नेकपाभित्रको विवाद उत्कर्षमा : राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

फागुन १५, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ ।  

बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए । सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय आफूले नमान्ने र अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि पछिल्लो विवाद बढेको हो ।  

दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत खतिवडालाई नै फेरि मनोनयन गराउने ओलीको चाहना प्रस्ट रूपमा प्रकट भएको कान्तिपुरमा समाचार छ । यता बुधबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सचिवालय बैठकले भने खतिवडाको बहिर्गमनपछि राष्ट्रिय सभामा रिक्त हुने उक्त स्थानमा पार्टी उपाध्यक्ष गौतमलाई सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । 

यससँगै गत शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गर्ने र औचित्य एवं आवश्यकताका आधारमा संविधान संशोधनका लागि छलफल अघि बढाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए । ‘गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सचिवालयको सर्वसम्मत निर्णय हो, यही निर्णय नै लागू हुन्छ,’ उनले भने । यसअघि अध्यक्ष ओलीसँग निकट मानिने महासचिव पौडेलले सचिवालयको बहुमतले गरेको निर्णयतर्फ आफूलाई उभ्याएका छन् । 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको जानकारी पत्रकारलाई गराएका थिए । ‘पछाडिको डेभलपमेन्ट के भयो थाहा छैन, सचिवालय बैठकले वामदेवजीलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो,’ प्रवक्ता श्रेष्ठले भने । उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नै अध्यक्षतामा बसेको निर्णयविरुद्ध जानुहुन्छ भनेर त सोच्न पनि सक्दैनौं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *