शिशुलाई भोटो र तोरीको तकिया उत्तम, यस्तो छ वैज्ञानिक कारण

फागुन १७, काठमाडौं । फेसनअनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? 

अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङलाई भने नेपाली उत्पादक वस्तुमा नै मोह रहेको बताउँछन् । नेपाली मौलिक कटन वा सुतीका भोटा, चौबन्दी र सुरुवाल जाडोका लागि मात्र नभएर गर्मीमा पनि उत्तिकै उपयोगी हुने उनले जानकारी दिए । 

लैङ्गिक, राजनीति तथा संस्कृतिबारे छोटो अध्ययनका क्रममा फिनल्यान्ड अध्ययन गर्न पुगेका गुरुङलाई एक परियोजना ‘फिनिस बेबी बक्स’बारे बताइयो । यसअन्तर्गत भर्खरै सुत्केरी भएका आमालाई शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र शिशुका लागि केही जोर लुगा दिइनेरहेछ । 

दोस्रो विश्वयुद्धपछि प्रचलनमा आएको त्यो बेबी बक्साले फिनल्यान्डेली आमा र नवजात शिशुमा अत्यन्त राम्रो प्रभाव परको उनलाई थाहा भयो, आजको गोरखापत्रमा यलु जोशीले खबर लेखेकी छन् । अध्ययन पूरा भएपछि नेपाल फर्किएका गुरुङलाई त्यो बाक्सामा के–के सामान हुने रहेछन् विस्तृतमा हेर्न मन लाग्यो। हेलसिन्कीका साथीलाई सम्पर्क गरेर उनले एउटा बक्सा मगाइन् । 

आम नेपाली जस्तै गुरुङलाई पनि लागेको थियो, युरोपको ‘विकसित’ मुलुकमा नवजात शिशु र आमाका लागि तयार गरिएका सामान अत्यन्तै वैज्ञानिक होलान्, जुन उनले देखेकी थिइनन् । त्यो बक्सामा राखिएको एउटा गन्जी त ठ्याक्कै हामीले सानैमा लगाएको भोटो जस्तै रहेछ । फिनल्यान्डबाट आयातीत भोटो देखेपछि गुरुङले ‘फिनिस बेबी बक्सा’को नक्कल गर्नुपर्दैन, बरु नेपाली मौलिक कपडाको व्यवसाय सुरु गरे हुन्छ भन्ने सोचाइ आयो ।  

त्यसपछि उनी १ वर्षदेखि नेपाली समाजमा पुस्तौँदेखि चलिआएको शैलीमा भोटो र दौरासुरुवाल सिलाउँदै र बेच्दै छिन् । पोषणविद् डा अरुणा उप्रेतीका अनुसार बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, दौरा र सुरवाल लगाइदिनुपर्ने सुझाव दिन्छिन् । कटनको लुगा जाडोलाई मात्र नभएर गर्मीलाई पनि त्यत्तिकै उपयुक्त हुन्छ ।  

जाडोमा चिसोबाट बचाउँछ भने गर्मीमा पनि शीतल प्रदान गर्छ, भोटो लगाउँदा यसले विशेषगरी बालबालिकाको छातीमा सीधै हावा पस्न रोक्ने भएकाले यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन उपयुक्त मानिने उनले बताइन् ।  

नेपाली भोटोको वैज्ञानिक पक्षगुरुङले आफ्नो अनौपचारिक अनुसन्धानका क्रममा केही चाखलाग्दा कुरा पत्ता लगाए । आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन रु शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ? 

भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । आफ्नो सिकाइबारे गुरुङ भन्छिन्– बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ। टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन  । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ । 

उनलाई थाहा भयो, शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ । तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ  । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *