सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छाेडिदैँनः मन्त्री अर्याल

फाेटाे फाइल
फागुन ४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गा हडप्न खोज्नेलाई कुनैपनि हालतमा नछोड्ने बताएकी छिन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) जग्गामा सरकारी बोर्ड गोडेपछि उनले यस्तो प्रतिक्रिया राखेकी हुन् । उनले भनिन्– ‘सरकारी तथा सार्वजनिक जग्गा व्यक्ति विशेषको बनाउने दुषित मनसायका साथ आँखा लगाउने कुरा सह्य हुँदैन । सरकारी जग्गा हडप्न खोज्नेलाई कुनैपनि हालतमा छोडिँदैन ।’

अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको पनि उनले जानकारी दिइन् ।
डिल्लीबजार मालपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा यकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उनले बताइन् ।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखेको छ । मन्त्री अर्यालले आफैँले उक्त जग्गामा सरकारी बोर्ड गाडेकी थिइन्।








