्री पौडेल प्रति आफ्नै दलका सांसदहरुको अविस्वास बढेको छ । यस्तै गरी आजको कान्तिपुरले चिनियाँ दुतावासको विज्ञप्ति प्रति आपत्ति जनाएका सम्पादकहरुको समाचार पनि अग्र पृष्ठका प्रकाशित गरेको छ ।   

नेपाल समाचारपत्रले नेपाल भ्रमण वर्षको अवसरमा भारतबाट एक हजार योग गुरु नेपाल आउने समाचार प्रकाशित गरेको छ ।   

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् । 

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित रामदेव नेपाल आउने पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए । आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपूजा गर्न रामदेव नेपाल आउन लागेका हुन् । उनी सोही महिनाको २६ गतेसम्म नेपालमा रहने कार्यक्रम छ । 

रामदेवको साथमा आचार्य बालकृष्णसहित अन्य गुरुको समेत सहभागिता रहने बताइएको छ । पाँच दिनअघि नेपाल भ्रमणमा आएका आचार्य बालकृष्णले रामदेवको भ्रमणको मिति तय गरेका हुन् । 

आजको अन्नपूर्ण पोस्टले धर्म सन्तानका नाममा युरोपमा नेपाली बालबालिका तस्करी भएको समाचार प्रकाशित गरेको छ । आकाश क्षेत्रीले लेखेको समाचार अनुसार सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र÷पुत्री बनाएर विदेश र्पुयाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ । तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ । 

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ । 

नयाँ पत्रिका दैनिकले भने लघुवित्त कार्यक्रमले चर्को ब्याज असुलेको समाचार प्रकाशित गरेको छ । लघुवित्त संस्थाहरुले २ प्रतिशत सस्तो ब्याजको पैसा ल्याएर ऋणीलाई ३० प्रतिशत सम्ममा ब्याजमा लगानी गर्दा ऋणीहरुको उठिबास भएको छ । ‘विपन्नबाट १९ प्रतिशत ब्याजः १४ करोडमा खुलेको लघुवित्तको मुनाफा ६ महिनामै साढे २२ करोड’ शिर्षकमा प्रकाशित समाचार अनुसार ग्रामिण क्षेत्रमा लघुवित्त संस्थाहरुले कमजोर आर्थिक अवस्था भएकालाई ऋण दिएको नाममा चर्को असुली धन्धा चलाईरहेका छन् ।   

राजधानी दैनिकले भने, राजधानीमै अतिक्रमण हटाउन सकस शिर्षकमा समाचार प्रकाशित गरेको छ । साथमा चीनबाट उद्दार गरिएका १७५ नेपाली नागरिक स्वस्थ रहेको समाचार पनि छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *